Loading... आजः ११ मंसिर २०७७, बिहीबार
Trending:
विकास

तीन बर्षदेखिको विवाद समाधानपछि विस्तार हुँदै एकलैनी बजार

तीन बर्षदेखिको विवाद समाधानपछि विस्तार हुँदै एकलैनी बजार
फाइल तस्वीर

बाँके । लामो समयको रस्साकस्सीपछि अन्ततः नेपालगन्ज उपमहानगरपालिकाको एकलैनी बजार क्षेत्र विस्तारको काम शुरुआत गरिएको छ । दुई दशक पुरानो एकलैनी बिस्तार योजना कहिले बजेट अभाव तथा कहिले स्थानीयको अवरोधका कारण अघि बढ्न सकेको थिएन ।

स्थानीय वडा कार्यालयहरुको समन्वयमा स्थानीयलाई सहमतिमा लिएर विस्तारको काम शुरु गरिएको उपमहानगरपालिका प्रमुख डा धवलशम्शेर राणाले जानकारी दिए । उक्त बजार क्षेत्रमा दुई छेउ नालासहितको सात मिटरको पक्की सडक निर्माणको काम शुरुआत गरिएको र दुई महिनाभित्र सक्ने योजना नगरपालिकाले तय गरेको छ ।

नाला र सडक निर्माणका लागि उपमहानगरपालिकाको आन्तरिक कोषवाट झण्डै रु २२ करोड छुट्याइएको उनले बताए । स्थानीय तहमा जनप्रतिनिधि आएर काम गर्न लागेको तीन बर्ष पुग्न लाग्दासमेत विवादका कारण एकलैनी बजार क्षेत्र विस्तार योजनाको काम अघि बढ्न सकेको थिएन ।

नेपालगन्ज–३ का वडाध्यक्ष मोहम्मद आयुब सिद्दीकीले भने, ‘लामो समयको खिचातानीपछि अहिले एकलैनी क्षेत्रका स्थानीयहरु घर भत्काउन सहमत भएका छन् ।’ नेपालगन्ज सानो हुँदा सबै कारोबार एकलैनी बजारबाट हुने गथ्र्यौ । समय क्रमसंगै नेपालगन्जले आकार लिदै गए पनि यो क्षेत्र भने खुम्चिएकै स्वरुपमा छ ।

मोटर जान नसक्ने तीन मिटरभन्दा सानो वाटो, अव्यवस्थित पसल, फोहरमैला विसर्जनका लागि स्थान अभावको लगायत साँघुरोपनको अवस्था एकलैनीले बर्षौदेखि भोग्दै आएको छ । बजार विस्तार हुन नसक्दा यो क्षेत्रवाट श्रृंगार र दैनिक उपभोग्य बस्तुको पसलबाहेक अन्य पसलहरु विस्तारित क्षेत्रमा सर्दै गएका छन् ।

‘आफ्नो बजार क्षेत्रमा कारोबार नै नहुने अवस्था देखिएपछि त्यहाका स्थानीयबासी बाध्य भएर सहमतिमा आएका हुन्,’ नगर प्रमुख राणाले भने । यसका साथै एकलैनी विस्तारका लागि अहिले चारैतिरबाट दबाब बढ्दै गएको थियो । झण्डै पाँच हजार घरधुरीको बसोबास रहेको यो बजार क्षेत्रमा योजना अन्तरगत चौडा सडक र नाला निर्माणको योजना रहेको छ ।