Loading... आजः १३ कार्तिक २०७७, बिहीबार
साहित्य विश्लेषण

के अपाङ्गता भएका महिलामा यौन चाहना हुँदैन ?

के अपाङ्गता भएका महिलामा यौन चाहना हुँदैन ?

झमक घिमिरे लेख्छिन्, ‘यौन चाहना नहुनु भनेको भावना नभएको व्यक्ति हुनु हो ।’ यो वाक्यले एकातिर अपाङ्गता भएका महिला र उनीहरूको यौन जीवनप्रति नेपाली समाजले अवलम्बन गर्दै आएको दृष्टिकोणलाई चुनौति दिएको छ भने अर्कोतिर अपाङ्गता भएका मानिसमा पनि यौन चाहना हुन्छ र उनीहरूको जीवनमा यौनको उत्तिकै महत्व हुन्छ भन्ने कुरामा समेत जोड दिएको छ । अपाङ्गता भएका महिलाहरू पनि अन्य सबलाङ्ग सरह सिर्जनशील हुन्छन् भन्ने कुरा समेत घिमिरे बताउँछिन् । अपाङ्गता भएका महिलाहरूले यौनिकता सम्बन्धी भ्रमलाई चिरिदिएका छन् ।

‘अपाङ्गता’ नभएका मानिसले प्राय अपाङ्गता भएका मानिसमा यौन चाहना न्यून हुन्छ वा हुँदै हुँदैन भनेर बुझ्ने वा व्याख्या गर्ने गरेको खोज अनुसन्धानले देखाउँछ । अपाङ्गता भएका महिला र उनीहरूको यौनिकता तथा नीतिका बारेमा मेरो विद्यावारिधिको अनुसन्धानका दौरान त्यस्ता सोचसँग साक्षात्कार गरेको अनुभव म स्वयंसँग छ । अझ भन्ने हो भने अपाङ्गता भएका महिलाहरूमा त झन् यौन चाहना नै पूर्णरूपमा रिक्त रहन्छ भन्ने गरेको पाइन्छ र त्यसमा प्रश्न पनि उठाइँदैन । त्यही भएर अपाङ्गता र यौनिकताका बारेमा बनाइएका नीतिहरूले उनीहरूको अधिकार र मनोविज्ञानलाई सम्बोधन गर्न सक्दैनन् । तर अध्ययन र अनुसन्धानको निचोडबाट त्यो सोच भ्रमपूर्ण रहेछ र त्यसलाई हाम्रो समाजले अझै पनि बुझ्न सकेको रहेनछ भन्ने थाहा हुन्छ ।

यो समस्या विश्वभर नभएको होइन तर नेपाल जस्तो अल्पविकसित देश, त्यसमाथि पुरुषप्रधान समाजमा भने अपाङ्गता भएका महिलाको अवस्था पुरुषको तुलनामा बढी दयनीय छ । अपाङ्गता नभएका मानिसहरूले र अझ पुरुष प्रधान समाजले त्यसको व्याख्या आफ्नो बुझाइमा आधारित भएर गरिदिँदा रहेछन्, अपाङ्गता भएका महिलाहरूको बुझाइको कोणबाट होइन । उनीहरूको शरीरलाई, यौन चाहनालाई अपाङ्गता नभएका मानिसहरूले साँच्चै बुझे जस्तो गरेर उनीहरूको शरीरमाथि, यौन चाहनामाथि आफ्नै किसिमको धारणा बनाउँदा रहेछन् । यसरी अतिक्रमण गर्दारहेछन् उनीहरूको चाहना, भावना र शरीरमाथि । हस्तछेप गर्दा रहेछन् उनीहरूको शरीरको स्वतन्त्रतामाथि । तर अपाङ्गता भएका केही नाम चलेका महिला लेखकहरूका लेखरचना तथा कृतिहरूलाई अध्ययन तथा विश्लेषण गर्ने हो भने अपाङ्गता भएका महिलाहरूलाई हेर्ने हाम्रो सामाजिक दृष्टिकोण बदलिन सक्छ ।

उनीहरूमा पनि ‘अपाङ्गता नभएका मानिसहरूमा’ जस्तै यौन चाहना हुन्छ । उनीहरू पनि आफ्नो शरीर, जवानी, यौन र यौनजन्य चाहनालाई त्यत्तिकै बुझ्न र महसुस गर्न सक्छन् । उनीहरूमा पनि यौनजन्य भावना र अनुभूति अन्य सरह हुन्छ । भावनाको सवालमा उनीहरू त्यतिकै स्वस्थकर हुन्छन् जति ‘अपाङ्गता नभएका मानिसहरू’ हुन्छन् । हामी यो पनि बुझ्न सक्छौँ कि कसरी अपाङ्गता भएका महिलाहरूलाई गलत किसिमले बुझिएको छ र कसरी उनीहरूले आफ्नो लेखनको माध्यमबाट आफूलाई स्वतन्त्र बनाएका छन् र आफूभित्रको ‘म’लाई पाठक र नेपाली समाजबीच चिनाएका छन् । हामीलाई यो पनि थाहा हुन्छ कि उनीहरूले कसरी अपाङ्गता भएका महिलाहरूमा यौन चाहना हुन्न भन्ने भ्रमलाई लेखनका माध्यमबाट चिरिदिएका छन् अर्थात् झुटो साबित गरिदिएका छन् ।

