Loading... आजः ९ मंसिर २०७७, मंगलवार
Trending:
यात्रा संस्मरण

‘गाउँमै उच्च शिक्षाको ब्यवस्था मिलाउने धोको’

‘गाउँमै उच्च शिक्षाको ब्यवस्था मिलाउने धोको’

बझाङ । साइपाल गाउँपालिका बझाङ जिल्लाको विकट स्थानीय तहका रुपमा पनि परिचित छ । विशेषगरी बाहिर जिल्ला तथा जिल्लाभित्रका मानिस र विदेशीहरुले बढी रुचाउने र पर्यटकका हिसाबमा घुम्नजाने मानिसहरु बढी साइपालमा जाने गर्छन् । म बझाङमै जन्मे पनि साइपाल मेरा लागि नयाँ ठाउँ थियो । साइपाल गाउँपालिकामा आँखा शिविर बस्ने भनेर एक महिना अगाडि नै चहलपहल बढेको थियो । मैले पनि साइपाल जाने मनसाय बनाएको थिए । मेरो परिक्षा चलिरहेको थियो । म पहिला एकपटक गए पनि पुरै साइपाल घुम्ने अवसर पाएको थिएन । बाटोमा हिउँ भएकाले धौलनबाट फर्किएको थिए ।

त्यसैमा साइपाल जाने कुरा आयो, मैले परिक्षा भएकाले साइपाल जानेकुरामा अस्वीकार गरे । जाने मन त थियो परिक्षाले रोक्यो । म साइपाल गएको सबै टोली सदरमुकाम चैनपुर झर्दै थिए । मेरो परिक्षा सकियो त्यतिकैमा साइपाल जाने अफर आयो । मनले मानेन, म पनि साइपाल जान तयारीमा लागे । करिब विहानको ९ः३० बजे भोपुर ब्यारेकमा म लगायत ५ जना साइपाल जाने भनेर पुग्यौ । हेलिआयो म लगायत ५ जनाको रिपोर्ट हेरि सकेपछि हेलिमा चढ्यौ । कतै समथर फाँट त कतै पहाड, कतै चट्टान, कतै खेत, कतै सेति नदि भएर हेलि उडिरहेको थियो । हामीलाई साइपाल गाउँपालिकाको सबै ठाउँमा घुम्न मन थियो । हामीलाई ७ मिनेटमा साइपाल गाउँपालिकाको काँडामा हेलिले भुइँमा उतार्यो ।

अनि एकछिन अलमलमा पर्यौं, फेरि एक जना स्थानीयसँग चिनजान भयो । हामी काँडामा खाना खाएर अन्तिम मानब वस्ती धुली जाने भनेर हिँड्यौं । बाटोमा कतै हरिया मेला त कतै सेती नदिले लडिबुडि खेलेको दृश्य देखिन्थे । तिनै दृश्य हेरेर थकान मेटाउँदै हामी पनि राम पानीमा थकान मेटाएर फेरि आफ्नै गन्तब्यतिर लाग्यौं । कतै भेडा, बाख्रा त कतै गोरुहरु भेटिन्थे बाटोमा । हामी साँझ करिब ९ः०० बजेतिर एक होटेलमा पुग्यौं । अनि खाना र बासको कुरा के कस्तो छ ? भनेर सोध्यौ । साहुजीले सबै ब्यवस्था छ भनेर भनेपछि हामीले झोला राखेर हात खुट्टा धोएरभित्र गयौ । सबैले चिनजान गर्यौं ।

साहुँजीको नाम रिङटोन लामा रहेछ । हामी उहाँको घर जादा उहाँकी धर्मपत्नी पेमा लामाले धुमुमा चिया बनाउँदै हुनुहुन्थ्यो । हामी सबैलाई चिया दिनुभयो । त्यसको केहीबेरपछि हामीले खाना खायौं । खाना खाएर सबै सुत्यौ । भोलिपल्ट विहान ६ बजे नै उठेर सबै जना हातमुख धोएर लामाले गुम्बा हेर्न लग्नुभयो । गुम्बाको हेरचाहार गर्ने मान्छेले चाबी लिएकाले हामीले गुम्बा बाहिरबाटै हेर्यौ । र अन्तिम मानब बस्तीतिर लाग्यौं । बाटोमा तस्बीरहरु खिच्दै हिँड्दै थियौ । करिब २० मिनेट हिडेपछि, घरघरमा निगालोबाट बनेका डोकाहरु घरघरमा झुन्ड्याएका थिए । केका लागि झुन्ड्याएका हुन् भनेर सोध्दा फोहोर फाल्नको लागि भनेर स्थानीय भन्थे ।

