Loading... आजः १३ कार्तिक २०७७, बिहीबार
विचार

विनाशतर्फ ‘प्रकृतिको मृगौला’ सिमसार

वातावरणसम्बन्धी अनुसन्धानबाट पत्ता लागेअनुसार पृथ्वीमा वृद्धि भएको तापक्रमका कारण यहाँका तालतलैयामा परावैजनी किरणको बढी उत्पादन हुन जान्छ । त्यो किरणले अधिक मात्रामा जलचरहरुको सन्तानोत्पादन प्रक्रिया र गर्भमा रहेको भ्रुणहरु विकासमा पनि असर पुर्‍याउँछ ।
विनाशतर्फ ‘प्रकृतिको मृगौला’ सिमसार

नेपालीले विकास भनेको सडक खन्नु, ठूलठूला भवन बन्नुलाई मात्र ठानेका कारण प्रकृतिले दिएको स्रोत र सम्पदा मासिदै गएको छ । यस्तै मासिने क्रममा रहेको छ सिमसार क्षेत्र । तर, समस्या सिमसारको महत्व बुझाउन सकिएन । हुन त नेपालमा परम्परागत रुपमा सिमसार क्षेत्रको संरक्षण हुँदै आएको छ । धार्मिक आस्थाको लेपन लगाएर सिमक्षेत्रमा फोहरमैला गर्न नहुने, मास्न नहुने मान्यता स्थापित गरिए पनि अहिले विकासका नाममा ती सम्पदा मासिंदैछन् । विकास हुनु सबैको लागि खुशीको विषय हो । तर विकासको नाममा दिगो विकासतर्फ ध्यान दिन नसक्नु सबैका लागि हानीकारक हो । नेपालको वर्तमान सन्दर्भलाई हेर्ने हो भने कतिपय स्थानमा विकासको नाममा विनाश भैरहेको छ । यसको एउटा उदाहरण भनेको जथाभावी सडक निर्माणकार्य पनि हो । सम्बन्धित विषयमा विज्ञ व्यक्तिको सल्लाह सुझावबिना भैरहेका कति विकास निर्माणले धेरै क्षेत्रमा असर पुग्ने गरेको छ ।

त्यस्तै असर पछिल्लो समय नेपालको सिमसार क्षेत्रमा पर्न गएको छ । नेपाल पहाडी क्षेत्र भएकोले जथाभावी बाटो खन्नाले वर्षातको समयमा जमिनमुनीको सतहमा भएको माटो भेलले बगाएर लैजाने र त्यो माटो ताल, पोखरीमा जम्मा हुनाले कतिपय सिमसार क्षेत्र सुकिरहेका छन् । साथै जलवायु परिवर्तन र मानिसको लापर्वाहीका कारण सिमसार क्षेत्रमा विभिन्न समस्या परिरहेको छ । सिमसार क्षेत्रको विषयमा धेरैका आ–आफ्नै व्याख्या छन् । तर सामान्य अर्थमा पानी नसुक्ने, जमिन नदेखिने, सिमसिमे ढाप क्षेत्रलाई सिमसार क्षेत्र भन्ने बुझिन्छ । ताल तलैया, खोलानाला, पोखरी र खेतलाई पनि सिमसार क्षेत्रको रुपमा लिन सकिन्छ । नेपाल भू–परिवेष्ठित राष्ट्र भएकाले यहाँ समुन्द्र छैन । समुन्द्र भएका देशमा समुन्द्र किनारदेखि ६ मिटर गहिराईको क्षेत्रलाई पनि सिमसार क्षेत्रको रुपमा लिनु पर्छ भन्ने अन्तर्राष्ट्रिय मान्यता छ । उसो त नेपालमा अझै पनि सिमसार क्षेत्र भनेको के हो भन्ने विषयमा धेरैलाई थाहा छैन । यसकारण पनि नेपालमा भएका कतिपय सिमसार क्षेत्र लोप हुँदै गएका छन् । सिमसार क्षेत्रलाई कतिपय वैज्ञानिकहरुले पृथ्वीको मुटु पनि भनिन्छ ।

