Loading... आजः ४ कार्तिक २०७७, मंगलवार
अपराध

बाँकेमा भुसको आगोझैं फैलँदै लागुऔषध दुर्व्यसनीको संख्या

यसको सेवनकर्ता बढेसँगै विभिन्न नामका लागूपदार्थको अवैध आयात अर्थात् तस्करी हुँदा यसले झन् ठूलो समस्या निम्त्याउन थालेको अनुभव गरिँदैछ ।
बाँकेमा भुसको आगोझैं फैलँदै लागुऔषध दुर्व्यसनीको संख्या
दुर्व्यसन र प्रवृत्तिभित्रको अझ जटिल विषय हो यसतर्फ नाबालकहरुलाई प्रयोग गर्नु । उनीहरु वर्तमानका बारेमा सचेत हुन र भविष्यका बारेमा गम्भीर हुन सक्दैनन् । त्यसैले कारोबारीहरुले क्षणिक लाभ दिएर वा प्रलोभनमा पारेर गैरकानूनी र अस्वस्थ बाटोमा हिँड्न पुग्छन् उनीहरु । जहाँ चेतना विस्तार भएको हुँदैन, गरिबीमा बाँच्नुपर्ने बाध्यता रहन्छ अथवा देखासिकीमा रमाउने चाहना बढ्छ त्यहाँ यस्ता गैरकानूनी र समाजविरोधी गतिविधिहरु फस्टाउँछन् ।

बाँके । बाँकेमा लागुऔषधको समस्या भयावह बन्दै गएको छ । दुर्व्यसनीहरुको संख्या भुसको आगोजस्तै फैलँदै गएको प्रहरीको तथ्यांकले देखाएको छ । दुर्व्यसनमा फस्नेहरु विद्यालयस्तरका युवा र बरोजगार युवाहरु रहेका छन् । पछिल्ला दिनहरुमा जिल्ला प्रहरी कार्यालय बाँकेको हिरासत कक्ष लागुऔषधका दुर्व्यसनीले भरिन थालेको छ । जिल्ला प्रहरी कार्यालय बाँकेमा दर्ता भएका मुद्दामध्ये ६७ प्रतिशत लागु औषधसम्बन्धी छन् ।

बाँकेमा हुने अपराधिक घटनामा संलग्न व्यक्तिहरुमध्ये करिब ७० प्रतिशत लागुऔषधका दुर्व्यसनी भएको बाँकेका प्रहरी प्रमुख, प्रहरी उपरीक्षक ओमबहादुर रानाले बताए । अभिभाबकबाट राम्रो हेरचाह नपाएका तथा बेरोजगार युवाहरु लागुऔषधको तस्करीमा संलग्न हुने गरेको प्रहरीको भनाइ छ । भारतसँगको खुला सिमानाका कारण सीमावर्ती क्षेत्रमा ब्राउनसुगर, अफिम र चरेशजस्ता लागुऔषधको तस्करी फस्टाउँदै गएको प्रहरीले जनाएको छ ।

लागुऔषधको बढ्दो समस्यालाई नियन्त्रण गर्न बाँके प्रहरीले लागुऔषध निस्तेज महाअभियान अभियान शुरु गरेको छ । प्रहरीले अभिभाबक, जनप्रतिनिधि र नागरिक समाजका अगुवाहरुसँग सहकार्य गरेर बाँकेका ८१ वटै वडामा वडास्तरीय लागुऔषध दुर्व्यसन नियन्त्रण समिति गठन गरिरहेको छ । हालसम्म १० वडामा गठन भएका समितिहरुले लागुऔषधविरुद्ध सचेतना अभिवृद्धि गर्नुका साथै अवैध कारोबारलाई नियन्त्रण गर्न प्रहरीलाई सहयोग गर्न सुरु गरेका छन् ।

