Loading... आजः १४ मंसिर २०७७, आइतवार
Trending:

जुवा हारेपछि १६ वर्षे किशोर बेपत्ता

जुवा हारेपछि १६ वर्षे किशोर बेपत्ता

दैलेख । महाबु गाउँपालिका–५ काशीकाँधबाट नारायण नगरपालिका–८ किमुगाउँमा बसाइँ सरेर आएका १६ वर्षे गोविन्द विक किमुगाउँमा रहेको वसन्त माविमा ९ कक्षामा पढ्दै आएका थिए । कोरोनाको कारण विद्यालय बन्द भएकोले दाजुहरुसँग मजदुरी गर्थे । जिल्ला सदरमुकाम दैलेख बजारको एक घर निर्माणमा जुटेका गोविन्द र उनका दाजुहरुले दशैँको महाअष्टमीको दिउँसै काम रोके र मजदूरीको पैसा पनि पाए ।

गोविन्दका दाजु बखतले रकम बुझेको दिन काम विशेषले घर नगइ खरीगैरा पुग्नु परेको कारण मासुको पैसा तिर्न गोविन्दको हातमा तीन हजार रुपैयाँ दिएका थिए । तर गोविन्दले त्यो सबै पैसा साँझ दौतरीसँग तासको ‘काट’ भन्ने खेल खेल्दा हारेछन् । तासमा तीन हजार हारेका गोविन्द राति ११ बजेतिर घर पुगे, आमाले राखिदिएको खाना खाएर आफू सुत्ने कोठामा एक्लै सुते । भोलिपल्ट कात्तिक ९ गते बिहान झिममिसेमै घरबाट भागेर सुर्खेत पुगे तर अहिले उनी त्यहाँबाट पनि बेपत्ता भएका छन् ।

९ गते राति कहाँ बसे ? के खाए ? भन्ने थाहा नभए पनि १० गते दशैँको दिन पहिले चिनेको सुर्खेत बजारको एक सुनचाँदी पसल र एउटा होटलमा काम छ कि ? भनी सोधेको खुलेको छ । दशैँको दिन सुर्खेतमा देखिए पनि त्यसपछि उनी कहाँ कता गए भन्ने खुल्न नसकेको परिवारजनले बताएका छन् । १० गते सुर्खेतमा थिए भन्ने थाहा पाएर ११ गतेदेखि लगातार चार दिनसम्म पनि खोजी गर्दा कतै पत्ता नलागेको गोविन्दका दाजु बखतबहादुर विकले बताए ।

दौतरीको लहलहैमा लागेर जुवा (तास) मा हारेपछि उनले सबै कुरा नखुलाए पनि ‘नजानेर गल्ती भयो माफ गर्नुहोला । म सधैँको लागि गएको होइन, फर्किन्छु’ भनेर आमालाई सम्बोधन गरेर लेखेको चिठ्ठी ९ गते दिउँसो मात्र फेला परेको थियो । चिठ्ठीको भाषाबाट जुवामा हारेको रकम कमाएर फर्किने मन देखिन्छ तर कहाँ गए भन्ने खुल्न नसकेको कारण ६२ वर्षीया आमा रातदिन रोइरहेकी छन् । उनको घरमा दाजु, भाउजु, एउटा बहिनी र आमा गरी पाँच जनाको परिवार छ ।

गोविन्द चार वर्षको छँदा बुबाको निधन भइसकेको थियो । जिल्ला प्रहरी कार्यालय सुर्खेत र जिल्ला प्रहरी कार्यालय दैलेखमा बालकको हुलियासहित खोजी सहयोगका लागि निवेदन दिए पनि अहिलेसम्म पत्ता लाग्न नसकेको प्रहरीले जनाएको छ । पढाइ केही कमजोर भए पनि गोविन्दले दैलेख सदरमुकामका तीन वटा पसलमा गरी ८–१० महिना सुनचाँदीको गहना बनाउने सीप सिकेका छ्न् । उनी लकडाउनयता ६ महिनाभन्दा बढी दाजु र अरु डकर्मी मिस्त्रीहरुसँग मजदुरी गर्दैै आएका थिए ।

यस्तो छ पत्रको व्यहोरा :