जमिनमूनिको सतहमा भएका विभिन्न पदार्थलाई छान्ने काम प्राकृतिक रुपमै सिमसार क्षेत्रमा भएको पानीले गर्ने भएकोले पनि यो पानी पिउन र अन्य कामका लागि उपयुक्त मानिन्छ । तर यसको प्रयोग र महत्वका विषयमा सम्बन्धित निकायले ध्यान दिन नसक्दा नेपालको सिमसार क्षेत्रमा जति सुधार हुनुपर्ने हो त्यति हुन सकेको छैन । नेपाल सन् १९८७ देखि रामसार महासन्धिको पक्ष राष्ट्र हो । कोशी टापु वन्यजन्तु आरक्षण नेपालको पहिलो सिमसार क्षेत्र हो । त्यसपछि नेपालबाट ९ ओटा ताल सिमसार क्षेत्रमा सूचिकृत भैसकेका छन् र अझै सूचीकृतको प्रक्रियामा रहेका छन् । विश्वमा कुल भू–भागको ९ प्रतिशत जमिन सिमसार क्षेत्र छ । त्यस्तै नेपालमा कुल भू–भागको ५.६ प्रतिशत जमिन सिमसार क्षेत्र अन्तरगत पर्दछ । यो क्षेत्रलाई नेपालको भौगोलिक बनावटको तुलनामा राम्रो मान्न सकिन्छ । तर प्रचार–प्रसारसँगै संरक्षण र प्रर्वद्धनको अभावमा रहेको सिमसार क्षेत्रप्रति कसैको ध्यान जान सकेको छैन । वातावरणीय सन्तुलनमा मुख्य भूमिका निर्वाह गरिरहेको सिमसार क्षेत्र सम्पूर्ण प्राणी एवं वनस्पति जगतको अस्तित्व जोगाउने आधारभूत तत्व भएकोले यसलाई पर्यावरणीय सन्तुलन, जलवायु परिवर्तन र जैविक विविधताको पर्यायको रुपमा हेरिन्छ ।

नेपालमा राष्ट्रिय सिमसार नीति–२०५९ मा भनिएको छ, भूमिगत जलस्रोत वा वर्षातका कारण पानीको परिमाण रहने वा प्राकृतिक वा मानव निर्मित, स्थायी वा अस्थायी, जमेको वा बगेको, स्वच्छ वा नुनिलो पानी भएको धापिलो जमीन, दलदले जमीन, नदीबाट प्रभावित जमीन ताल, पोखरी, जलभन्डार क्षेत्र र कृषि जमीनसमेतले सिमसारलाई जनाउँछ । सिमसार त्यो रसिलो भूमि हो, जहाँ जमिन लुक्दैन र पानी सुक्दैन । सिमसारका दुई मुख्य विशेषता भनेको पानी र जमिन हो । अन्य पारिस्थितिकीय प्रणालीभन्दा सिमसार अतुलनीय एवं विशिष्ट छन् । सिमसार क्षेत्र विश्वकै सबैभन्दा बढी उत्पादनशील पारिस्थितिकीय प्रणाली मानिन्छ । जैविक विविधताको संरक्षण, जल विज्ञान, पर्यटन प्रवद्र्धन, मनोरञ्जन, आर्थिक, सांस्कृतिक तथा पर्यावरणीय दृष्ट्रिकोणले समेत सिमसारलाई महत्वपूर्ण मानिन्छ । सिमसार लाखौं घुमन्ते चरा, माछा, उभयचर, स्तनधारी, कीरा र बोटबिरुवाको लागि महत्वपूर्ण वासस्थान हो । जलवायु, भौगोलिक स्वरुप, भुगर्भ र जल परिचालन लगायत भौतिक एवं रासायनिक प्रक्रियाले गर्दा सिमसारमा वनस्पति र जनावरहरुको उच्चतम विविधता पाइन्छ । सिमसारभित्र जल परिचालन र शद्धीकरण निरन्तर चलिरहने हुनाले यसलाई ‘प्रकृतिको मृगौला’ भनेर पनि भनिन्छ ।

सिमसारले थुप्रै जीवजन्तु र वनस्पतिलाई अनुकुल वासस्थान प्रदान गर्दछ । बोटबिरुवाको प्रजातिको संरक्षण गर्दछ र साथै यसले बाढी पहिरो पनि नियन्त्रण गर्दछ । भनिन्छ यदि पाँच प्रतिशत जमिनमा सिमसार छ भने पचास प्रतिशतसम्म बढी पहिरो नियन्त्रण गर्न सक्छ । त्यस्तै सिमसारबाट पानीको शुद्धीकरण गरी मानिस लगायत अन्य जीवजन्तुलाई समेत शुद्ध पानी उपलब्ध गराउने भएकोले यसलाई जमिनरुपी शरीरको मृगौला पनि मानिएको हो । यो क्षेत्र विभिन्न प्रजातिका जलचर, स्थलचर, उभयचर, नभचर तथा वनस्पतिहरुको आश्रयस्थलका रुपमा रहेको हुन्छ । माछा, काठ , दाउरा जडीबुटी तथा अन्य खाद्यवस्तुजस्ता आवश्यक र उपयोगी बस्तुहरु सिमसारबाटै प्राप्त हुने गर्दछन् । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका अनुसार वरपर दुई हजारभन्दा बढी स्थानीय चराहरुको बसोबास हुने, ऋतु परिवर्तनको क्रमसँगै वर्सेनि अन्य क्षेत्रबाट चराहरु बसाई सरेर आउने तथा पानीमा निर्भर एकसय भन्दा बढी जीवजन्तु तथा वनस्पतिलाई आश्रय दिएको जमिन नलुक्ने र पानी नसुक्ने क्षेत्रलाई मात्र सिमसार क्षेत्रको रुपमा सूचीकृत गर्ने गरिएको छ ।