प्रायः यौनका कुरा अपाङ्गता भएका महिलाहरूको माया र प्रेमको चाहना र विवाहसँग जोडिएका छन् । यस्ता कुराको चर्चा नेपाली समाजमा बिरलै गरिन्छ । त्यसमाथि अपाङ्गता भएका महिलाका यौनका कुरा गर्नु त बर्जितजस्तै छ वा उल्लेख गर्नै लाज हुनेजस्तो गरिन्छ । अपाङ्गता भएका महिलाले विवाह गरेर बच्चा जन्माउन सक्छे भन्ने कुरामा कमै मात्र विश्वास गरिएको पाइन्छ । अझ बढी, नेपाली समाजमा छोराछोरी हुर्काउने, श्रीमानको हेरविचार पुर्याउनेजस्ता महिलाले गर्ने कामको जुन दायरा छ । त्यसको कारणले पनि अपाङ्गता भएकी महिलाले घर गरिखान सक्छे भन्ने कुरामा विश्वस्त हुन् झन् गाह्रो छ । त्यही भएर पनि यौनिकताको कुरालाई उठाएर उनीहरूलाई निर्बल पार्न खोजिएको देखिन्छ । हामी प्रायः नेपाली महिलाको सशक्तीकरण यिनै कुरामा भेट्छौं, ऊ रूपवती छ कि छैन, बच्चा जन्माउन सक्छे कि सक्दिन र घर गरिखान सक्छे कि सक्दिन, अनि यदि उसमा अपाङ्गता छ भने, ऊ शसक्तीकरण हुनबाट बञ्चित हुन्छे ।

गुणात्मक जीवनसँग मानिसको यौन चाहनाको गहिरो सम्बन्ध हुन्छ भन्ने कुरा धेरै अनुसन्धानले पुष्टि गरेका छन् । यसको अर्थ, अपाङ्गता भएका मानिस र उनीहरूको यौन चाहना र गुणात्मक जीवनको त्यत्ति नै गहिरो सम्बन्ध हुन्छ । तर यो कुरालाई थोरैले मात्र बुझेका छन् । जब अपाङ्गता भएका मानिसहरूको यौन चाहनाको कुरा हुन्छ त्यसलाई हेयको भावले हेर्ने गरिन्छ । जसले गर्दा उनीहरूको यौन जीवन र वैयक्तिक स्वतन्त्रतामा अझ चोट पुग्दछ । धेरैलाई लाग्छ, यौन चाहना र अपाङ्गता सँगसँगै जान सक्दैनन् । अपाङ्गता भएका मानिसहरूलाई, खासगरी महिलाहरूको अपाङ्गतालाई धेरैले यौन चाहना नहुनुसँग जोड्छन् । जसको कारण उनीहरू माया, प्रेम, र विवाहबाट प्राय बञ्चित रहन्छन् । उनीहरू पुरुष प्रधान समाजबाट बढी खतरामा हुन्छन् । फलतः अपाङ्गता भएका महिलालाई हेर्न समाजले सिकाएको जुन नकारात्मक दृष्टिकोण छ त्यसको कारण उनीहरूको यौन जीवन अझ खतरामा परेको छ ।

नेपालको सन्दर्भमा, अपाङ्गता भएका नेपाली नारी स्रष्टा झमक घिमिरे र पारिजात लगायत अन्य केहीले आफ्ना कृतिमा स्वयम् वा पात्रहरूको माध्यमद्वारा आफ्नो अपाङ्गता भएको शरीरलाई, उनीहरूको यौन चाहनालाई र उनीहरूप्रतिको नेपाली समाजको दृष्टिकोणलाई उल्लेख गरेका छन् । ‘जीवन काँडा कि फूल’ भन्ने आफ्नो किताबमा घिमिरे लेख्छिन्, ‘यदि मैले मेरो गर्भबाट मेरो बच्चा जन्माउन सकिनँ भने पनि मेरो मस्तिष्कबाट अनगिन्ति बच्चाहरू जन्माउन सक्छु ।’ पुरुष प्रधान समाजले महिलाको हकमा शारीरिक गर्भबाट सन्तान प्राप्तिलाई मात्र बच्चा जन्माउनु ठान्छ तर घिमिरेले त्यसलाई फरक कोणबाट बुझ्न भनेकी छन् । त्यसैगरी महिनावारीको महत्वबारे उनले भनेकी छन्, ‘महिनावारि हुनु बैँस हो, जहाँ महिलाको सुन्दरता हुन्छ, जतिबेला महिला विवाहका लागि र आमा बन्नका लागि तयार हुन्छे ।’

