Loading... आजः ९ मंसिर २०७७, मंगलवार
Trending:
कोरोना कहर

बन्दाबन्दीपछि बेरोजगार भए ‘घरेलु श्रमिक’

बन्दाबन्दीपछि बेरोजगार भए ‘घरेलु श्रमिक’
सांकेतिक तस्वीर

रुपन्देही । मीना शर्मा ८ वर्षदेखि बुटवलमा घरेलु सहयोगीको रुपमा काम गर्छिन् । चारवटा घरमा समयतालिका मिलाएर काम गर्न जान्थिन् । तर, करिव सात महीनादेखि बेरोजगार छिन् । बुटवल उपमहानगरपालिका–७ मा उनको डेरा छ । ८, ९ र १० मा स्कुल पढ्ने २ छोरी र एक छोराको लालनपालन र रोगी श्रीमानको उपचार खर्च उनैले जुटाउनुपर्छ ।

काम गर्ने घरहरू डेराबाट नजिकै भए पनि सबैले लकडाउन (बन्दाबन्दी)मा नआउन भनेका थिए । त्यसपछि उनलाई नआउनै भनियो । आयस्रोत नभएपछि घर चलाउन मुश्किल भएको उनी बताउँछिन् । उनी भन्छिन्, ‘चारवटा घरमा काम गर्दा समेत खर्च धान्न मुश्किल थियो, अब त आम्दानी नै छैन ।’ तिलोत्तमा नगरपालिका–११ की तुलसी चौधरीले पनि घरेलु सहयोगीको रुपमा काम गर्न थालेको ६ वर्ष भयो ।

‘श्रीमान् छन् तर केही गर्दैनन्, रक्सी खाने आउने घरमा कलह गर्ने’ उनी भन्छिन् । उनी खाना पकाउने, भाडा माझ्ने, लुगा धुने, घर सफा गर्ने गर्छिन् । ‘दुई छोरीको बिहे भैसक्यो, एउटीले एसईई दिएर बसेकी छ,’ उनी भन्छिन् । काम शुरू गरेयता तुलसीलाई लामो समय बेरोजगार हुनुपरेको थिएन । यो पहिलो पटक हो ।

तुलसी भन्छिन्, ‘काम शुरू गरेदेखि कहिल्यै कामको खाँचो भएन । त्यसैले छोरीहरु पढाउन, छोरीको बिहे गर्न सकियो । लकडाउन खुलेपछि पनि काममा बोलाउने हुन् कि होइनन् भन्ने पीर छ ।’ कतिपयलाई कोरोना संक्रमण फैलने डरले काम गर्न आउन दिदैँनन् । एकै जना कामदारले धेरै वटा घरमा काम गर्ने हुँदा संक्रमण फैलने डरले रोजगारदाताले नबोलाउने गरेको उनी बताउँछिन् ।

लकडाउनपछि धेरै घरेलु कामदार बेरोजगार भएका छन् । कतिपयलाई भने कामको बोझ थपिएको छ । तर, कति घरेलु श्रमिक समस्यामा छन् भन्ने तथ्याङ्क कुनै निकायसँग पनि छैन । तिलोत्तमा नगरपालिकाकी रुवी थापा मगरले ६ वर्षदेखि घरेलु कामका लागि सहयोगी राखेकी छिन् । लकडाउनमा भने उनी आफैं श्रीमान्सँग मिलेर काम गरिन । सहयोगीलाई नआउन भनीन । एक निजी संस्थामा कार्यरत रुवीको रोजगारी गुम्यो ।

उनी भन्छिन्, ‘म आफैं बेरोजगार हुनुर्पयो अर्को जागिर नभएसम्म सहयोगी राख्दिनँ, म आफैं गर्छु ।’ कतिपय घरेलु सहयोगीको भने पहिलाभन्दा कामको भार थपिएको छ । बुटवल १२ कालिकानगरमा एक घरमा विगत चार वर्षदेखि सहयोगी रहेकी मीना थापा (परिवर्तित नाम) अहिले सामान्य समयभन्दा बढी काम गर्नुपरेको गुनासो गर्छिन् । उनी चार सदस्य भएको परिवारमा काम गर्छिन् । उनी घर सफा गर्ने, भाँडा माझ्ने र लुगा धुने गर्छिन् ।

बिहानको खाना खाएपछि आमाबुबा कार्यालय र छोराछोरी विद्यालय जान्थे । साँझ फलफूल तथा तयारी खाना खाने हुँदा प्रायः पकाउनु पर्दैनथ्यो । तर, लकडाउनपछि बिहान र बेलुकाको खाना घरैमा पकाउनुपर्छ । उनी भन्छिन्, ‘अहिले बिहानको खाजा, खाना, दिउँसोको खाजा, साँझको खाना पनि घरैमा हुन्छ । पकाउने काम उहाँहरूले नै गर्नुहुन्छ, मैले तयार पार्ने र भाँडा माझ्नुपर्छ ।’

केन्द्रीय तथ्यांक विभागको श्रमशक्ति सर्वेक्षण २०७४/०७५ अनुसार नेपालमा २ करोड ७ लाख ४४ हजार काम गर्न सक्ने उमेर (१५ देखि ५९ वर्ष) समूहका मानिस छन् । तर, ७९ लाख ९४ हजार मात्रै श्रम गरिरहेका छन् । तीमध्ये औपचारिक क्षेत्रमा १५ दशमलव ४ प्रतिशत र अनौपचारिक क्षेत्रमा ८४ दशमलव ६ प्रतिशत कार्यरत छन् । अन्तर्राष्ट्रिय घरेलु श्रमिक महासंघमा संगठित भने पाँच हजार जना रहेको तथ्याङ्क छ । यी घरेलु सहयोगीहरू कोही रोजगारदाताको घरैमा र कोही बाहिर बसेर काम गर्छन् ।

बिहान–बेलुका घरेलु सहयोगीको काम गर्ने र दिउँसो पोते बुन्ने, चुरा बनाउने अथवा निर्माण क्षेत्रमा काम गर्ने पनि छन् । सुत्केरी र बालबालिका स्याहार्ने, वृद्धवृद्धा स्याहार्ने, घर सफा, लुगा धुने, भाँडा माझ्ने लगायतमा अधिकांश महिला श्रमिक छन् । ड्राइभर प्रायः पुरुष छन् । घरेलु सहयोगीको रूपमा कार्यरत अधिकांश लकडाउनपछि बेरोजगार छन् । बन्दाबन्दी खुले पनि धेरैको जागीर गुमेको छ । रोजगारदाताको आम्दानी घट्ने हुँदा कामदार कटौती भएका हुन् । लामो समयको लकडाउनले अधिकांश रोजगारदाता पनि आयस्रोतविहीन भएका छन् ।