राष्ट्रका कर्णधार मानिने १६ देखि ४० वर्ष उमेरका युवाहरु नै लागुऔषधको दुर्व्यसनमा फसेका छन् । नेपालमा करिब दुई लाख लागुऔषधका दुर्व्यसनीमध्ये ९५ प्रतिशत युवाहरु छन । २०७७ असारदेखि हालसम्म लागुऔषधको कारोबार र सेवनमा संलग्न भएको अभियोगमा बाँके प्रहरीले ५६ जनालाई नियन्त्रणमा लिएर कानुनी कारबाही चलाएको छ । यस अवधिमा १२४ ग्राम ब्राउन सुगर, १४ किलो अफिम, १३ किलो गाँजा, साढे तीन किलो चरेश, २२ लिटर कोरेक्स लगायतका आगु औषध बरामद गरेको छ ।

यसले पनि लागूऔषधको सेवन गम्भीर समस्याका रुपमा देखिन थालेको प्रष्ट हुन्छ । यसको सेवनकर्ता बढेसँगै विभिन्न नामका लागूपदार्थको अवैध आयात अर्थात् तस्करी हुँदा यसले झन् ठूलो समस्या निम्त्याउन थालेको अनुभव गरिँदैछ । बजार, शहरोन्मुख र शहरी क्षेत्रमा सबै उमेर समूहका मानिस यसको लतमा पर्दै गएका छन् । यसले मानिसलाई सेवा–सुविधा र सुखभोग गर्ने लालसाको पछि लागेर अमूल्य जीवन र भविष्य अन्यौलपूर्ण बनाउँदैछ भन्ने देखाएको छ ।

बरामद गरिएका औषधिहरुमा डाइजेपाम, लुपिजेसीक, फेनारगन, नाइट्रोजन, ब्राउन सुगर, गाँजा लगायत रहेको प्रहरीले जनाएको छ । पक्राउ परेका मध्ये सत्र जना नाबालक र पन्ध्र जना महिला समेत रहेका छन् । यही अवधिको अघिल्लो आर्थिक वर्षमा प्रहरीले एक सय अस्सी जनालाई पक्राउ गरेको थियो । यसले हाम्रो बानी, दुर्व्यसनको प्रवृत्ति र जीवनचर्या क्रमशः पतनोन्मुख हुँदैछ भन्ने संकेत गरेको छ ।

दुर्व्यसन र प्रवृत्तिभित्रको अझ जटिल विषय हो यसतर्फ नाबालकहरुलाई प्रयोग गर्नु । उनीहरु वर्तमानका बारेमा सचेत हुन र भविष्यका बारेमा गम्भीर हुन सक्दैनन् । त्यसैले कारोबारीहरुले क्षणिक लाभ दिएर वा प्रलोभनमा पारेर गैरकानूनी र अस्वस्थ बाटोमा हिँड्न पुग्छन् उनीहरु । जहाँ चेतना विस्तार भएको हुँदैन, गरिबीमा बाँच्नुपर्ने बाध्यता रहन्छ अथवा देखासिकीमा रमाउने चाहना बढ्छ त्यहाँ यस्ता गैरकानूनी र समाजविरोधी गतिविधिहरु फस्टाउँछन् ।

त्यही कारण हो कि हाम्रो जस्तो आर्थिक एवम् चेतनाको दृष्टिले पछि परेको देश वा क्षेत्रहरुमा लागूपदार्थको सेवन व्यसन बनिएको छ र व्यापार समृद्धिको बाधक बनिएको छ । साथीभाइको लहैलहैमा वा दवाव, भोगाइबाट विरक्ति, उदासिनता, उत्सुकता र असफलता लगायतका कारणले लागूपदार्थको शरणमा पुग्नेहरु थपिँदै गएको प्रहरी बताउँछ । कतिपय अवस्थामा आमाबाबुले कर्तव्य पूरा गर्न नसक्दा कम उमेरमै छोराछोरी बाटो विराउन पुगेका छन् ।

अझ अहिले छोरा–छोरी छाडेर सुख र ऐश्वर्य खोज्ने आमा–बाबुका कारण पनि लागूपदार्थको सेवन व्यसनमा परिणत हुन थालेको छ । यी र यस्ता कारणले समस्याका रुपमा विकास हुँदै गएको लागूपदार्थको सेवन र कारोबारले देशको भविष्य धुमिल बन्दैछ । लागूपदार्थको सेवन प्रयोगकर्ताका लागि मात्र होइन, उसको परिवार समाज र सिङ्गै देशका लागि दीर्घकालीन समस्या हो । भुसको आगो सरह फैलिएको यसले भविष्य अन्यौलग्रस्त बनाउँदैछ ।

छोराछोरी दुर्व्यसनमा फसेको कसरी थाहा पाउने ?

