Loading... आजः ९ मंसिर २०७७, मंगलवार
Trending:
विकास

लुम्बिनीका सभामुख र मन्त्रीद्वारा भौतिक संरचना निरीक्षण, हिउँदे अधिवेशन देउखुरीमा

लुम्बिनीका सभामुख र मन्त्रीद्वारा भौतिक संरचना निरीक्षण, हिउँदे अधिवेशन देउखुरीमा

दाङ । लुम्बिनी प्रदेशको आगामी हिउँदे अधिवेशन स्थायी राजधानीमा सञ्चालन गर्न तयारी थालिएको छ । दुई महिनापछि हुने हिउँदे अधिवेशन स्थायी राजधानी देउखुरीमा सञ्चालन गर्ने तयारी अनुरुप शुक्रबार प्रदेशसभाका सभामुख पूर्णवहादुर घर्ती र आन्तरिक मामिला तथा कानुनमन्त्री कुलप्रसाद केसी लगायतको टोलीले देउखुरीको राप्ती गाउँपालिकामा रहेका भौतिक पूर्वाधारको अवस्थाबारे अनुगमन गरेका छन् ।

निरीक्षणपछि राप्ती गाउँपालिकास्थित राप्ती प्राविधिक शिक्षालयको भवन र जग्गा प्रदेशसभा सञ्चालनका लागि उपयुक्त भएको बताएका प्रदेशसभा सदस्य इन्द्रजित चौधरीले बताए । ‘यदि राप्ती प्राविधिक शिक्षालयको भवन र जग्गा उपलब्ध हुनसके प्रदेशसभा स्थापना गरेर आगामी हिउँदे अधिवेशन स्थायी राजधानीबाटै चलाउन सकिन्छ,’ चौधरीले भने, ‘त्यसका लागि भौतिक पूर्वाधारको व्यवस्थापनको प्रकृया तत्कालै थालिनुपर्छ । विद्यालयले भवन दिन तयार रहेको छ ।’

प्राविधिक शिक्षालयका ३५ वटा भवन छन् । ती भवन प्राप्त भएमा प्रदेशसभा र एउटा मन्त्रलाय व्यवस्थापन गर्न सकिने सांसद चौधरीले बताए । उक्त भौतिक संरचना प्राप्तिका लागि प्रदेश सरकारले संघीय सरकारको शिक्षा मन्त्रालयलाई भनेर मन्त्रालयले निर्णय गर्नुपर्ने उनको भनाइ छ । शिक्षालयको भवन प्रदेशसभाका लागि प्रयोगमा ल्याइएमा शिक्षालयलाई देउखुरी गढवाको गोबरडिहामा रहेको सामुदायिक विद्यालय वा लालमटियास्थित आदर्श माविमा स्थानान्तरण गर्ने सकिने समेत उनले बताए ।

त्यसका लागि विद्यालयहरु तयार रहेको र अब शिक्षा मन्त्रालयले निर्णय गरे प्रक्रिया अगाडी बढ्ने सांसाद चौधरी बताउँछन् । अनुगमनपछि सभामुख घर्ती र कानुनमन्त्री केसीले स्थायी राजधानीमा रहेका भौतिक पूर्वाधारको अवस्थाबारे मुख्यमन्त्री शंकर पोख्रेललाई जानकारी गराउने छन् । यसअघि प्रदेश पूर्वाधार विकास प्राधिकरणको टोलीले पनि भौतिक पूर्वाधारहरुको अवस्थाबारे अनुगमन गरिसकेको छ ।