Loading... आजः ११ मंसिर २०७७, बिहीबार
Trending:
अपराध

सम्झनाको हत्यापछि बुवाको रोदन, ‘मन्दिरभित्र मेरी छोरी कति रोई होली ?’

सम्झनाको हत्यापछि बुवाको रोदन, ‘मन्दिरभित्र मेरी छोरी कति रोई होली ?’

बाँके । गत असोज ७ गते बुधबारका दिन बझाङको मष्टा गाउँपालिका–२ खिकालकी १२ वर्षीया सम्झना कामीको बलात्कारपछि हत्या भएको घटनाले यतिबेला सर्वत्र फैलिएको छ । १२ वर्षीया ती अबोध बालिकाको बलात्कारपछि हत्या गरेको अभियोगमा सोही ठाउँका स्थानीय राजेन्द्र बोहोरालाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ ।

उनको बलात्कारपछि हत्या बोहोराले नै गरेको भन्ने विषयमा कुनै दुविधा नभएको परिवार स्रोतले बताउँदै आएको छ । यस्तै प्रहरीले पनि आफूसँग जुटेका प्रमाणअनुसार बाहोरा नै उनको हत्यारा भएको खुलेको छ । सम्झनाका बुबाआमा भारतमा थिए । भारतमा भएका कारण उनीहरुले आफ्नी छोरीको बलात्कारपछि हत्या भएको खबर पाएपछि सम्झनाका बुबा कोरोना कहरकैबीच नेपाल फर्किए ।

हाल उनी चैनपुरस्थित एक बन्द कोठाभित्र टोलाएर बसिरहेका छन् र सम्झिरहेका छन् सम्झनालाई । छोरी सम्झनालाई आफूजस्ता बुबाले जन्म दिएकोमा उनलाई धिक्कार लागिरहेको छ । उनी छोरीलाई जन्म दिनु महापाप सम्झिरहेछन् । बन्द कोठभित्र छोरी सम्झनाको सम्झना औधी आउँछ विकासलाई । तर बलात्कारीले उम्रदै गरेको बिरुवालाई क्षणभरमै निमोठिदियो । यस्ता बलात्कारीहरुलाई फाँसीको सजाय हुनुपर्ने उनले माग गरेका छन् ।

सम्झनालाई सम्झँदै बुवा विकासका भावविह्वल शब्द

‘माफ गर्नू छोरी, म सबैभन्दा ठूलो अपराधी हुँ । मैले नै कसैले बलात्कार गरोस्, कसैले निर्मम तरिकाले हत्या गरोस् भनेर तँलाई जन्माएको रहेछु । त्यो मन्दिरभित्रको देवता जानोस् । मेरी छोरी त्यो पापीले थिचिकुटी बलात्कार गरेर मार्यो । मन्दिरभित्र मेरी छोरी कति रोई होली ? कति चोटि त ए बाबा, ए आमा भनी होली तर म त उसको त्यो चिच्याहट सुन्ने अवस्थामा थिइनँ ।

म कसरी भनूँ ? के मैले आफ्नी छोरी घरमा बुबाआमासँग राख्न नपाइने हो ? मैले त्यो पापीको सुन चोरेर ल्याएको थिएँ र मेरी छोरीको सुन लुट्न यत्रो दुस्साहस गर्यो ? सरकार एक छोरीका लागि न्याय दिलाइ दे, होइन भने मेरो नागरिकता बुझाइदिन्छु । मलाई देशनिकाला गरिदे । यदि म यो देशको नागरिक हुँ, मेरी छोरीको लुटपाट, बलात्कार र हत्या हुँदा अपराधीलाई फासी हुने कानुन बनाइ दे ।

हामी बुबा पापी भइसक्यौँ, अब त अति भो । छोरीचेलीको जीवनलीला सकिन लाग्यो। अपराधी खुलेआम गाउँघरमा डुल्न थाले। हामी गरिब, दीनदुखीका आवाज सुन्ने को छ ? हाम्रो रगतरपसिनाको महत्व बुझ्ने को छ ? मेरी छोरीको हत्यारा राजेन्द्र बोहरा नै हो । ऊ यदि हत्यारा होइन भने मेरी छोरीलाई मार्नुभन्दा एक हप्ताअगाडि ’कानका मुन्द्रा दे’ किन भन्यो ?

किन मेरी छोरीलाई धम्क्यायो ? उसका अघिल्ला अपराध पनि धेरै छन् । मेरै घरभन्दा पल्लो घरकी एक बालिकालाई पनि उसले बलात्कार गरेर ‘बच्चा बसे म जिम्मा लिन्छु’ भन्दै कागज गरेर ५०० रुपैयाँ दिएर घटना थामथुम पारेको छ । त्यो नरपिचासबाहेक मेरी छोरीको हत्यारा अरु कोही हुन सक्दैन । त्यसलाई प्रहरीले बाहिर निकालोस् न मात्र, जनकारबाही गर्छौं हामी ।

विकास गाउँमा गरिखाने वातावरण नहुँदा २०५८ सालमा भारत छिरेका थिए । त्यसपछि एउटा छोरीको आँखामा समस्या आउँदा धेरै खर्च गरे, तर आँखा काम नलाग्ने गरी बिग्रियो । दुखैदुखले भरिएको विकासको जीवनमा दैवले ठूलो वज्रपात पारिदियो । फूलको कोपिलाजस्तै फक्रिन लागेकी सीताले बुबा र भाइलाई देख्नै नपाई संसारबाट बिदा भइन् ।’