Loading... आजः ५ कार्तिक २०७७, बुधबार

बझाङमा कोरोना परीक्षण प्रयोगशाला सञ्चालनमा

बझाङमा कोरोना परीक्षण प्रयोगशाला सञ्चालनमा

बझाङ । लामो समयको पखाईपछि जिल्ला अस्पताल बझाङमा कोरोना प्रयोगशाला सञ्चालनमा आएको छ । जिल्ला अस्पताल बझाङले प्रयोगशाला सञ्चालनमा आएको जनाएको छ ।

बझाङ प्रयोगशालामा परीक्षण गरिएका पाँच वटा पोजेटिभ र पाँच वटा नेगेटिभ नतिजा आएका नमुना प्रमाणीकरणका लागि डडेल्धुरा अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणपछि नतिजा समान आएसँगै बझाङको प्रयोगशालाले मान्यता पाएको हो ।

प्रयोगशालमा दैनिक २०० नमुना जाँच गर्न सक्ने क्षमता छ । जिल्ला अस्पतालका प्रमुख डाक्टर सन्दीप ओखेडाले ढिलै भए पनि कोरोना परीक्षण प्रयोगशाला स्थापना गरी सञ्चालनमा ल्याउन सफल भएको भन्दै सहयोगी सबैलाई धन्यवाद ज्ञापन गरेका छन् ।

अस्पताल स्रोतका अनुसार अब बझाङमा परीक्षणको दायरा बढाइनेछ भने नतिजा पनि छिट्टै आउने विश्वास गरिएको छ । मेडिसोलुसन इन्टरनेसनल प्रालि काठमाडौंसँग १ करोड २५ लाख ४२ हजार १०० रुपैयाँमा सम्झौता भई पीसीआर मेसिन खरीद गरिएको अस्पतालले जनाएको छ ।

जिल्ला अस्पतालका कोरोना फोकल पर्सन डा.मिलन खड्काले गत जेठ २६ गते बझाङका १२ स्थानीय तह र जिल्ला समन्वय समितिको पहलमा पीसीआर मेसिन खरीद गरिएको बताए । नगरपालिका र जिल्ला समन्वय समितिले १५ लाख र गाउँपालिकाहरुले १०–१० लाखका दरले रकम विनियोजन गरेका थिए ।