Loading... आजः १३ कार्तिक २०७७, बिहीबार
सामाजिक अन्धविश्वास

बालबिवाह : ‘एक सामाजिक कुरिती’

पछिल्लो अध्ययनहरुले देखाएअनुसार नेपालमा बालबिवाह बढ्नुको एक प्रमुख कारण गरिबी, अन्धविश्वास अनि सूचना प्रविधिको बढ्दो दुरुपयोग पनि हो ।
बालबिवाह : ‘एक सामाजिक कुरिती’

‘सानै उमेमा विवाह गरेर बसेकी पल्लाघरे चेली,
१९ वर्षमा ३ वटा छोराछोरी पाएर थलापरेकी पल्लाघरे चेली,
छोराछोरीको भोक टार्न कुनै उपाय नलागेपछि आफ्नै मृगौला बेच्न बाध्य भएकी पल्लाघरे चेली,
घरको छानो टाल्न आफ्नो श्रीमान्लाई ठेलागाढा चलाउन शहर पठाएकी पल्लाघरे चेली ।’

माथि कवितामा उल्लेख गरिएको पल्लाघरे चेली नेपालमा विद्यमान बालबिवाहको एक प्रतिनिधि पात्रमात्र हुन् । तर यहाँ उनीजस्ता थुप्रै बालबालिकाहरु बालबिवाहको सिकार भएका छन् । सामान्यरुपमा बालबिवाह भनेको कानुनले तोकेको न्युनतम उमेर २० वर्षभन्दा कम उमेरमा गरिने विवाहलाई भनिन्छ । बहुभाषिक र बहुसांस्कृतिक सुन्दर पूmलबारीजस्तो छ नेपाल । तर त्यो सुन्दर पूmलबारीका बीचमा च्वाँस्स घोच्ने काँडाजस्तो कुरिती र कुप्रथाले यस देशलाई दुर्गन्धित बनाएको छ ।

ती दुर्गन्धित बनाउने तत्वहरुमध्ये बालबिवाह वर्तमान परिवेशलाई नियाल्दा धर्मको नाममा अन्धविश्वास, अशिक्षा र गरिबी प्रमुख कारक तत्व देखिन्छ । हामीले यसलाई बेलैमा रोकथाम गर्न सकेनौ भने भोलिको दिनहरुमा भयावह अवस्था आउने निश्चित नै छ । बालबिवाहले निम्त्याउने उच्च जनसङ्ख्या बृद्धिदर, शिशु र मातृ मृत्युदर एकदम उच्च भएकोले भोलिका दिनमा बच्चा जन्माउने आमाको शरिर राम्रोसँग परिपक्व नभएकोले उनले जन्माएको बच्चा पनि आपाङ्ग र कुपोषणको सिकार भएर जन्मने हुनाले त्यो आमामात्र नभई बच्चाको भविष्य पनि नष्ट हुन्छ । १९ वर्षको उमेर भएकी किशोरीको काखमा २ महिने बच्चा रुँदैछ ।

त्यसैगरी एक कलिलो उमेरको बालक उमेर नपुग्दै परिवार पाल्न भनी खाडीमा पैसा कमाउन लागेको अवस्था छ । महिला र बालिका घरेलु हिंसा र बेचबिखनको सिकार भएका छन् । यसमा गल्ती कसको हो छ ? यसमा न त्यो आमो गल्ती छ न त त्यो अबोध बालबालिकाको नै गल्ती छ । यसमा त जनचेतनाको अभाव, गरिबी, अशिक्षा र बनेका नीतिहरुको सही ढङ्गले पालना नगर्नु र कार्यान्वयन नगर्नुको गल्ती हो । सबैलाई थाहा भएको कुरा, युनेस्कोको तथ्याङ्क अनुसार नेपाल सबैभन्दा बढि बालबिवाह गर्ने राष्ट्रहरुमध्ये तेस्रो स्थानमा पर्दछ ।

