Loading... आजः १३ कार्तिक २०७७, बिहीबार

बालविवाह नियन्त्रणका लागि कार्यशाला

बालविवाह नियन्त्रणका लागि कार्यशाला

बाँके । जिल्लामा बालविवाह न्यूनीकरणमा भूमिका निर्वाह गर्ने पत्रकारका लागि नेपालगन्जमा दुई दिने कार्यशाला सञ्चालन गरिएको छ । प्लान इन्टरनेशनल नेपालको सहयोग तथा सामाजिक सरोकार सचेतन मञ्च (स्याक) नेपालको आयोजनामा आजदेखि शुरु भएको कार्यशाला सञ्चालन गरेको हो ।

जिल्लामा बालविवाह रोकथाम परियोजना अन्तरगत बाँकेमा बालविवाह न्यूनीकरणको कार्यक्रम सञ्चालन गरिरहेको छ । जिल्लाका अनलाइन तथा रेडियोका पत्रकार सहभागी कार्यशालामा बालविवाह न्यूनीकरणका लागि सञ्चारमाध्यम तथा सञ्चारकर्मीको आवश्यकता तथा भूमिका, बालबालिकासँगको व्यवहार, बाल संरक्षणका समाचार लेख्दा अपनाउनुपर्ने आचारसंहिताजस्ता बिषयमा छलफल भइरहेको छ ।

२५ जना पत्रकार सहभागी कार्यशालामा बालविवाहमुक्त घोषणामा सञ्चार जगतको आवश्यकता तथा भूमिका, स्थानीय सरकारसँग हुनुपर्ने बाल संरक्षण सम्बन्धी संयन्त्र लगायतका विषयमा पनि छलफल भइरहेको स्याक नेपालका बालविवाह रोकथाम परियोजना प्रबन्धक जगदिश थापाले बताए । कार्यशालामा बाल अधिकारकर्मी भीम अवस्थीले सहजीकरण गरिरहेका छन् ।

बालविवाह रोकथामबारे सञ्चारकर्मीहरुको भूमिका थप प्रभावकारी बनाउन र स्थानीय तहमा बालसंरक्षण संयन्त्र सुदृढीकरण तथा सञ्चार क्षेत्रको भूमिकाबारे कार्ययोजना बनाउने उद्देश्यले कार्यशाला गरिएको प्रबन्धक थापाले बताए । कोरोनाको अवस्थालाई ध्यान दिँदै दुई वटा छुट्टाछुट्टै समूह बनाएर कार्यशाला सञ्चालन भइरहेको परियोजनाकी फिल्ड सुपरभाइजर अर्मिला रोकायले जानकारी दिइन् ।