घिमिरे यौन, शारीरिक चाहना, प्रेम, जसलाई अपाङ्गता भएका महिलाका हकमा लागू हुने ठानिँदैन, त्यसलाई बढो महत्वका साथ उल्लेख गर्छिन् । उनी भन्छिन्, ‘जतिबेला मैले आफूलाई ऐनामा हेरँे, मैले मभित्र हुर्कंदै गरेको जवानी, मेरा उर्कंदै गरेका स्तन, मेरो शारीरिक चाहना मभित्र मैले देखेँ, म आफूलाई झन् सुन्दर भएको महसुस भयो ।’ आफूले आफूलाई हेर्दा भित्रभित्रै सल्बलाएको एक प्रकारको यौन भावको पनि व्याख्या गरेकी छन् घिमिरेले । इन्सेलरले लेखेको ‘दि भजाइना मोनोलग’ मा जस्तै घिमिरेले आफ्नो यौनाङ्गलाई देख्दा हर्षित भएको र उनको सशक्तीकरणको स्रोत उनको आफ्नै यौनाङ्ग भएको छनक दिएकी छन् । माथिको व्याख्याबाट भन्न सकिन्छ, घिमिरेले नेपाली समाजले अपाङ्गता भएका महिलाहरूलाई हेर्ने दृष्टिकोणलाई चिरिदिएकी छन् । अपाङ्गता भएका महिलाहरूमा यौन चाहना हुन्न भन्ने भ्रम र ब्रह्म ज्ञानलाई निस्तेज पारिदिएकी छन् । अर्थात् यौनका कुरा गर्न लजाउने नेपाली समाजलाई ठूलो पाठ पनि पढाएकी छन् ।

अपाङ्गता भएकी अर्की स्रष्टा पारिजातको कुरा गर्ने हो भने उनले पनि आफ्ना लेख तथा कृतिहरूमा पात्रहरूको माध्यमद्वारा यौन जीवनका र माया प्रेमका भाव र अनुभूतिहरू दर्साएकी छन् । दार्जेलिङमा जन्मिएकी पारिजात अर्थात् विष्णु कुमारी वाईवाले निस्सार प्रेमका कुरा गरेकी छन् । उनले माया प्रेमको चाहनालाई आफ्नो साहित्य लेखनमा प्रविष्ट गरेकी छन् । उनको कविता ‘रोगी प्रेमिकाको पत्र’ मा यी हरफहरू छन्, ‘मैले सोचेँ तिमीलाई एउटा मुटु पठाउन सक्थेँ तिमीलाई एउटा प्रेम पत्र पठाउन सक्थें स्वतन्त्र उडिजाने एउटा परेवाको घाँटीमा झुण्ड्याएर ।’ पारिजातले आफ्नो अपाङ्गतालाई समाजले के भन्ला भन्ने कुरालाई बेवास्ता गर्दै आफ्नो प्रेम र चाहनालाई कवितामा यसरी पोखेकी छन् । उनले छानेका पात्रहरू पनि माथिको कवितामा जस्तै कतै प्रेममा धोका खाएका, कतै प्रेमलाई व्यक्त गर्न नसकेका तर प्रेमको महत्व मानव जीवनमा कति हुँदोरहेछ भन्ने बुझेकाहरू नै छन् ।

पारिजातले कतै लेखेकी छन्, ‘सैद्घान्तिक हिसाबले यौन सम्पर्क एक स्वभाविक प्रक्रिया हो भन्ने कुरामा म मन्जुर गर्छु र सृष्टिको एउटा स्वभाविक प्रक्रिया पनि हो । यो आफँैमा सुन्दर छ अर्थात् यो प्रक्रियाको सुन्दरतासँग कुनै सम्बन्ध नभएर फगत् शारीरिक सुख र सन्तुष्टिसँग मात्रै पनि सीमित हुन सक्छ तर मैले यसभित्र सुन्दरता खोजेँ र अगि बढेँ यौन संसारलाई बुझ्न ।’ यसले पनि मानव जीवनमा यौनको महत्वलाई प्रस्ट्याउँछ र अपाङ्गता भएका महिलाले यसलाई कसरी बुझेका रहेछन् भनेर पनि देखाउँछ । यो हाम्रो जस्तो नेपाली समाजका लागि ठूलो पाठ हो । त्यसैगरी पारिजातको अर्को चर्चित उपन्यास ‘शिरीषको फूल’मा कसरी सुयोगवीर बरीको प्रेममा पर्छ, कसरी उसको प्रेममा तड्पिन्छ, कसरी आखिर प्रेम के रहेछ भनेर बुझ्छ ? त्यो देखाएर पात्रहरूका माध्यमद्वारा पारिजातले यौनजीवन, प्रेम र विवाहबारेको धारणा छर्लङ्ग देखाएकी छन् । त्यसैगरी कुनै पात्रहरूको चाहना विवाह गर्नु यौन प्राप्तिको लागि मात्र छ भने कतिको घरबार बसाल्नु पनि छ ।

