Loading... आजः ११ मंसिर २०७७, बिहीबार
Trending:
संस्मरण

कोरोनाको कथा र मेरो भोगाई

कोरोनाको कथा र मेरो भोगाई

कोरोना कहर र लकडाउन शुरु भएदेखि म खासै कहिकतै जादिन्थे । जानै परे स्वास्थका सबै मापदण्ड पूरा गरेर जान्थे । म स्वयं ब्याक्टेरिया, भाइरसकै बारेमा पढेको र बुझेको मान्छे र अरुलाई पनि तिनैको बारेमा पढाउने मान्छे, सजक नहुने त कुरै थिएन । तर भदौ २७ गते बेलुका आफुलाई असजिलो महसुस भयो र स्वाब टेष्ट गर्दा भोलिपल्ट कोरोना संक्रमण पुष्टि भयो । त्यसपछि आइसोलेसनमा बसे ।

खासै लक्षण नदेखिए पनि हल्का ज्वरो, खोकी, जीउ दुख्ने, नाकले गन्ध र जिब्रोले स्वाद नपाउने र अलि दुख चाहिँ पखालाले दियो । म खासै नडराउने मान्छे । जीवनमा जे परे पनि सहन सक्छु भन्ने मनोबल छ सायद त्यहि कारणले कोरोना नै डरायोजस्तो छ । मलाई भएको केही दिनमा श्रीमानलाई बेस्सरी ज्वरो आयो, जीउ दुख्यो, लगातार सुख्खा खोकी लाग्न थाल्यो र जाँच गराउँदा संक्रमण पुष्टी भयो ।

औषधी खाँदा पनि लक्षणमा कुनै कमी नभएपछि डर पनि लाग्न थाल्यो, लाग्न थाल्यो कोरोना त्यति सामान्य पनि होइन रैछ । बच्चाहरुमा नि हलका ज्वरो र खोकी देखियो र जाँच गर्दा दुबै छोराहरुमा पनि संक्रमण देखियो । उता श्रीमानको स्वास्थमा सुधार नहुनु र यता बच्चाहरुमा संक्रमण देखिनु, आफु पनि बिस्तारै गल्दै जानु । हिम्मत र मनोबल कम गर्न पर्याप्त थियो ।

तर भगवानको कृपा, परिवारजन, साथीभाई र सबै शुभचिन्तकहरुको कामना, हौसला, साथ र सहयोगले त्यो असहज परिस्थितिलाई पार गर्न सक्यौं । आज हामी सम्पूर्ण परिवार स्वस्थ छौं । कोरोनाको कारण विरामी हुनु भएका सम्पूर्णमा सीघ्र स्वास्थ्य लाभको कामना । मनोबल उच्च राख्नुहोस, रोगलाई जित्न सकिन्छ । दिवंगतहरुप्रति हार्दिक समवेदना । परिवारजनलाई धैर्य धारण गर्ने शक्ति मिलोस् ।

बाँकी रोग नलागेकाहरु सचेत बन्नुहोस्, रोग लागे त्यति सजिलो छैन । कोरोनालाई हल्का रुपमा नलिनुहोस् । आफ्नो र आफ्नो परिवारको सुरक्षाको जिम्मेवारी तपाईको नै हो । कोरोना केही होइन, भ्रम हो भन्नेहरुलाई भ्रमित नबन्न आग्रह गर्दछु । हामीले कोरोनालाई जुन हिसाबले बेवास्ता गरिरहेका छौं, त्यो भ्रम चिर्नुपर्छ । हाम्रो आफ्नै असावधानी र केही हेलचेक्र्याइँ नै सङ्क्रमण हुनुको प्रमुख कारण बन्न सक्छ ।

मेरो सुझाव छ कोरोनालाई सामान्य रुघाखोकी त हो भनेर लापरबाही नगरौं । अहिलेको विषम परिस्थितिमा हामी अत्यन्तै सावधान र सचेत हुन आवश्यक छ । किनभने सानो लापरबाही र असावधानीले गर्दा हाम्रो ज्यान नै जोखिममा पर्छ । समाजमा पनि सङ्क्रमण फैलिन सक्छ । सुख्खा खोकी र ज्वरो आउने, अरुची बढेको छ र कमजोरी महसुस भएको छ भने तुरुन्तै अस्पताल गएर कोरोना परीक्षण गराउनुहोला ।

कोरोना लागेमा पनि मनोबल बलियो बनाउने, शरीरमा रोग प्रतिरोधात्मक शक्ति बढाउनको लागि सन्तुलित भोजन, शारीरिक व्यायाम, कागती पानी तताएर पिउने गरियो भने हामीलाई आक्रमण गर्न सक्दैन । हामीले सोसल डिस्टेन्सिङ्गको पुरा पालना गर्नुपर्छ । भीडभाडमा जानुहुँदैन । कोरोना भाइरसको संक्रमणबाट बच्न हामी स्वयं आफै पनि गम्भीर बननुपर्छ ।