विश्वभरीका सिमसारहरुमा मानव चापले परेको नकारात्मक प्रभावले सिमसारप्रति नयाँ जागरणको आवश्यकता महशुस हुन थालेको छ । मानव सिर्जित क्रियाकलापका कारण आज जलवायु परिवर्तन तीब्र रुपमा भइरहेको छ । यसको प्रत्यक्ष असर सीमसारमा परेको छ । सिमसार संकटमा पर्ने यो क्रमले पृथ्वीको तापक्रम वृद्धि भई जलवायु परिवर्तनमा प्रभाव परेको छ । जलवायु परिवर्तनमा सिमसारको महत्व र उपयोगितालाई ध्यानमा राखी सन् १९७१ फेबु्रअरी २ मा इरानको रामसार सहरमा विश्व सिमसार सम्मेलनको आयोजना भएको थियो । १५६ मुलुकका प्रतिनिधि सहभागी रहेको सो सम्मेलनमा विश्वका महत्वपूर्ण सिमसारको संरक्षण तथा व्यवस्थापनमा जोड दिनुपर्ने अभिसन्धी पारित भयो । अन्तर्राष्ट्रिय महत्वका खासगरी जलमा आश्रित पंक्षीहरुको बासस्थानका रुपमा रहेको सिमसार संरक्षण गर्नको निम्ति सहमत भई ती प्रतिनिधिले सिमसार सम्बन्धी महासन्धीमा हस्ताक्षर गरेका थिए । पछि यही महासन्धी रामसार महासन्धीको नामले प्रचलित हुन गयो । यो महासन्धीले संसारका सबै सिमसार क्षेत्रहरुको संरक्षण र सदुपयोग गर्नुपर्ने र अन्तर्राष्ट्रिय महत्वका सिमसार क्षेत्रहरुको पहिचान, घोषणा र समुचित व्यवस्थापन गर्नुपर्ने कुरालाई जोड दिएको छ ।

विश्वकै सिमसारहरुमध्ये पनि सबैभन्दा महत्वका सिमसारहरुलाई रामसार क्षेत्र भनेर घोषणा गरिन्छ । नेपालले सन् १९८७ मा सिमसार सम्बन्धी रामसार महासन्धीमा हस्ताक्षर ग¥यो । यसै सन्दर्भमा सन् १९८५ फेब्रुअरी २ तारिखदेखि विश्व सिमसार दिवस मनाउन सुरु भयो । तर नेपालमा भने सन् १९९१ बाट मात्र यो दिवस मनाउन थालिएको हो । रामसार सन्धीको ४३ वर्षे यात्रामा यो वर्षको फेब्रुअरी २ मा विश्वव्यापीरुपमा सिमसार दिवस मनाइएको छ । नेपाल विश्व मानचित्रमा अत्यन्त सानो देश भए पनि जैविक विविधताका दृष्टिकोणले निकै महत्वपूर्ण मानिन्छ । नेपालको विविधतायुक्त जैविक भण्डारले नेपाललाई विश्वभरमा २५ औं र एसियामा ११ औं स्थानमा राख्नु र यस्ता जैविक विविधताको भण्डार जोगाइराख्नुमा यहाँको सिमसारमा रहेको विशिष्ट पारिस्थितिकीय प्रणालीको उल्लेखनीय योगदान छ । नेपालमा कानूनी संरक्षण प्रदान गरिएका १७ प्रकारका वनस्पति यहाँको सिमसारमै पाइन्छन् । नेपालले विश्वभरमा लोप हुने संकटमा परेका १२२ प्रकारका जनावर तथा १७२ प्रजातिका माछालाई आश्रय दिइरहेको छ । नेपालमा पाइने चरामध्ये पाहुना चरासहित विश्वमै लोप हुने अवस्थामा पुगेका १९३ प्रजाति सिमसारमै विचरण गर्दछन् ।