यदि तपाईंका आफन्त वा छोराछोरीको स्वभाव, बोल्ने शैली र दैनिकी अचानक परिवर्तन हुँदै गएको छ, शरीर कमजोर बन्दै गएको छ भने सचेत हुनुहोस्, उनीहरु लागुपदार्थको दुव्यर्सनमा फसेका हुन सक्छन् । पछिल्लो सरकारी तथ्यांक अनुसार १ लाख ३० हजारको हाराहारीमा नेपालमा कडा लागूपदार्थ सेवन गर्नेको संख्या रहेको र त्यसमध्ये ७ प्रतिशत महिला छन् ।

प्रतिवर्ष ११.३६ प्रतिशतका दरले दुर्व्यसनीको संख्या बढ्दै गएको तथ्याङ्कले देखाएको छ । यस क्षेत्रमा कार्यरत गैरसरकारी संस्थाहरु यो संख्या दुई लाखभन्दा बढी रहेको दाबी गर्छन् । गाँजा, रक्सी जस्ता वस्तुलाई कडा लागूपदार्थको परिभाषा अन्तर्गत राखिएको छैन । नेपालमा सबैभन्दा बढी काठमाडौँ र क्रमशः सुनसरी, कास्की, मोरङ, झापा, रुपन्देही, चितवन र बाँके जिल्लामा लागुऔषध प्रयोगकर्ता रहेको गृह मन्त्रालय र केन्द्रीय तथ्याङ्क विभागले गरेको संयुक्त अध्ययनले देखाएको छ ।

प्रहरीको लागूऔषध नियन्त्रण ब्युरोले पनि लागुपदार्थको दुर्व्यसनी अधिकांश युवा उमेरका विद्यार्थी रहेको जनाएको छ । अभिभावकले आफ्ना छोराछोरीका हरेक क्रियाकलाप, साथीभाइ, विद्यालय समय बाहेक अरुबेला व्यतीत गर्ने ठाउँबारे जानकारी लिनु पर्नेमा ब्युरोको जोड छ । गृह मन्त्रालय, लागुऔषध नियन्त्रण कार्यक्रम इकाइले पनि आफ्ना सन्तान नौ कक्षामा पुग्दादेखि अभिभावकले उनिहरुको व्यवहार र आनीबानीमा ध्यान दिनुपर्ने सुझाव दिएको छ । छोराछोरीले लागुऔषध प्रयोग गरेको थाहा पाएमा त्यसलाई नलुकाई त्यस्ता प्रयोगकर्ताका लागि खोलिएका पुनःस्थापना केन्द्रमा लगी उपचार गराउनुपर्नेमा इकाइले जोड दिएको छ ।

दुर्व्यसनीका लागि विभिन्न संघसंस्थाले हाल तीन सयभन्दा बढी पुनःस्थापना केन्द्र सञ्चालनमा रहेका छन् । बाबुआमाले छोराछोरीलाई आवश्यक ध्यान नदिई पारिवारिक वातावरण बिग्रँदा, साथीभाइको लहलहै, निराशा, असफलता र यस्ता वस्तु बेच्ने गिरोहको करकापका कारण लागुपदार्थको प्रयोग गर्ने गरेको भेटिएको छ । नेपालमा सन् ६० को दशकमा हिप्पीहरुको प्रवेशसँगै गाँजा र अफिमको प्रयोग बढेको भेटिन्छ । सन् ९० को दशकमा आइपुग्दा गाँजा, अफिममा सीमित नरही हेरोइन, ब्राउन सुगर जस्ता महँगा लागुऔषको प्रयोग बढेको भेटिन्छ ।

