Loading... आजः १३ कार्तिक २०७७, बिहीबार
कृषि उत्पादनमा घटबढ

जलवायु परिवर्तनले कृषिमा चुनौति

जलवायु परिवर्तनले कृषिमा चुनौति

नेपालका अधिकाँश नागरिकहरु कृषिमा निर्भर छन् । नेपालको कृषि प्रणाली धेरै हदसम्म आकाशे पानीमा निर्भर हुने भएकाले सामान्य परिवर्तनले पनि ठुलो असर पुगिरहेको छ । नेपालको कुल खेतीयोग्य जग्गाको ४० प्रतिशत भूभाग मात्र आंशिकरुपमा सिंचित छन् र यसले गर्दा पनि मौसममा आएको फेरवदलसँगै उत्पादनमा उल्लेखनिय मात्रामा ह्रास आएको देखिन्छ । नेपालको विगत दश वर्षको राष्ट्रिय खाद्यान्न उत्पादनको अवस्था हेर्ने हो भने पनि मौसममा आएको फेरवदलसँगै कृषि उत्पादनमा व्यापक घटबढ भएको देखिन्छ । यस अवस्थालाई हेर्दा पनि भोलिको दिन चुनौतीपूर्ण देखिन्छ । एक कठ्ठा जमीनमा चार/पाँच मुरी धान उत्पादन हुने ठाउँमा अहिले क्रमशः उत्पादनमा गिरावट आइरहेको देखिन्छ । विगतको तुलनामा केही वर्षयता फलफूल तथा विरुवामा फूल लाग्ने समय पनि चाँडो चाँडो भइरहेको देखिन्छ । यी तथ्यहरुलाई हेर्ने हो भने जलवायु परिवर्तनले कृषिलाई नकारात्मक रुपमा प्रभाव पारिसकेको छ ।

तापक्रम वृद्धिले पहाडी भागमा धान खेतीका लागि केही अनुकूल वातावरण देखिए पनि माथि उल्लेख गरिए अनुसार सिँचाइमा प्रतिकूल असरका कारण उत्पादकत्वमा वृद्धि हुने छैन । साथै, बाढीको कटान तथा डुबानका कारण उत्पादकत्वमा नकारात्मक प्रभाव पर्न सक्ने प्रबल सम्भावना देखिन्छ । तराईमा विशेष गरी हिउँदमा कुहिरो र बादलले आकाश ढाकिने बढ्दो क्रमका कारण हिउँदे फसल आलु, तोरी, गेडागुडी र प्याजको उत्पादनमा नकारात्मक असर पर्ने देखिन्छ । जलवायु परिवर्तन, हरितगृह प्रभाव लगायतका हानिकारक प्राकृतिक विपत्तिहरुले कुनै सिमाना तथा भुगोल हेर्दैनन् । यसकारण पनि हामी यो मामलाबाट भुलेर पनि पछि हट्न मिल्दैन । विश्वभरी कहिँ न कहिँ जलवायु परिवर्तनले बोटबिरुवा, जीवजन्तु, तथा पारिस्थिक पद्धतिलाई नै असर पारिरहेको वैज्ञानिक तथ्यहरु हामीसँगै छन् । प्राकृतिक पद्धतिसँगै जोडिएको कृषि क्षेत्र पनि यी कुराहरुबाट अछुतो रहन सक्दैन । यसकारण हामी सबैको सजगताबाट मात्रै यसको रोकावट सम्भव छ ।

