Loading... आजः १३ कार्तिक २०७७, बिहीबार
विदेशिएका छोराको भावुक पत्र

‘आमा ! हाम्रा दुःखका रातहरु बितेर अब मिर्मिरे उज्यालो आउँदैछ’

‘आमा ! हाम्रा दुःखका रातहरु बितेर अब मिर्मिरे उज्यालो आउँदैछ’

पुजनीय आमा
सेवा ढोग छ…

 

मलाइ यहाँ सञ्चो छ, तपाई पनि सञ्चै हुनुहुन्छ भन्नेमा बिस्वस्त छु । आमा दशैं नजिकिँदै आयो, गाउँघर शहर बजार छरछिमेकका सबै जना खुशी हुँदै दशैं तिहारको प्रतिक्षामा होलान् । तर तपाई मेरो प्रतिक्षामा हुनुहुन्छ होला । मलाइ थाहा छ, मेरो बाटो हेर्दै खुशी हुनुभएको होला । पोहोर सालको दशैंमा पनि आउन पाइन तपाईसँग संकल्प गरेको थिए, यसपालीको दशैंमा पक्का आउँछु र सँगै बसेर तपाईको काखमा लुटुपुटु गर्दै हाम्रा दुखलाई साटौंला है आमा भन्दै । तर नभन्दै यो बर्ष पनि दशैं आइसकेछ, मलाइ माफ गर्नुहोला ।

यो दशैंमा पनि आउन सकिन साहुले छुट्टी नै दिएन, त्यसैमाथि कोभिड–१९ ले गर्दा । रहर त थियो नि आमा मलाई घर आउन, तपाईको हातको टिका र जमरा लगाउन, तपाईले पकाउनु भएको मिठो मसिनो खान गाउँका बुढापाकासँग आशीर्वाद लिन साथीभाईसँग त्यो बासको घारीमा पिङ खेल्न । तर त्यो मजस्तै हजारौ प्रदेशिएका युवाहरुको भाग्यमा रहेनछ । तर म खुशी छु, आमा म सानो छँदा चाडपर्व आउथ्यो गाउँमा भुवोभैलो आउथ्यो हामीसँग एक छाक मिठो खान र एक जोर नयाँ कपडा लाउन नपाएको मेरो मानसपटलमा ताजै छ । हाम्रो लागि एक छाक खाना ल्याउनलाई दिनरात काम गर्दैगर्दा चप्पलबिना खुट्टा रक्ताम्मे भएका ।

आँखामा आज पनि झलझली आउँछ । हिउँद मासको जाडोमा फाटिएको चोली र गुनिउको छेउमा राख्दै हामीलाई न्यानो पारेको यो मनले भुल्न सकेको छैन । मेरो पढाइको लागि गोठमा बाँधिएको एकमात्र त्यो लैनो भैंसी बेचेको सम्झँदा त झन् मन आतिन्छ । तपाई एकपल्ट सम्झनुहोस् त ? भैगो छाडिदिनुहोस् यी सबै कुरा म प्रदेशी नै भए पनि तपाइको खुट्टामा एक जोर चप्पल, अनि फाटिएर टालटुल पारेको त्यो चोली फेर्न सकेको छु । चाडपर्व आउँदै गर्दा घरको स्थिति देखेर आँखामा बग्ने आँशु टाल्न सकेको छु । गाउँघरमा चाडपर्व आउँदा एकछाक मिठो खाना पाएका छौं । परिवारमा मुस्कान छर्न सकेको छु । योबाहेक मेरो लागि खुशी र सन्तुष्ट केही हुनै सक्दैन । आमा तपाईको खुशीबाहेक अर्को दशैं मेरो लागि आउनै सक्दैन । हुनत आफ्नो परिवारसँगै घुलमिल गरी रमाउन मन कसको हुँदैन होला ।

सायद, देशमै रोजगार भएको भए आफ्नो घरपरिवारबाट टाढा हुनुपर्दैन थियो होला ? आमा तपाईजस्तै हजारौं आमाले आफनो सन्तानका निम्ति आँशु बगाउनुपर्दैन थियो होला । ठिकै छ, तपाईकै छोरा जस्तो हजारौं छोराहरु बिदेशिनु रहर होइन बाध्यता हो । विदेशमै भए पनि आफ्नो परिवारलाई सुख दिन सकेका छन् । आमा, हाम्रा पनि दुखका रातहर बित्दै मिरमिरे उज्यालो हुन थाल्यो । पल्लोघरे राम घर आउँदैछ, एक महिनाको तलव पठाएको छु । एक छाक भए पनि घरमा मिठो मसिनो खानु होला । सँगै मेरो फोटो पठाएको छु, हेरेर मन बुझाउनु होला, आमा नरुनु होला, हाम्रा दुखका दिनहरु अब गइसके, हाम्रो पनि दशैं कसो नआउला र अर्कोपालिको दशैंमा सँगै बसेर मनाउला । अहिलेलाई बिदा पाउ आमा ।।

 

उही तपाईको प्यारो छोरा
दिपक बिक
मष्टा गाउँपालिका–२ खिकाला, बझाङ
हाल : भारतको ब्याङलोर