लागुऔषध महँगो हुने भएकाले कारोबारीले विशेषतः घरानिया र धनीका छोराछोरीलाई यसको प्रयोग गराउन विभिन्न उपाय अपनाउने गरेको प्रहरीको अनुभव छ । नेपाललाई विशेषतः लागुऔषधको बिक्रीभन्दा पनि अपराधीले ‘ट्रान्जिट’ का रुपमा प्रयाग गर्ने गरेको तथ्यहरुले देखाएका छन् । कोकिन ल्याटिन अमेरिकी मुलुक हुँदै आउने र ‘आइस ड्रग’ हङकङ, थाइल्यान्ड हुँदै नेपाललाई ट्रान्जिटका रुपमा प्रयोग गर्ने गरिएको छ । संयुक्त राष्ट्रसंघले गरेको एक अध्ययन अनुसार विश्वमा ३० करोड भन्दाबढी लागुऔषध दुर्व्यसनीमा छन् । त्यसैगरी तीन खर्ब ३२ अर्ब डलर वार्षिक यसको कारोबार हुने गर्छ । विश्वमा हतियार, लागुऔषध र मानव तस्करी सबैभन्दा बढी कारोबार हुने शीर्ष तीनमा पर्छन् ।

के हो लागूऔषध दुर्व्यसन ?

कुनै पनि औषधि जसको सेवनले मानिसको केन्द्रीय स्नायु प्रणालीमा प्रभाव पार्नुका साथै प्रयोगकर्ताको भावना तथा सोचाईमा परिवर्तन ल्याउँछ भने त्यसलाई लागुऔषध भनिन्छ । जसले मानसिक चेतना, अनुभूति र मनोभावनालाई प्रभावित पारी बुझ्ने, सम्झने र सोच्ने शक्तिलाई विकृत तुल्याउँछ । लागुऔषधलाई स्वापकजन्य वा पीडाहर, अवसादक वा आलस्यजन्य, उत्तेजक र मतिभ्रामक गरी चार किसिममा वर्गीकरण गरिएको पाइन्छ ।

अफिम, मर्फिन, कोडिन, हेरोइन, पेथेडिन, मेथाडोनजस्ता निद्रा लगाउने र चेतनाको अवस्थामा फरकपन ल्याउने स्वापकजन्य वा पीडाहर किसिमको लागुऔषध, बार्बिच्युरेट्स, बेन्जोडायजेपाम, नाइट्रोजेपाम जस्ता केन्द्रीय स्नायु प्रणालीमा असर गर्ने अवसादक वा आलस्यजन्य लागुऔषधका प्रकार छन् । त्यसैगरी निकोटिन, क्याफिन, एमफिटामिन जस्ता स्नायु प्रणालीको गति वा कामलाई तीव्र गति दिने उत्तेजना बढाउने, भोक हटाउने र थकाई मेटाउने उत्तेजक लागुऔषध र एल.एस.डी, क्रोमा डि.एम.ए, सिलासाइबिन, मेस्किलिनजस्ता मति, चेतनालाई भ्रमित तुल्याउने मति भ्रामक लागुऔषधको प्रकार हो ।

झगडा गरेर चाहिनेभन्दा बढी पैसा माग्नु, घरबाट पैसा र बहुमूल्य समान हराउँदै जानु, शौचालयमा लामो समय बिताउनु, शरीरमा काटिएको खत देखिनु, घरमा ढिलो आउनु, छटपटी हुनु, शरीर काम्नु, सुत्ने र उठ्ने समय अचानक परिवर्तन हुनु, आँखा रातो हुनु, आँसु आइरहनु, बोली लर्बरिनु, आँखा जुधाएर कुरा गर्न नसक्नु, सरसफाइमा ध्यान नदिनु, एक्लोपन रुचाउनुजस्ता मुख्य लक्षण लागुऔषध प्रयोगर्तामा देखिन्छन् । छोराछोरीलाई खेलकुद, कला तथा साङ्गीतिक कार्यक्रममा बढी संलग्न गराउने, गलत व्यक्तिसँगको संगतबाट टाढा राख्ने, धूम्रपान र मद्यपानबाट टाढा राख्ने, लागुऔषधबारे सचेत गराउने, छोराछोरीसँग पर्याप्त समय बिताउने र विचारको आदानप्रदान गरेर उनीहरुलाई लागुऔषधबाट टाढा राख्न सकिन्छ ।