जसमा ३७ प्रतिशत किशोरीहरु १८ वर्षभन्दा कम उमेरमै विवाह गर्दछन् भने १० प्रतिशत १५ वर्षभन्दा तल विवाह गर्दछन् । मुलुकी अपराध संहिता २०७४ परिच्छेद–११ अनुसार विवाह सम्बन्धी कसुर अन्तरगत बालबिवाह गरे र गराएमा तीन वर्ष जेल र ३० हजार रुपैयाँ जरिवाना भनेर उल्लेख गरिएको छ । बालबिवाहविरुद्ध कडा नीतिहरु भए पनि कार्यन्वयनको पाटो फितलो देखिन्छ । जसले अपराधीहरुलाई थप उर्जा मिलेको छ । त्यसकारण बालबिवाह गर्ने र गराउनेलाई कानुन मागेअनुसार कडा सजाय दिनु निकै नै आवश्यक छ । पुरानो पुस्ता र अहिलेको पुस्तामा बालबिवाहको अवस्थामा धेरै फरक आएको छ ।

पहिले मानिसहरु यो विकराल समस्यालाई समस्याको रुपमा लिदैन्थे तर अहिले मानिसहरु सजग भइसकेका छन् । पहिला दबाएर राखिने बालबिवाहका घटनाहरु अहिले बाहिर आउँदैछन् । स्थानीय तहबाट पनि प्रयासहरु भइरहेका छन् । बिभिन्न संघसंस्था जस्तैः प्लान इन्टरनेशनल, स्याक नेपाल, रेस्ट, युनेस्को, सेभ द चिल्ड्रेन आदीले पनि बालबिवाहको विषयलाई उजागर गर्दै बालबालिका, किशोरकिशोरी र अविभावकहरुलाई पनि सजक बनाइरहेका छन् । त्यतिमात्र नभएर बाल क्लब, किशोर क्लब र युवा क्लबहरु पनि बालबिवाह न्यूनिकरण अभियानमा लगेका छन् । नेपालमा बालबिवाहको विकृतिलाई हामीले बेलैमा न्यूनीकरण गरेनौं भने आउने पुस्ताका बालबालिका र देशको भविष्य अन्धकारमा नै जान्छ ।

जनचेतनाको कमीले व्याप्त बालबिवाहलाई हामी सबै एकजुट भएर निरन्तर जनचेतना फैलाउने, शिक्षाको ज्योति सम्पूर्णमा पुर््याउने, रोजगारीको सिर्जना गर्ने कुराहरुमा सरोकारवाला निकायहरु पनि लाग्न जरुरी छ । पछिल्लो अध्ययनहरुले देखाएअनुसार नेपालमा बालबिवाह बढ्नुको एक प्रमुख कारण गरिबी, अन्धविश्वास अनि सूचना प्रविधिको बढ्दो दुरुपयोग पनि हो । सामाजिक सञ्जाल फेसबुक, व्हाटस् एप, ट्वीटर, ईमो, भाइवर, वाइफाई तथा इन्टरनेटजस्ता प्रविधि पनि समाजमा बालबिवाह अर्को कारण बनेको देखिन्छ । अर्को सामाजिक अन्धविश्वास पनि बालबिवाहको अर्काे मुख्य कारण हो ।

तराई क्षेत्रमा गौना प्रथाका कारण चाडै बिवाह गर्ने प्रचलन छ भने पहाडी तथा हिमाली क्षेत्रमा धार्मिकरुपमा महिनावारी हुनुपूर्व बालिकाको विवाह गरिदिँदा बुवाआमा स्वर्ग पुग्ने धार्मिक अन्धविश्वास छ । यस्ता कुरिती र कुसंस्कारले बालबिवाह दिन प्रतिदिन बढ्दै गएको छ । हाम्रो समाजमा निकै जटिल समस्याको रुपमा बालबिवाहले जरा गाडेको छ । यसको रोकथाम तथा न्यूनीकरणका लागि सरकारी तथा गैरसरकारी संस्थाहरु लागिपरेका छन् । यद्यपी बालबिवाहको समस्या अझै पनि समाजभित्र कायमै छ । बालबिवाह न्यूनीकरणका लागि विभिन्न प्रयासहरु पनि भइरहेका छन् । यसमा अझै महत्वपूर्ण भूमिका बाल क्लबहरुको देखिन्छ । बाल क्लब गठन भएका ठाउँमा बालबिवाह कम हुँदै गएका पनि छन् ।

