Loading... आजः ११ मंसिर २०७७, बिहीबार
Trending:
न्याय

आफैँले न्याय नपाएकी धनसरी अहिले अरुलाई न्याय दिलाउन व्यस्त

आफैँले न्याय नपाएकी धनसरी अहिले अरुलाई न्याय दिलाउन व्यस्त

बाँके । कहिले श्रीमान श्रीमतीका झगडा, कहिले सासु बुहारीका । जग्गा विवाद, सडक विवाद, घरायसी झैझगडा त कति कति ! बाँकेको राप्तीसोनारी गाउँपालिका ५ चिलरियाकी धनसरी ओली यस्तै विवाद मिलाउन दिनरात व्यस्त छिन् । उमेरले ५१ वर्ष पुगेकी उनी २०७४ सालमा भएको पालिकाकोको चुनावमा तत्कालीन नेकपा माओवादीबाट महिला सदस्यमा निर्वाचित भइन् । जनप्रतिनिधि भइसकेपछि धनसरीको दैनिकी नै फेरिएको छ ।

पहिले हिंसामा परेका महिलाको लागि न्यायको माग गर्ने उनी अहिले आफैं हिंसामा परेका महिलाहरुलाई न्याय दिने ठाउँमा पुगेकी छन् । ‘कोही फोन गरेर घरमै आउँछन्, कसैको घरमै पुग्छु, कतिपय वडा कार्यालयमै आउनुहुन्छ, सकेसम्म सम्झाइ बुझाइ गर्छौँ,’ धनसरीले भनिन् । दलित, महिलालगायत पछाडि पारिएका वर्ग र समुदायको लागि वडास्तरीय, बस्तीस्तरीय योजनाहरु छनोट गरी गाउँपालिकासम्म पुर्याउने काम भइरहेको उनले बताइन् ।

बालविवाह सबैभन्दा बढी

राप्तीसोनारी गाउँपालिका–५ मा बालविवाह बढी हुने गरेको छ । उनी भन्छिन्, ‘पहिले अभिभावकले नै उमेर नपुगेरै छोराछोरीको बिहे गराइदिने चलन थियो भने अहिले केटाकेटी धमाधम आफैं भागेर जान थालेका छन् ।’ राप्तीसोनारीमा चैतदेखि भदौसम्म १३ वटा बालविवाहका उजुरी वडा कार्यालयमा परेका छन् ।

वडामा बालविवाहको उजुरी परेपछि धनसरी सबैभन्दा पहिले सम्बन्धित घरमै पुगेर केटाकेटी र अभिभावकलाई भेट्ने गर्छिन् । ‘अभिभावक र केटाकेटीलाई भेटेर परामर्श दिन्छौँ । कोही मान्छन्, कोही मान्दैनन् । जति गरे पनि बालविवाह नरोकिने भयो । निकै समस्या छ,’ उनले भनिन् ।

‘महिलाले घरभित्रै संघर्ष गर्नुपर्छ’

महिलाले घरभित्र र बाहिर कति दुःख पीडा भोग्नुपर्छ भन्ने धनसरीलाई राम्रैसँग थाहा छ । आमा, काकी, भाउजुहरुले पाएको दुःख उनलाई आफ्नैजस्तै लाग्छ । २०४१ सालमा १६ वर्ष हुँदा धनसरीको गाउँका नरेन्द्र ओलीसँग बिहे भयो । बिहेपछि उनले गाउँका दिदी बहिनीहरुसँग मिलेर महिला सञ्जाल बनाइन् ।

आफूमाथि भएका अन्याय अत्याचार सहन नहुने भन्दै आवाज उठाउन सिकाइन् । तर गाउँका केही महिला र अरु पुरुषले यो कुरा मन पराएनन् । धनसरीका श्रीमान र ससुराले पनि महिलाले घरभित्रको काम गर्ने हो, बाहिर गएर बोल्ने हैन भन्दै बाहिर जान रोक लगाए । धनसरी साँझ बिहान घरको काम गरेर श्रीमान र ससुराको आँखा छलेर समाजसेवामा लागिरहिन् ।

