Loading... आजः ४ कार्तिक २०७७, मंगलवार
विकास

झण्डै पाँच करोडको लागतमा प्रशासकीय भवन बनाउँदै बैजनाथ

भवन निर्माणपछि कार्यालय सञ्चालनसँगै जनताले अपेक्षाअनुसार सेवा प्रवाहमा थप सहजता आउनेछ ।
झण्डै पाँच करोडको लागतमा प्रशासकीय भवन बनाउँदै बैजनाथ

बाँके । गाउँपालिका कार्यालयको भवन नहुँदा सेवा प्रवाहमा समस्या भइरहेका बेला बाँकेको बैजनाथ गाउँपालिकाले आफ्नै प्रशासकीय भवन निर्माण सुरु गरेको छ । साविकका गाविस भवन, वडाका पुराना कार्यालय र भाडाका घरबाट सेवा दिन बाध्य भएका बेला बैजनाथले आफ्नै प्रशासकीय भवन निर्माण गर्न लागेको हो ।

गाउँपालिकाले आज औपचारिकरुपमा प्रशासकीय भवन शिलन्याससमेत गरेको छ । बैजनाथ–५ स्थित रामपुरमा प्रशासकीय भवनको शिलन्यास गरिएको हो । चार करोड ९७ लाख १९ हजार ७०८ रुपैयाँमा भवन निर्माणका लागि ठेकेदार कम्पनीसँग ठेक्का सम्झौता भएको गाउँपालिकाका अध्यक्ष मानबहादुर रुचालले जानकारी दिए ।

उनका अनुसार कुल लागतमध्ये ६० प्रतिशत जिल्ला समन्वय समिति बाँकेको अनुदान रहेको छ भने ४० प्रतिशत रकम गाउँपालिकाले व्यहोर्नेछ । यही साउन ३१ गते ठेकेदार कम्पनी एमके विल्डर्स एण्ड कन्स्ट्रक्सनसँग भएको निर्माण सम्झौता अनुसार २०७८ असार मसान्तसम्म ठेकेदार कम्पनीले भवन निर्माण गरी गाउँपालिकालाई हस्तान्तरण गर्नेछ ।

गाउँपालिकाले भूकम्प प्रतिरोधी प्रशासकीय भवन बनाउने गाउँपालिकाका अध्यक्ष रुचालले जानकारी दिए । विभिन्न स्थानीय तहमा सवारी साधन खरीद प्राथमिकतामा परेकाले गाउँ, नगर र वडा कार्यालयका भवन निर्माण हुन नसकेको आरोप लागिरहेका बेला बैजनाथ गाउँपालिकाले भने प्रशासकीय भवन निर्माणको काम अघि बढाएको छ ।

‘हाम्रो पनि पहिलो प्राथमिकता प्रशासकीय भवन नै थियो,’ अध्यक्ष रुचालले भने, ‘विभिन्न कारणले केही ढिलाई भए पनि अब शिलन्यास भएरै काम अघि बढिसकेको छ ।’ भवन साँघुरो हुँदा सेवा प्रवाहमा जटिलता हुँदै आएकोले भवन निर्माणलाई प्राथमिकता दिएको उनले बताए । भवन निर्माणको काम सम्झौता अनुसार तोकिएकै समयमा सकिने उनको विश्वास छ ।

भवन निर्माणको काम तीव्र गतिमा अघि बढाउने बताउँदै गाउँपालिकाका प्रमूख प्रशासकीय अधिकृत दानबहादुर ऐडीले भने, ‘शिलन्यास भएर निर्माण सुरु भइसकेको छ । तोकिएकै समयमा निर्माण सक्न हामी निर्माण कम्पनीलाई घच्घच्याइरहन्छौं ।’ उनले भवन निर्माणपछि कार्यालय सञ्चालनसँगै जनताले अपेक्षाअनुसार सेवा प्रवाहमा थप सहजता आउने बताए ।

प्रमूख प्रशासकीय अधिकृत ऐडीले भने, ‘भवन तथा पूर्वाधार अभावका कारण सेवाग्राही आउँदा भीड हुने र चुस्त सेवा दिन गाह्रो भइरहेका बेला आफ्नै प्रशासकीय भवन निर्माणपछि सेवा प्रवाहमा सहजता हुनेछ ।’ भवन निर्माणपछि गाउँपालिकाको कामकाजमा निकै सहजता आउने र सेवाग्राहीलाई अझ बढी गुणस्तरिय सेवा प्रदान गर्नमा मद्दत पुग्ने ऐडीको विश्वास छ ।

गाउँपालिकाले सात बिघा जग्गाभित्र ६५ सय वर्गफिटमा निर्माण हुने प्रशासकीय भवन साढे तीन तलाको हुनेछ । आज शनिबार भएको शिलन्यास कार्यक्रममा लुम्बिनी प्रदेश सांसद आइपी खरेल संविधान सभा सदस्य दलबहादुर सुनार, गाउँपालिका अध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत, वडाध्यक्ष, कार्यपालिका सदस्य, कर्मचारी, स्थानीय समाजसेवी लगायतको सहभागिता थियो ।