बाल क्लबलाई सक्रिय बनाउन सरकारी तथा गैरसरकारी संस्थाहरुले निकै ठूलो भूमिका खेल्नुपर्छ । बाल क्लबलाई सक्रिय बनाउन बालअधिकार सम्बन्धी कार्यक्रमहरु नियमित हुनुपर्छ । बाल क्लबहरुमा आवद्ध बालबालिकाहरुलाई विभिन्न तालिम तथा प्रशिक्षण दिनुपर्छ । जसले बाल क्लबहरु थप सक्रिय हुन सक्छन् । बाल क्लबले बालबिवाह मात्र होइन समाजमा भएका विभिन्न कुरिती र कुसंस्कार न्यूनीकरणमा सघाउन सक्छन् । बाल क्लबहरुले बालबालिकालाई आफ्नो अधिकारको बोध गराउनुका साथै समाजमा हुने बिकृती रोक्ने ‘मियो’का रुपमा काम गर्न सक्छन् । हामीले बालबालिकालाई राम्रो संस्कारमात्र दिन सक्यौ भने देश निर्माणमा निकै ठूलो योगदान पुग्न सक्छ ।

बाल क्लब नै सामाजिक कुसंस्कार, विकृति र विसंगतिहरु रोक्ने एक आधार पनि बन्न सक्छन् । समाजमा बालबिवाह एक जटिल समस्याकै रुपमा छ । नेपालको संविधान अनुसार २० वर्षभन्दा कम उमेरमा विवाह गर्नु कानुन विपरीत भनिएको छ । तर बालबिवाह बढी हुने मुलुकको सूचीमा नेपाल एसियामा तेस्रो स्थानमा रहेको छ । बालबिवाहका कारण महिलाको यौन तथा प्रजनन् स्वास्थ्य जोखिममा परिरहेको छ । बालबिवाहका कारण महिलाको यौन तथा प्रजनन् स्वास्थ्यमा गम्भीर समस्या देखिएको र अकालमा आमा र बच्चाको मृत्युका घटनाहरु भइरहेका छन् । बालबिवाह रोक्न सबैले हातेमालो जरुरी छ । बालबिवाह अन्त्य नभएसम्म सामाजिक र साँस्कृतिक विकास तथा समृद्धिकै बाधक बन्नेछ ।

मुलुक संघीयतामा गइसकेको अवस्थामा अब समाजबाट यस्ता कुप्रथाहरु सधैंका लागि हटाउन बाल क्लबलाई स्थानीय, प्रदेश र संघीय सरकारले विशेष ध्यान दिई विभिन्न तहमा सञ्जाल गठन गरी परिचालन गर्न सकेमात्र बालबिवाह अन्त्य गर्न सम्भव हुनेछ । यदि बालबालिकाको मस्तिष्कमा नै बालबिवाह गर्नहुँदैन भन्ने धारणा बसाल्ने हो भने यो समस्यालाई जरादेखिनै निर्मुल पार्न सकिन्छ भन्ने कुरामा हामी विश्वस्त हुनसक्छौं । ‘असफलता नै सफलताको पहिलो खुड्किलो हो,’ भन्ने भनाईलाई आत्मसाथ गर्दै निरन्तर बालबिवाहको समस्यालाई निर्मुल पार्न लागिपर्दा भोलिको सुन्दर भविष्य र बालमैत्री पालिका, नगरपालिका वा सिङ्गो देश नै हाम्रो अगाडि हुनेछ । बालबिवाह गम्भीर प्रकारको सामाजिक कुसंस्कार हो, यसको अन्त्यका लागि सबैजना आजैदेखि जुट्नुपर्छ । धन्यवाद ।। प्रशिक्षार्थी पत्रकार