त्यतिबेला फाट्टफुट्ट रुपमा महिलाको क्षेत्रमा काम गर्ने केही संघसंस्था पनि थिए । ती संघसंस्थाले उनलाई सहयोग गरे । धनसरीले समाजमा गएर अन्यायमा परेका महिलालाई सहयोग गर्न थालेपछि अरु महिलाले पनि साथ दिन थाले । ‘बिस्तारै अरु महिलाले पनि बुझदै गए र मलाई सहयोग गर्न थाले,’ धनसरीले २०४८ सालतिरको कुरा सुनाइन् ।

सासुको सहयोग

धनसरीलाई श्रीमान र ससुराले बाहिर जान नदिए पनि सासुले भने सहयोग गर्थिन् । उनी महिला, दलित, जेष्ठ नागरिकका विषयमा कुरा सुन्नुपर्छ, बुझ्नुपर्छ र बोल्नुपर्छ भन्ने पक्षमा थिइन् । धनसरीकी सासु पनि महिलालाई बाहिर जान दिनुहुँदैन, छोरीलाई पढाउन हुँदैन भन्ने सोचको विपक्षमा थिइन् । त्यतिबेला महिलालाई बढी बोलेको सुन्दा ‘पोथी बासेको राम्रो हुँदैन’ भनिन्थ्यो ।

२०५४ सालमा भएकोे स्थानीय चुनावमा धनसरीकी सासु नामसरी ओली तत्कालीन नेकपा एमालेबाट वडा सदस्यमा निर्वाचित भएकी थिइन् । सासु सदस्य भएपछि धनसरीलाई काम गर्न केही सहज भयो । ‘सासु सदस्य भएपछि मलाई पनि सजिलो भयो । घरबाहिर जान थालेँ, महिलाका कुराकानी सुन्न थालेँ, त्यसपछि श्रीमान र ससुराले पनि केही भन्नु भएन,’ धनसरीले आफ्नो विगत सुनाइन् ।

धनसरीको आफ्नै कथा

हिंसामा परेका महिलाहरुलाई न्यायसम्म पुर्याउने धनसरीको आफ्नै कथा छ । २०४७ सालदेखि महिला अधिकारका विषयमा आवाज उठाउँदै आएकी धनसरी अहिले महिलालाई न्याय दिने ठाउँमा भए पनि उहाँ आफैँले भने कहिल्यै न्याय पाइनन् । २०५२ सालमा तत्कालीन नेकपा माओवादीले सशस्त्र सुरु गरेपछि धनसरीका श्रीमान माओवादी भए । सरकारी सेनाको कुटपिट सहँदै धनसरीले घरमा छोराछोरी हुर्काइन् ।

२०५५ भदौ २ गते धनसरीका श्रीमानलाई दाङबाट सेनाले पक्राउ गरेर ९ महिना बेपत्ता पार्दा उनले राष्ट्रिय मानव अधिकार आयोगको सहयोगमा श्रीमानलाई फेला पारिन् । २०६३ सालमा देशमा शान्ति भएपछि सरकारी सेनाको डर हट्यो । परिवारसँगै बस्ने आशा भयो । तर धनसरीका श्रीमान अर्को बिहे गरेर भारत गए । वर्षौंदेखि अरु महिलाको लागि न्याय माग्दै आएकी धनसरी आफैँले न्याय पाउन सकिनन् ।

तर, उनी कमजोर भएर भने बसिनन् । महिला अधिकारका लागि निरन्तर संघर्ष गरिन् । ‘हुन त मैले न्याय नै मागिँन । छोराछोरी साथमा थिए, श्रीमानले विश्वासघात गरेपछि के न्याय मागिरहनु ?’ उनी भन्छिन्, ‘अहिले शान्ति छ । तत्कालीन माओवादीबाटै म महिला सदस्य भएँ । द्वन्द्वकालमा शरीरमा लागेका घाउ त अहिले बिर्सिसकेँ । तर श्रीमानले दिएको पीडा कसरी भुल्नु ?