विश्वका विकसित मूलुकहरुमा कृषिमा आएको हरित क्रान्तीले धेरै हदसम्म विश्वको भोकमरी, यूद्ध, खाद्यान्न संकटलाई राहात दिने कार्य ग¥यो । ६०/७० को दसकमा भएको ग्रिन रिभोलुसन र तत्पश्चात जिन रिभोलुसनले आजको कृषिको उत्पादकत्व उल्लेख्य मात्रामा वृद्धि गर्ने कार्य गरेको प्रस्ट देखिन्छ । आजको विश्व खाद्य उत्पादन हेर्दा करिव नौ अरब जनसंख्यालाई पनि प्रयाप्त हुने गरि बृद्धि भएको तथ्यांक देखिन्छ । यसरी सरसर्ती हेर्दा विश्व कृषिले व्यापक फड्को मारेकोमा हामी माझ दुइमत नहोला । तथापी आजको आधुुुनिक कृषिसँगै जोडिएर आएका विभिन्न वातावरणीय समस्याले दिगो कृषि विकासको चुनौतीलाई विश्व समुदायमा प्रमुख वहसको विषय बनाएको छ । आजको भुमण्डलिकृत विश्वको आर्थिक प्रणालीमा कृषि आफै एउटा वस्तु व्यापारको रुपमा विकास भएको अवस्था र त्यसवाट भोलिका दिनमा उव्जन सकने समस्या सम्वन्धी धनी र गरिब राष्ट्रको फरक बुझाई पनि बहसको विषय बन्ने गरेको छ । यी वहसका विषय पक्कैे पनि त्यसै उव्जेका भने होइनन् । विश्व खाद्य उत्पादनको व्यापक बृद्धि वाबजुद पनि आजको कटु यथार्थ भनेको हाल पनि विश्वमा एक अरबभन्दा बढी जनसंख्या भोकमरीको चपेटामा छन् ।

ति अधिकांश मानिसहरु दक्षिण एसिया तथा अफ्रिकाका गरिब देशहरुमा वसोवास गर्दछन् । जहाँको अधिक जनसंख्या कृषिमा निर्भर छन् । आज पनि गरिब देश भोकमरी, युद्व, खाद्यान्न संकटको चरम भूमरीबाट मुक्त हुन सकिरहेका छैनन् । विश्व खाद्य उत्पादनमा बृद्धि भए पनि गरिब देशहरु यस्तै समस्यावाट ग्रसित छन् । त्यसबाट नेपाल पनि अछुतो रहन सकेको छैन । अन्तर्राष्ट्रियस्तरमा खाद्यान्नको व्यापक मुल्य बृद्धिले गरिब मुलुक तथा गरिब जनताको खाद्यान्न माथिको पहुँचमा ठुलो प्रश्न चिन्ह खडा गरेको छ । यसरी हेर्दा आजको विश्व कृषि उत्पादन, वितरण प्रणाली र गरिबको पहुँच आफैमा जटिल बन्दै गएको कुरा प्रष्ट देखिन्छ । यो परिवेशमा जलवायू परिवर्तन थप नयाँ चूनौतीको रुपमा विश्वसामु देखापरेको छ । जलवायु परिवर्तनका विषयमा बैज्ञानिकहरुबीच फरक फरक धारणा भए पनि धेरै हदसम्म मानव सृजित हरितगृह ग्याँसको उपजको रुपमा लिइन्छ । सामान्य भाषामा भन्नुपर्दा जलवायु परविर्तन भन्नाले औद्योगिक विकासको क्रमसँगै विभिन्न हरितगृह ग्यासको व्यापक उत्सर्जनले गर्दा जलवायुमा भएको असमान्य परिवर्तनलाई बुझ्नुपर्दछ ।

जलवायु परिवर्तनको असर सबै क्षेत्रमा परे पनि त्यसको टडकारो असर कृषिमा पर्ने निश्चित छ । जलवायु परिवर्तनको असर कृषिमा प्रत्यक्ष र अप्रत्यक्ष गरी दुई किसिमले पर्ने गर्दछ । बढ्दो तापक्रमसँगै वर्षामा आएको परिवर्तनले सोझै वाली विरुवाको बृद्धि विकासमा असर गर्ने गर्दछ । साथै असामान्य वर्षा र बढ्दो तापक्रमको फलस्वरुप विभिन्न वातावरणीय समस्या जस्तै खडेरी, बाढी, पहिरो, रोग र किराहरुको प्रकोपले पनि कृषि उत्पादनमा असर पु¥याउने देखिन्छ । हालका दिनहरुमा जलवायु परिवर्तनले कृषि उत्पादनमा आएको ह्रास र भविष्यमा हुन सक्ने उत्पादन ह्रास सम्वन्धी विभिन्न अनुसन्धान भएका छन् । धेरैजसो अध्ययनले विश्वको उत्पादनमा व्यापक ह्रास आउने र अझ गरिब देशहरुको उत्पादनमा उल्लेखनीय मात्रामा ह्रास आउने देखाउँछ । यसले गरिब देशहरु झन् ठुलो खाद्य सकंटमा पर्ने निश्चित छ । यसरी हेर्दा मानव सृजित हरित गृह ग्यासद्धारा भएको जलवायु परिवर्तन यो शताव्दीकै सबैभन्दा ठुलो चूनौति हुने देखिन्छ ।

