Loading... आजः ८ मंसिर २०७७, सोमबार
बेतिथि

उपमहानगरको बेवास्ताले खण्डहर बन्दै नेपालकै पहिलो डिजिटल शौचालय

कहाँ थन्किए नेपालगन्जका चार वटा घुम्ती शौचालय ?
उपमहानगरको बेवास्ताले खण्डहर बन्दै नेपालकै पहिलो डिजिटल शौचालय
गत माघमा डिजिटल शौचालयको उद्घाटन गर्दै नेपालगन्जका प्रमुख डा.धवलशम्शेर राणा । फाइल तस्वीर

बाँके । पश्चिम नेपालको व्यस्त शहर नेपालगन्जमा पर्याप्त सार्वजनीक शौचालयको नहुँदा पैदल यात्रुलाई सकस हुन्छ । सार्वजनिक शौचालय नहुँदा स्थानीय र आगन्तुकले सास्ती खेप्नुपर्छ । यो बाध्यता अहिले पनि उस्तै छ । नेपालगन्ज उपमहानगरका मुख्य चोकहरूमा सार्वजनिक शौचालय छैनन् । यहाँका मुख्य चोकहरूमा सवारीसाधन र पैदलयात्रुको भीडभाड नै हुन्छ ।

नेपालगन्ज उपमहानगरपालिकाले रु.५९ लाखको लागतमा खरिद गरेर चार वटा घुम्ती शौचालय ल्यायो । तर, नेपालगन्ज शहरमा सार्वजनीक शौचालयको समस्या जस्ताको तस्तै रह्यो । एसियाली विकास बैंक (एडिबी)को सहयोगमा नेपालगन्ज उपमहानगरपालिकाले ल्याएका चार घुम्ती शौचालय आजभोलि घुम्न छाडेर उपयोगविहीन भएका छन् ।

करिब तीन महिना चोक–चोकमा राखिएका घुम्ती शौचालयमा शौच गर्न ग्राहकहरू नै नआएको भन्दै ती शौचालय कहाँ थन्क्याइएको छ कसैलाई जानकारीसमेत छैन । खुला शौचको समस्या हटाउन उपमहानगरले चार वटा घुम्ती शौचालय त्रिभुवन चोक, धम्बोझी चोक, बीपीचोक, पुष्पलाल चोकलगायत सार्वजनिक शौचालय नभएका अन्य स्थानमा राख्ने गरेको थियो ।

एक बर्षयता ती घुम्ती शौचालय सार्वजनीक स्थानहरुमा देखिएका छैनन् । यसबारे कसैलाई चासो पनि छैन । ठेकेदारमार्फत् सञ्चालन गरिएका घुम्ती शौचालय प्रयोग गरेवापत निश्चित शुल्क दिनुपर्थ्यो । तर शौच गर्न आउने ग्राहकले पैसा तिर्न नमानेपछि ठेकेदार आफैंले शौचालय सञ्चालन गर्न इच्छा देखाएनन् ।

सञ्चालन खर्च नै नउठ्ने देखिएपछि शौचालय थन्क्याइए । उपयोग हुने नहुने अध्ययन नै नगरेर खरिद गरिएका घुम्ती शौचालय उपयोगविहीन भएपछि थन्क्याइएका छन् । बाहिर तथा जिल्लाका विभिन्न स्थानबाट काम लिएर आउने सेवाग्राहीलाई शौच गर्न समस्या भएपछि उपमहानगरपालिकाले घुम्ती शौचालय खरिद गरेको थियो ।

सञ्चालनमा ल्याइएका घुम्ती शौचालयबाट सङ्कलित मलमूत्रलाई प्राङ्गरिक मल बनाएर प्रयोग गर्ने उपमहानगरपालिकाको योजना बीचमै अलपत्र परेको छ । शौचालय नहुँदा नेपालगन्ज आउने अधिकांश यात्रुले दिनहुँ सास्ती खेप्नुपर्छ । अझ सार्वजनिक शौचालय अभावमा सबैभन्दा धेरै महिलाले हैरानी व्यहोर्नुपर्छ ।

