Loading... आजः ११ मंसिर २०७७, बिहीबार
Trending:

जेष्ठ नागरिकलाई घरमै सामाजिक सुरक्षा भत्ता

जेष्ठ नागरिकलाई घरमै सामाजिक सुरक्षा भत्ता

बाँके । डुडुवा गाउँपालिकाले सामाजिक सुरक्षा (जेष्ठ नागरिक) भत्ता वितरण शुरु गरेको छ । नयाँ आर्थिक बर्ष २०७७।०७८ को प्रथम चौमासिक अन्र्तगत साउनदेखि कार्तिकसम्मको भत्ता वितरण गर्न थालिएको हो । चाडपर्वलाई लक्षित गरि गाउँपालिकाको ६ वटै वडामा आज शुक्रबारदेखि भत्ता वितरण शुरु गरिएको छ ।

गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले वडा नं. २ का जेष्ठ नागरिक बदलु शर्मालाई आज भत्तावापतको रकम हस्तान्तरण गर्दै शुभारम्भ गरे । त्यस अवसरमा बोल्दै उनले गाउँपालिकाले विगतदेखि नै जेष्ठ नागरिकको सम्मान गर्दै घरघरमा पुगेर रकम वितरण गर्दै आएको र अहिले चाडपर्व र कोरोना संक्रमणको महामारीका बेला उत्पन्न आर्थिक संकटको अन्त्य गर्नमा यो भत्ताले राहत दिने विश्वास व्यक्त गरे ।

अध्यक्ष चौधरीले आशिंक अपांगता भएकाहरुलाई आर्थिक सहयोग गाउँपालिकाले आफ्नै स्रोतबाट उपलब्ध गराएको भन्दै जेष्ठ नागरिकको पूर्णरुपमा निशुल्क स्वास्थ्य उपचारको व्यवस्था गर्न लागेको जानकारी गराए । गाउँपालिकाले जेष्ठ नागरिकको सम्मान गर्दै घर घरमा पुगेर भत्ता वितरण गरिरहेको छ । प्रत्येक वडामा ३ जनाका दरले ६ वटै वडामा १८ वटा टोलीमा ७० जना कर्मचारी खटेर घरदैलोमा पुगेर भत्ता वितरण गरिरहेको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत प्रशुराम उपाध्यायले बताए ।

उनका अनुसार गाउँपालिकाको ६ वटै वडामा जेष्ठ नागरिक, बालबालिका, दलित, अपांग, एकल महिला, विधवा गरि तीन हजार ९०० जनालाई सामाजिक सुरक्षा भत्ता वितरण गरिनेछ । ७० वर्ष पुगेका जेष्ठ नागरिकलाई मासिक रु तीन हजार, ६० वर्ष पुगेका जेष्ठ नागरिक दलित, ६० वर्ष पुगेका जेष्ठ नागरिक एकल, विधवा आर्थिक सहायतालाई मासिक रु दुई हजार, पूर्ण अपागंता भएका व्यक्ति (क) वर्गलाई मासिक रु तीन हजार, अपांगता भएका व्यक्ति (ख) वर्गलाई मासिक रु एक हजार ६०० का दरले रकम वितरण गरिने वडा सचिव शिवपाल मौर्यले बताए ।

यसैगरी अपांगता भएका व्यक्ती (ग) वर्गलाई मासिक रु ५००, (घ) वर्गलाई मासिक रु ४०० र जन्मेदेखि ५ वर्षमुनिका दलित बालबालिकालाई मासिक रु ४०० का गाउँपालिकाले आफ्नै स्रोतबाट वितरण गरिरहेको गाउँपालिकाका अध्यक्ष चौधरीले बताए । कोरोना संक्रमणको महामारीका बेला कर्मचारीहरुले स्वास्थ्य सुरक्षा र भौतिक दुरी कायम गरि घरदेलो अभियान अन्तरगत रकम वितरण गरिरहेका छन् ।