मानव सृजित आजको जलवायु परिवर्तनलाई न्युनिकरण गर्न अन्तराष्ट्रियस्तरमा प्रयासहरु नभएका भने पक्कै होइनन् । यस सम्वन्धी विभिन्न अन्तराष्ट्रिय सन्धी सम्झौता भएका छन् । जसमध्ये क्योटो प्रोटोकल एउटा वाध्यकारी सम्झौता थियो । जस अनुरुप विश्वको धनि राष्ट्रहरुले हाल उत्पादन गरेको हरितगृह ग्याँसमा सन् १९९० लाई आधार वर्ष मानि २००८–२०१२ सम्ममा ५५ कटौती गर्ने सम्झौता भएको थियो । अधिकांस राष्ट्रहरुले यसमा हस्ताक्षर गरे पनि अमेरिका जुन हरितगृह ग्यास उत्सर्जनमा प्रमूख भूमिका राख्दछ, उसले हस्ताक्षर नगरेको अवस्था छ । यस्तै हाल आएर क्यानडाले पनि क्योटो प्रोटोकलमा हस्ताक्षर गरेर ठुलो भूल भएको जसको कारणले अर्थतन्त्र नै धरासायी भएको भन्ने कुरा पनि विभिन्न सञ्चारमाध्यममा आएका छन् । अझ चाखलाग्दो कुरा के छ भने औद्योगिक राष्ट्रहरु हरितगृह ग्याँस उत्सर्जनलाई गरिब राष्ट्रको बढ्दो वन विनाश तथा वनको क्षयिकरणसँग जोडिरहेका छन् । गरिब देशलाई नै यसको दोषी मान्दछन् । धनि राष्ट्रहरु आफ्नो औद्योगिकरण न्यूनिकरण गर्नुभन्दा पनि गरीब राष्ट्रलाई वनजंगलको बृद्धि गरेर आजको समस्या समाधान गर्न प्रयासरत छन् । झट्ट हेर्दा यो निकै आकर्षक र गरिब देशलाई फाइदा हुने देखिए पनि यो आफैमा एकदमै जटिल प्रक्रिया छ ।

विभिन्न नमुना आयोजना सञ्चालन भए पनि यसको निरन्तरता र दिगोपनामा ठुलो प्रश्न चिन्ह देखिन्छ । यसमाथि गरिब देशहरुलाई प्रयाप्त खाद्यान्नको लागि कृषि भूमीको आवश्यकता झन् बढेको अवस्थामा वनजंगलको क्षेत्रफल बढाउन आफैमा कति लाभदायक होला ? अन्तर्राष्ट्रिय राजनितिक र आर्थिक प्रतिश्पर्धामा विश्व समुदायका प्रयासहरु निरर्थक हुने देखिन्छ । यस्तो परिस्थितिमा गरिब तथा विपन्न राष्ट्रहरु ठुलो संकटमा पर्ने छन् । जलवायु परिवर्तनको असर सवै क्षेत्रमा परे पनि गरिब मुलुकमा यसको टढकारो असर कृषिमा पर्ने देखिन्छ गरिब देशका कृषि प्रणालीमा कृषि प्रविधिको प्रयोग ज्यादै न्यून हुने भएको हुदा बर्षा, तापक्रमसँगै आएको परिवर्तनले कृषि प्रणली प्रभावित हुने निश्चित देखिन्छ । नेपाल पनि जलवायु परिवर्तनको असरबाट मुक्त हुन बढ्दो जनसंख्याको मागलाई धान्न कृषि उत्पादन बृद्धि गर्नुपर्ने टढ्कारो आवश्यकता महसुस भएको छ । त्यो सँगै जलवायु परिवर्तनले उत्पादनमा ह्रास आउन सक्ने चुनौती पनि समाधान गर्नुपर्ने देखिन्छ ।