सार्वजनीक शौचालयकै समस्यालाई सधैंका लागि अन्त्य गर्न नेपालमै पहिलो पटक नेपालगन्जमा डिजिटल शौचालय उपमहानगरले बनाएको छ । झण्डै दुई महिना जेनतेन सञ्चालनमा आएको शौचालय त्यसपछि खण्डहरमा परिणत हुँदै गएको छ । गत माघ महिनामा उद्घाटन गरिएको अत्याधुनिक तथा स्वचालित शौचालय अहिले बन्दजस्तै छ ।

ढोकामा डोरी लगाएर बन्द गरिएको छ भने त्यति महङ्गो र सुविधायुक्त शौचालय बाहिर दिशापिसाव गरेर दुर्गन्धीत बनेको छ । संगीतमय स्वचालित शौचालयको उद्घाटनका क्रममा नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख डा.धवलशम्शेर राणाले स्वचालित शौचालय सञ्चालनमा आउनुमात्रै उपलब्धी नभएको भन्दै यसको सहि सुदपयोगमा जोड दिएका थिए ।

उनले आफैले भनेको कुरा कार्यान्वयनमा ल्याउन नसक्दा चर्पीको सही सदुपयोग हुन पाएको छैन । शौचालयलाई सफा राख्नु आफैमा चुनौतीपूर्ण हुने भन्दै प्रमुख राणाले सबैको साथ आवश्यक भएको मेयरले उतिबेला नै बताएका थिए । शौचालयभित्र प्रवेशका लागि स्वीच थिचेपछि ढोका खुल्थ्यो, भित्र प्रवेश हुनासाथ सुमधुर संगीत बज्थ्यो ।

हात थापेपछि साबुन र पानी पनि आफै आउने प्रविधियुक्त थियो । एसएनभी नेदरल्याण्ड विकास कोषले सञ्चालन गरिरहेको स्वास्थ्य र विकासका लागि नगर सरसफाई तथा स्वच्छता कार्यक्रम अन्तरगत ४६ लाख ३६ हजार रुपियाको लागतमा स्वचालित शौचालय निर्माण गरिएको हो । मुस्किलले दुई महिना सञ्चालन भएपछि त्यसपछि भने बन्दप्राय छ ।

नेपालगन्जमा बनाइएको नेपालकै पहिलो डिजिटल शौचालय खण्डहरमा परिणत हुँदा उपमहानगरपालिकाले त्यसको संरक्षण र सञ्चालनमा कुनै चासो देखाएको छैन । शौचालयको जमीनमाथि निर्माण गरिएको संरचना फोल्डिङयुक्त छ । शौचालय भरिएमा नटबोल्ट खोलेर एक ठाउँबाट अर्को ठाउँमा सहजै लान सकिने गरी निर्माण गरिएको छ ।

नेपालगन्ज उपमहानगरपालिकाका अनुसार एसएनभी नेदरल्याण्ड्स विकास कोषले सञ्चालन गरिरहेको स्वास्थ्य र विकासका लागि नगर सरसफाइ तथा स्वच्छता कार्यक्रमअन्तरगत स्वचालित शौचालय निर्माण गरिएको हो । शौचालय बन्द भएसँगै खण्डहरमा परिणत हुँदासमेत उपमहानगरपालिकाले संरक्षणमा चासो नदिनु दुखद् विषय हो ।

नेदरल्याण्ड्स विकास नियोगले यसअघि नै चारबाहिनी चोक र मासुमण्डी नजिक ८१ लाख १६ हजार लागतमा दुई सुलभ शौचालय निर्माण गरी उपमहानगरपालिकालाई हस्तान्तरण गरिसकेको छ । पछिल्लो पटक बनेका शौचालय अत्याधुनिक छन् । योसँगै नेपालगन्ज बजारभित्र एक दर्जन सार्वजनिक शौचालय पुगेका छन् ।

तीमध्ये चारमात्रै प्रयोगमा छन् । तर, ती शौचालयहरु मर्मत सम्भार र संरक्षणको अभावमा जीर्ण बन्दै खण्डहरमा परिणत हुन थालेका छन् । भएका सार्वजनिक शौचालयलाई राम्ररी प्रयोगमा ल्याउन नसकेको उपमहानगरपालिकाले एकै पटकमा छ जनाले शौच गर्न मिल्ने गरी घुम्ती शौचालय थन्क्याइएको छ भने डिजिटल शौचालय पनि अलपत्र परेको छ ।