Loading... आजः ८ मंसिर २०७७, सोमबार
एक पालिका एक अस्पताल

मङ्सिर १५ गते एकैपटक ६४९ अस्पताल शिलान्यास

मङ्सिर १५ गते एकैपटक ६४९ अस्पताल शिलान्यास

काठमाडौं । देशभरिका ६४९ पालिकामा एकैपटक अस्पताल शिलान्यास हुने भएको छ । यही मंसिर १५ गते एकैपटक अस्पतालको शिलान्यास हुन लागेको हो । सरकारले सबै पालिकामा पाँचदेखि १५ शैय्याको अस्पताल निर्माण गर्ने नीति अनुसार अस्पताल भवनको शिलान्यास गर्न लागेको हो ।

आधारभूत स्वास्थ्य सेवामा सबै नागरिकको पहुँच सुनिश्चित गर्न अस्पताल निर्माणका लागि ६४९ वटै पालिकामा बजेट उपलब्ध गराएको अर्थ मन्त्रालयले जनाएको छ । ७५३ मध्ये बाँकी १०४ वटा पालिकामा यसअघि नै आधारभूत अस्पतालको संरचना रहेको पनि अर्थ मन्त्रालयका प्रवक्ता रामेश्वर दंगालले जानकारी दिए ।

अस्पताल भवन निर्माणको लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले डिजाइन तयार गरी सबै पालिकामा उपलब्ध गराउने निर्णय भएको अर्थ मन्त्रालयका प्रवक्ता दंगालले जानकारी दिए । गएको भदौमा नै सबै पालिकामा आधारभूत अस्पताल गर्न आवश्यक स्रोत साधन र बजेट परिचालनको तयारी गरिएको थियो ।

तर आवश्यक डाक्टर र स्वास्थ्यकर्मीसहित स्वास्थ्य सामग्री उपलब्ध नहुँदा निर्णय समेत कार्यान्वयन हुन सकेको छैन । कोभिड–१९ को रोकथाम र नियन्त्रणका लागि आवश्यक पर्ने आइसीयू, भेन्टिलेटर लगायतका उपकरण तत्काल खरिद गर्ने गरी तयार भएको कार्ययोजना स्वास्थ्य मन्त्रालयले अगाडि बढाउने र कार्ययोजना कार्यान्वयनको आर्थिक व्यवस्थापन अर्थ मन्त्रालयले मिलाउने सहमति भएको पनि अर्थ मन्त्रालयका प्रवक्ता दंगालले जानकारी दिए ।