सिमसार क्षेत्रको संरक्षण गर्ने उद्देश्यले नेपालले पनि सन् १९७१ मा कोशीटप्पु वन्यजन्तु आरक्ष क्षेत्रलाई रामसार सूचीमा समावेश गर्यो । यसैगरी सन् २००३ मा चितवनको बीसहजारी ताल, कपिलवस्तुको जगदीशपुर जलासय र कैलालीको घोडाघोडी ताल क्षेत्रलाई रामसार सूचीमा सूचीकृत गरिएको छ भने सन् २००७ मा सोलुखुम्बुको गोक्यो ताल, रसुवाको गोसाइँकुण्ड ताल, डोल्पाको शे–फोक्सुण्डो ताल, मुगुको राराताल र सन् २००८ मा माइपोखरीलाई पनि रामसार सूचीमा सूचीकृत गरेको छ । रामसार सूचीमा सूचीकृत नेपालका ती नौ वटा सिमसार क्षेत्रको कुल क्षेत्रफल ३४ हजार ४५५ हेक्टर छ । विश्वको करिब ९ प्रतिशत भूभाग सिमसार क्षेत्रले ढाकेको छ । विश्व बैंकको सहस्राब्दी वातावरणीय मूल्याङकन प्रतिवेदन अुनसार विश्वभर रहेका सिमसारले बर्सेनी १४ खर्ब अमेरिकी डलर बराबरको वातावरणीय वस्तु तथा सेवा प्रदान गर्दै आइरहेको छ ।

हाम्रो मुलुकमा झण्डै ५४ सयको हाराहारीमा सीमसार क्षेत्र रहेको अनुमान छ । यसले कुल क्षेत्रफलको २.६ प्रतिशत भूभाग ओगटेको छ । हालसम्म ९ सयको हाराहारीमा सिमसार क्षेत्र पहिचान भएका छन् । तीमध्ये उच्च हिमाली क्षेत्रमा सबैभन्दा बढी छन् । नेपालमा करिब पाँच हजार ताल, एक हजार ३८० जलाधार र पाँच हजार १८३ पोखरी छन् । नेपालको पनि ११ प्रतिशत जनसङख्या सिमसार क्षेत्रमा निर्भर छन् । नेपालको बोटे, दनुवार, माझीजस्ता जाति जीविकोपार्जनका लागि सिमसार क्षेत्रमै आश्रित छन् । विश्वका लोपोन्मुख प्रजातिहरु एकसिङे गैडा, साँेस, घडियाल गोही, अर्ना, पानी छेपारो, ओत नेपालका सिमसारमा संरक्षित छन् भने कर्याङकुरुङ, चखेवा, खोया हाँस, आइविस चरा, साइक नाइटजार जस्ता घुमन्ते पंक्षीको आश्रयस्थल बनेको छ । तीन अर्ब मानिसको प्रमुख आहारा चामल र प्रोटिनको उत्तम स्रोत माछा सिमसार क्षेत्रका उत्पादन हुन् ।

पछिल्लो समयमा सिमसारको भूमिकालाई जलवायु परिवर्तनका प्रभाव न्यून गर्ने आधारका रुपमा हेर्न थालिएको छ । हरितगृह ग्यासको सोचन, तापक्रम नियमन र वर्षालगायत जलवायु प्रक्रिया परिचालनमा सिमसारको महत्वपूर्ण भुमिका हुन्छ । सिमसार क्षेत्रको यति व्यापक महत्व र उपयोगिता हुँदाहुँदै पनि यसको संरक्षण र संवद्र्धनमा यथोचित ध्यान पुग्नसकेको छैन । जनसंख्याको वृद्धि तथा सिमसार क्षेत्रबारे जनचेतना नहँुदा सिमसार क्षेत्रको अस्तित्व खतरामा पर्न थालेको छ । हालैका वर्षमा विश्वव्यापी रुपमा बढ्दै गइरहेको तापक्रमका कारण मानव जीवनलाई मात्र नभएर भूमि, जल, वनस्पति लगायतका कैयन जैविक विविधतालाई प्रत्यक्ष असर पर्न गएको छ । वातावरणसम्बन्धी अनुसन्धानबाट पत्ता लागेअनुसार पृथ्वीमा वृद्धि भएको तापक्रमका कारण यहाँका तालतलैयामा परावैजनी किरणको बढी उत्पादन हुन जान्छ । त्यो किरणले अधिक मात्रामा जलचरहरुको सन्तानोत्पादन प्रक्रिया र गर्भमा रहेको भ्रुणहरु विकासमा पनि असर पुर्याउँछ ।

