Loading... आजः ९ मंसिर २०७७, मंगलवार

स्वास्थ्य केन्द्रको भवन निर्माणपछि सेवा प्रवाहमा सहज

स्वास्थ्य केन्द्रको भवन निर्माणपछि सेवा प्रवाहमा सहज

बाँके । बाँके डुडुवा गाउँपालिका वडा नंं.४ मा आधारभूत सामुदायिक स्वास्थ्य सेवा केन्द्रको नवनिर्मित भवनको उद्घाटन गरिएको छ । गाउँपालिकाका अध्यक्ष नरेन्द्रकुमार चौधरीले भवनको बुधबार उद्घाटन गर्दै गाउँपालिकामा स्वास्थ्य सेवाबाट कुनै पनि नागरिक बञ्चित नहुन भनेर सबैलाई पायक पर्ने गरी स्वास्थ्य केन्द्रमार्फत सेवा प्रवाह गरिरहेको बताए ।

उनले गाउँपालिका अन्तरगत रहेका दुरदराज तथा पछाडी परेका र टाढा हुने सेवाग्राहीका लागि गुणस्तरिय स्वास्थ्य सेवा प्रवाह गर्न सहजताका लागि अझै पनि दुई स्थानमा स्वास्थ्य इकाई स्थापना गर्न लागेको बताए । अध्यक्ष चौधरीले स्वास्थ्य केन्द्रमार्फत नागरिकहरुलाई सम्पूर्ण निशुल्क उपचारको व्यवस्था गरेको हुनाले सेवाका बारेमा जनगुनासो तथा सरसल्लाह समेत दिन सेवाग्राहीलाई आग्रह गरे ।

गाउँपालिकाको १, २, ३, ५ र ६ नंं वडामा पहिलेदेखि स्वास्थ्य केन्द्रको भवन रहेको र वडा नंं ४ मा स्वास्थ्यको भवनको अभावमा सेवा प्रवाह गर्न असजिलो भएकाले भवन निमार्णपछि सेवा सहज हुने गाउँपालिका स्वास्थ्य शाखा प्रमुख धनबहादुर बुढाले बताए । उनका अनुसार डलैपुर र पाझामा पनि स्वास्थ्य इकाई स्थापना गर्न लागिएको छ ।

वडा नंं. ४ वडा कार्यालयको परिसरमा निर्मित ३ कोठे भवन संघीय सरकारबाट प्राप्त रु ३५ लाख अनुदान रहेको छ । भवनबाट प्रसुती सेवा बाहेक सबै स्वास्थ्य सेवा प्रवाह गरिने स्वास्थ्य शाखाले जनाएको छ । भवन उदघाटन कार्यक्रममा गाउँपालिका उपाध्यक्ष शाहिदा बानो, स्वास्थ्य शाखा प्रमुख धनबहादुर बुढा, शाखा सहसंयोजक विरेन्द्र घले लगायतको उपस्थिति रहेको थियो ।