पारिजातको उपन्यास ‘महत्ताहीन’मा एउटा पात्रले बोल्छ, ‘उसको नाङ्गो पाखुराको चिसो मेरो आङभरि सल्कदै थियो करेन्ट जस्तै ।’ यसमा यौन इच्छा झल्किन्छ । त्यसैगरी अर्को पात्रले भन्छ, ‘विवाह हुनु, मात्र एउटी स्वास्नी उपलब्ध हुनु थियो मेरा निम्ति, अरू महत्वाकाङ्क्षाहरू ममा केही थिएन ।’ यसले यौन चाहनाको महत्वलाई उजागर गर्छ । त्यही उपन्यासमा अन्य हरफहरू पनि छन् जहाँ एक पात्रले भन्छ, ‘सायद शिया आफ्ना फलामका खावाँजस्ता तिघ्रा नङ्ग्याएर सुतेकी होलि र ऊ, कुन्नि को हो मलाई थाहा छैन, यसको मनपरी उपभोग गरेर बसेको होला ।’ यसरी पारिजातले खुलेर यौन चाहनाको कुण्ठाका भावहरूलाई पोखेकी छन् र यसको महत्व मानव जीवनमा कति हुन्छ भनेर दर्साएकी छन् ।

यही क्रममा उपन्यासको अन्त्यतिर एक पात्रले भन्छ, ‘आफ्नु अस्तित्वलाई नै गिजोल्न इच्छा भइरहेको मलाई, यसो भनूँ, आफँैलाई मार्न इच्छा लागिरहेको मलाई आवेसले पनि सास निभ्ने गरी घाँटी अठ्याइरहेको थियो, सम्झेँ यही बेलुनसँग एकपल्ट निर्लज्ज व्यवहार किन नगराँै, किन यसैलाई नै आज अङ्गालोमा कसेर नहेरौँ ? खोई कहाँ छन् यसका इन्द्रियहरू ? किन म यसलाई नै आज बलात्कार नगरूँ ?’ अपाङ्गता भएकी अर्की महिला सावित्री कार्की कविताका यी हरफहरूमा लेख्छिन्, ‘प्रीतिको अङ्कुर यो नओईलाई सुक्न थाल्यो ।’ यस्तै खाले भाव दर्साउँछिन् अर्की अपाङ्गता भएकी महिला राधिका दाहाल उनको उपन्यास ‘पल्लो घरकी बुढी फुपू’मा । उक्त उपन्यासको एक पात्रले भन्छन्, ‘के यिनको जवान मनमा उठेका अनगिन्ति रहर र चाहनाहरूलाई यो खोक्रो समाजको बेकामी आदर्शले सधैँ कैदी बनाएरै राख्न सक्यो त ?’

यौन चाहनाका कुरा कसलाई हुँदैन भन्ने सन्देशमा एक पात्रले बोल्छन्, ‘अरे मूर्ख यस्तो त तँ जस्तो जवान पुरुषलाई मात्र होइन, बिष झरेकी नारीलाई पनि हुन्छ ।’ यसरी नेपालमा, अपाङ्गता भएका महिलाका लेखनले अपाङ्गता भएका महिलालाई हेर्ने नेपाली समाजको दृष्टिकोणलाई चुनौति दिएका छन् । यस्ता लेखनले अपाङ्गता भएका व्यक्तिलाई खासगरी महिलाहरूलाई यौन, माया, विवाह र प्रेमका कुरामा जसरी बुझिन्छ त्यो भ्रमलाई पनि चिरिदिएका छन् । अपाङ्गता भएका महिलाहरूमा यौन चाहना हुन्न, भावना हुन्न, यौन अनुभूति हुन्न, भन्ने भ्रम र पुरुष प्रधान समाजको सोचलाई गलत साबित गरिदिएका छन् यी लेखकहरूका सिर्जनाहरूले । (लेखक Sex, Gender and Disability in Nepal पुस्तकका लेखक हुन् ।)