फलस्वरुप चिसो पानीमा बस्ने जलचर मासिन्छन् । बढ्दो वन फँडानी र अतिक्रमणसगै प्राकृतिक स्रोतको अनियन्त्रित प्रयोग, कृषि उत्पादनमा कीटनाशक विषादिको प्रयोग र सिमसारको अत्यधिक उपयोगका कारण सिमसार नासिंदै गएका छन् । सिमसार कतै खेत र कतै घडेरीमा परिणत भएका छन् भने कतै माछा पोखरीमा सीमित छन् । वरपरका खेतबारीमा प्रयोग गरिने रासायनिक मल विषादी बगेर सिमसारमा मिसिनाले र धार्मिक पर्वहरुमा तीर्थालुले प्रयोग गर्ने पूजाका सामान विसर्जन गर्नाले सिमसार प्रदूषित भइरहेका छन् । अत्यधिक चरन, जडिबुटी सङकलन, पानीको बढ्दो प्रयोग र मिचाहा प्रजातिले गर्दा सिमसार गम्भीर सङकटमा परेको छ । जलकुम्भी, कुम्भीका, जलजम्भु, बेशरम, करौते, लहरे वनमारा आदि वनस्पतिले सिमसारै ढाक्ने गरेका छन् । बाह्य प्रजातिका माछा छाडिनाले पनि स्थानीय जातका माछा विस्थापित भएका छन् । भूक्षय र वरपरबाट बगेर आउने भलसँगै ढुङ्गा, बालुवा, पाँगो माटो थुप्रिनुका साथै बाढी, पहिरो र हिमताल फुट्नाले पनि सिमसार क्षेत्र नष्ट हुने अवस्थामा छन् ।

अब हाम्रो चासो सिमसारलाई बचाउनुमा केन्दित हुनुपर्छ । सिमसार बचाउनु भनेको त्यहाँको जीवन बचाउनु हो । यसका लागि सिमसार सुकाएर बाली लगाउने काम तुरुन्त रोक्नुपर्छ, रसायन र प्रदुषण सिमसारमा पुग्न दिनुहुँदैन, सिमसारबाट प्राप्त हुने उत्पादन दिगो हुने गरी मात्र दोहन हुनुपर्छ । तसर्थ सानो ठूलो सिमसार क्षेत्रमा स्थानीय जनसमुदायलाई बेलैमा ज्ञान, सीप र साधनले सशक्तिकरण गराई सिमसार संरक्षण र दिगो उपयोगको सिलसिला स्थापना गर्नुपर्छ । सिमसार क्षेत्रको महत्वलाई दृष्टिगत गरी यिनको दीर्घकालीन संरक्षण गर्न, यथाशीघ्र वैज्ञानिक आधारमा स्थलगत कार्यक्रम बन्नुपर्दछ । सिमसार क्षेत्रमा आश्रित वर्गको पहिचान गरेर उनीहरुकै सहभागितामा त्यस क्षेत्रको प्रभावकारी व्यवस्थापन तथा बुद्धिमत्तापूर्ण उपयोग गर्नेतर्फ सबैको ध्यान जानु जरुरी छ । सम्म मानिसले सिमसार क्षेत्रमाथि गर्ने अतिक्रमण लगायतका गतिविधिको कानुनी रुपबाट निषेध तथा सामाजिक दृष्टिकोणले वहिस्कार गरिदैन तबसम्म सिमसार क्षेत्रको संरक्षणमा चालिएका प्रयासको उपलब्धी शून्य रहनेछ ।

सिमसार संरक्षणका माध्यमबाट जलवायु परिवर्तनको जोखिम न्यूनीकरण गर्न पनि स्थानीय समुदायको सहभागिता अपरिहार्य रहेको छ । नीति निर्मातादेखि लिएर स्थानीय समुदायले समेत सिमसारको उपयोगिता र महत्व बुझ्नु आवश्यक छ । सिमसार संरक्षणका साथै स्थानीय उपभोक्ताको दिगो सहभागिता, त्यहाँ उपलब्ध जैविक विविधता तथा सिमसारमा आधारित स्रोतको दिगो तथा बुद्धिमत्तापूर्ण उपयोग गर्ने क्षमता अभिवृद्धि, अर्थपूर्ण सहभागिताको प्रत्याभूति, स्रोतमाथिको नियन्त्रण गरिनु आवश्यक छ । यी सबै कामकालागि राष्ट्रिय सिमसार नीतिमा आवश्यक परिमार्जनसहित त्यसको व्यवहारिक कार्यान्वयनमा कदम चाल्न ढिला गर्नुहुन्न ।