Loading... आजः ८ मंसिर २०७७, सोमबार

नरैनापुरमा ३५ जना ज्येष्ठ नागरिक सम्मानित

नरैनापुरमा ३५ जना ज्येष्ठ नागरिक सम्मानित

बाँके । बाँकेको नरैनापुरमा ९० बर्षमाथिका ज्येष्ठ नागरिकलाई सम्मान गरिएको छ । ३० औं अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसका अवसरमा नरैनापुर गाउँपालिकाले बिहीबार गाउँपालिकाको कार्यालय प्राङ्गणमा आयोजित कार्यक्रममा ६ वटै वडाका ९० बर्षमाथिका ३५ जना ज्येष्ठ नागरिकलाई सम्मान गरिएको हो ।

‘महामारीले ज्येष्ठ नागरिकहरुप्रतिको हाम्रो व्यवहारमा परिवर्तन ल्याउँछ’ भन्ने नाराका साथ आयोजित ज्येष्ठ नागरिक दिवस कार्यक्रममा गाउँपालिकाका अध्यक्ष इश्तियाक अहमद शाहले ज्येष्ठ नागरिकलाई सम्मान गर्ने संस्कारको विकास गर्न आवश्यक रहेको बताए । बुद्ध बुवाआमाको माया, इज्जत र सम्मान विनाको परिवार र समाजमा खुसी र सन्तुष्टि मिल्न नसक्ने अध्यक्ष शाहले बताए ।

प्रमुख प्रशासकीय अधिकृत महेन्द्रजंग शाहीले संविधानले नै ज्येष्ठ नागरिकलाई राज्यबाट विशेष संरक्षण तथा सामाजिक सुरक्षा प्रदान गरेको अवस्थामा उनीहरुको सम्मान र सहयोगमा कुनै कञ्जुस्याईं गर्न नहुने बताए । ज्येष्ठ नागरिकको सम्मान गर्दा मात्र सुसंस्कृत समाजको निर्माण हुने सक्ने उनको भनाई थियो । उनले ज्येष्ठ नागरिकप्रतिको व्यवहारमा परिवर्तन ल्याउन जरुरी रहेको बताए ।

गाउँपालिकाका उपाध्यक्ष जयन्तिदेवी श्रीवास्तवको अध्यक्षतामा भएको सम्मान कार्यक्रममा वडा नं.३ का अध्यक्ष राजकुमार मौर्य, जिन्सी शाखा प्रमुख भरत महतो, सूचना अधिकारी लक्ष्मीकान्त मिश्र, सामाजिक विकास शाखा प्रमुख कृष्णाकुमारी चन्दले पछिल्लो समय ज्येष्ठ नागरिकप्रतिको दायित्वबाट नयाँ पुस्ता भाग्न खोजिरहेको भन्दै जन्म दिने बुवाआमाभन्दा ठूलो भगवान अर्को कोही हुन नसक्ने बताए ।

कार्यक्रममा वडा नं.१ का अध्यक्ष मोल्हे बेहना शेष, वडा नं.२ का अध्यक्ष मसुद अहमद शाह, वडा नं.४ का अध्यक्ष दिनेशप्रसाद शर्मा, वडा नं.६ का अध्यक्ष विरेन्द्रपाल सिंह, इलाका प्रहरी कार्यालय भगवानपुरका इन्चार्ज प्रहरी निरिक्षक बसन्त गौतम, सशस्त्र प्रहरी नरैनापुर विओपीका इन्चार्ज प्रहरी निरिक्षक नरेशकुमार बाटा, गाउँपालिकाका विभिन्न शाखाका प्रमुख लगायतको उपस्थिति थियो ।