हामी गाउँ पुग्यौ । करिब १२ बर्ष जतिकै देखिने ३÷४ जना बालकले सकि नसकी गह्रुँ भारी बोकिरहेका थिए । त्यसैमा हामीले फोटा खिच्दै आएका थियौं । भारी बोकेका बालकहरुले आफ्नो पनि भारी बोकेको फोटा खिच्ने हुन् कि भन्ने डरले हताहतारमा खुट्टा लिटिलिटि गर्दै डोकामा ढुंगाका लगिरहेका थिए । हामी त्यहाँबाट लाँगा मन्दिर हेर्न गयौं । त्यसैमा एकजना करिब १४÷१५ बर्षका स्थानीय भेटिए, उनीसँग कुराकानी भयो । केशब बोहोरा नाम बताउने उनले साइपाल गाउँपालिकामा सञ्चालन भएका आँखा शिविरको उदाहरण दिँदै भने, ‘स्वास्थ्य क्षेत्रमा त निकै फट्को मार्यो साइपाल गाउँपालिकाले अब शिक्षा क्षेत्रमा पनि यसैगरी गाउँमै उच्च शिक्षा पढ्न पाए राम्रो हुने थियो ।’

हामीले उनको पढाइको बारेमा सोध्यौ । उनले भने, ‘८ कक्षासम्म धुली निमाविमा पढे, २ दिन लगाएर काँडा माविमा कक्षा ९ मा पढ्न पाइन्छ । घरबाट विध्यालय पुग्न २ दिन लाग्ने डेरा गरेर बस्नुपर्ने त्योभन्दा सदरमुकाम जाने भनेर जालपा उमावि देवलमा ९ मा भर्ना गरे अहिले कक्षा ११ मा जालपामा पढिरहेको छु ।’ हामीले फेरि सोध्यौं, पढेर के बन्ने इच्छा छ ? उनले भने, ‘गाउँपालिका प्रमुख भएर आफ्नै गाउँमा उच्च शिक्षा पढ्न सक्ने विद्यालय बनाउने ठूलो धोको छ ।’ हामी उनीसँगको कुराकानीपछि गाउँतिर प्रवेश गर्यौ । गाउँमा जोसँग कुरा गरे पनि ८ कक्षासम्म पढेर छोडेको कुरा सुनाउथे । त्यसैबेला करिब ६५ बर्षका तस्वीर बोहोराले भने, ‘मेरो छोराले पनि कक्षा ८ मै स्कुल छोडेको हो ।’

हामीले उनलाई पनि सोध्यौं, किन ८ कक्षामै पढाई छाडेको ? ‘८ कक्षासम्म गाउँमै पढाइ भयो । ९ कक्षा पढ्न २ दिन हिँडेर जानुपर्ने, घरमा काम गर्ने कोही भएनन्, घरको आर्थिक अवस्था कमजोर भयो । आर्थिक अभावले मेरा दुबै भाई छोराले स्कुल छोडे,’ उनले सुनाए । साइपाल गाउँपालिकाको धुलीमात्रै होइन सबैजसो गाउँहरुमा यो समस्या निकै देखिन्छ । बर्खा लागेपछि काठेपुल तरेर जानुपर्ने कतिपय ठाउँमा पुल खोलाले बगाएर जान नसकिने चुनौति छ । यता साइपाल गाउँपालिका अध्यक्ष राजेन्द्र धामीले भने, ‘धुलीमा अहिले १० कक्षासम्म पढाइ सञ्चालन भैरहेको बताए । साइपाल गाउँपालिकाका सबैजसो वडाहरुमा कतै पुल बनेका त कतै बर्खाको समयमा खोला तरेर जानुपर्ने समस्या स्थानीयबासीले भोग्दै आएका छन् ।