Loading... आजः ८ मंसिर २०७७, सोमबार

अमेरिकी चुनाव : अर्बपतिको पैसाले पनि मत ‘किन्न’ सकेन

अमेरिकी चुनाव : अर्बपतिको पैसाले पनि मत ‘किन्न’ सकेन

काठमाडौं । अर्बपति माइकल ब्लुमबर्गले अमेरिकी राष्ट्रपतीय चुनावमा डेमोक्र्याटलाई जिताउन रिपब्लिकनको बलियो पकड भएका राज्यहरु फ्लोरिडा, ओहायो र टेक्ससमा खर्च गरेको १० करोड अमेरिकी डलर त्यत्तिकै खेर गएको छ । ती सबै राज्यमा डोनाल्ड ट्रम्पले विजय हासिल गरे । पार्टी क्याम्पेनको अन्तिम दिनसम्म ब्लुमबर्गले ट्रम्पले भन्दा धेरै पैसा खर्च गरेका थिए ।

फक्स न्युजका अनुसार तीनवटै ‘स्विङ’ राज्यहरुमा १० करोड डलर खर्च गरेका थिए । तर उनको त्यो पैसा मतदानमा निष्प्रभावी देखिएको हो । न्युयोर्कका पूर्वमेयरसमेत रहेका ब्लुमबर्गले ‘रेडस्टेट’लाई ‘ब्लुस्टेट’मा रुपान्तरण गर्ने डेमोक्रेटिक पार्टीको रणनीतिको एक भागका रुपमा रकम खर्च गरे पनि अन्तिम विजेता ट्रम्प नै भए । उनले सुपरप्याक, इनिडपेन्डेन्स यूएसए लगायतका टिभी विज्ञापनमा ओहायोमा मात्रै ३.७ मिलियन डलर खर्च गरेका थिए ।

त्यस्तै फ्लोरिडामा सेप्टेम्बर र नोभेम्बरमा ३६ मिलियन डलर र टेक्ससमा सोही प्रकृतिको विज्ञापनमा ६.९ मिलियन डलर खर्च गरेको सीएनबीसीले जनाएको छ । उनले बाइडेनलाई समर्थन गर्न आफ्नै कम्पनीहरुलाई समेत साझेदारी गर्न लगाएका थिए । हकिश नामक ब्लुमबर्गले स्थापना गरेको डाटाफर्मले मात्रै ३.२ मिलियन डलरभन्दा बढी रकम पाएको बताइएको छ । यो रकम ह्वाइटहाउस पुग्ने उनको आफ्नै राष्ट्रपतीय दौडको ब्लुमबर्गले खर्च गरेको १ अर्ब डलरमा थप हो ।