Loading... आजः १४ कार्तिक २०७७, शुक्रबार

परियोजना सल्लाहकार समितिको बैठक सम्पन्न

परियोजना सल्लाहकार समितिको बैठक सम्पन्न

बझाङ । जिल्लामा रहेको प्रगतिशिल युवा समाज संस्थाले जिल्ला परियोजना सल्लाहकार समितिको बैठक सम्पन्न गरेको छ । संस्थाले वर्ल्ड भिजनको साझेदारीमा सञ्चालन भएको एरिया प्रोगराम एसिस्मेन्ट एण्ड डिजाइन (वाल प्रायोजन) परियोजना अन्तरगत भएका कामहरुको जानकारी तथा सुझाव सल्लाह संकलनका लागि बैठक सम्पन्न गरेको हो ।

चैनपुरस्थित संस्थाको कार्यालयबाट सोमवार भर्चुअल बैठक राखी संस्थाका कर्मचारी र वर्ल्ड भिजनका कर्मचारीहरुले विगत आठ नौ महिनामा भएका कामहरु र परियोजनाको उद्देश्य साथै परियोजनाको समग्र अवस्थावारे जानकारी गराएको हो । परियोजना अवधिमा करिब १ करोड ५४ लाख खर्च भएको पनि परियोजना संयोजक यज्ञराज जोशीले जानकारी गराए ।

जोशीका अनुसार उक्त रकम यस अवधिमा जोखिममा रहेका बालबालिकालाई खाद्यन्न सामाग्री सहयोग गरेको, क्यारेन्टिन व्यवस्थापन, जिल्ला विपद व्यवस्थापन समिति र स्थानीय तहलाई व्यक्तिगत सुरक्षा सामाग्री सहयोग साथै अतिजोखिममा रहेका बालबालिकाहरुको नामनामेसी दर्ता लगायतका काममा खर्च भएको बताए । साथै उनले दर्ता गरिएका बालबालिकालाई सरसफाइ सामाग्री शैक्षिक सामाग्री वितरण गरेको पनि बैठकमा जानकारी गरेका थिए ।

त्यसैगरि भर्चुअल बैठकमा पश्चिम क्षेत्रिय कार्यालय धनगढीबाट विनयप्रकाश बराल, नारद मलासी, चेतराज भट्टराइले पनि परियोजनाको बारेमा जानकारी गराएका थिए । भर्चुअल बैठकमा कार्यक्रम लागु भएका जिल्लाका दुई स्थानीय तह जयपृथ्वी नगरपालिका र केरादस्युँ गाँउपालिकाका प्रमुख, उपप्रमुख, सामाजिक विकास समितिका संयोजक प्रमुख प्रशासकीय अधिकृत सहभागी थिए ।

यसैगरि प्रमुख जिल्ला अधिकारी कमलराज भण्डारी नेपाल पत्रकार महासंघका अध्यक्ष जगदीश रोकायासहित गैरसरकारी संघसंस्थाका प्रतिनिधिसहित सस्थाका अध्यक्षसहित परियोजनाका सम्पर्क व्यक्ति र अन्य कर्मचारी पनि भर्चुअल बैठकमा उपस्थित रहेका संस्थाका संयोजक यज्ञराज जोशीले बताए । जिल्ला समन्वय समितिका संयोजक तथा परियोजना सल्लाहकार समितिका संयोजक खडक खड्काको अध्यक्षतामा भर्चुअल बैठक गरिएको थियो ।

बैठकमा बोल्ने स्थानीय तहका प्रमुखहरुले संकटको यो बेला स्थानीय सरकारसँग सहकार्य गरि राहत सहयोग कार्यक्रम गरेकोमा परियोजनालाई धन्यवाद दिएका थिए । सहभागीहरुले दर्ता गरिएका बालबालिकाहरुको शैक्षिक सुधारका साथै आगामी दिनमा आयआर्जनका कार्यक्रमहरु सञ्चालनमा जोड दिनुपर्ने पनि सुझाव दिएका थिए ।