Loading... आजः ११ मंसिर २०७७, बिहीबार
Trending:

कोहलपुरका मौरीपालक किसान पुरमललाई ‘प्रदेश रत्न पदक’

कोहलपुरका मौरीपालक किसान पुरमललाई ‘प्रदेश रत्न पदक’

बाँके । नेपालमा अतिनै दुर्लभ अवस्थामा पुगेको पुतको मौरीको संरक्षणमा जुटेका छन् एक पूर्वसैनिक । उनले पाँच वर्षदेखि यो मौरी पालिरहेका छन् । बाँकेको कोहलपुर नगरपालिका–११, बसपार्क बनबाटिका ५० वर्षीय पुरमल बस्नेत नेपाली सेनाका सेवा निवृत्त सुवेदार हुन् । २० वर्ष सेनाको जागिर खाएका उनी अहिले माहुरीपालक कृषकका रुपमा परिचित छन् ।

अन्य जातका माहुरीसँगै उनले लोपोन्मुख पुतको मौरी पनि पालिरहेका छन् । यिनै कृषकलाई प्रदेश ५ सरकारले प्रदेश रत्नबाट विभूषित गर्ने निर्णय गरेको छ । संविधान दिवसको अवसरमा व्यवसायीकरुपमा पुत्का माहुरी पालेर उदाहरणीय कार्य गरेको भन्दै बस्नेतलाई प्रदेश रत्न पदक दिने निर्णय गरेको हो । पुतको मौरी अत्यन्तै सानो र डंकरहित मौरी हो ।

यो मौरी बाँके बर्दियाको निकुञ्ज क्षेत्रमा पाइने भए पनि अहिले लोप हुने अवस्थामा पुगेको छ । यसको संरक्षणको लागि अहिलेसम्म कसैबाट ठोस पहल भएको छैन । हेर्दा झिंगाजस्तो देखिने अत्यन्तै सानो तर मौरीको वर्गमा पर्ने पुतको मौरी समुन्द्र सतहदेखि १ हजार फिटसम्मको उचाईमा रहेका जंगलको विभिन्न जातका रुखका टोड्कामा पाइन्छ ।

स्थानीय थारु भाषामा पुतको मौरीलाई ‘मगरासा’ भनिन्छ । यो जातको मौरीको बैज्ञानिक नाम ‘मेलिपोना’ हो । यो मौरीको मह अत्यन्तै बहुउपयोगी र बहुमूल्य मानिन्छ । बस्नेत विगत पाँच वर्षदेखि यो मौरीको संरक्षणमा लागेका हुन् । उनीसँग यस मौरीको पाँच वटा घार रहेका छन् । उनले पाँच वर्षयता अध्ययनमै रहेकाले मैले मह निकालेको छैनन् ।

‘घार बनाएर व्यावसायिकरुपमा पाल्नु भन्दा पनि यसको बारेमा आफूलाई राम्रो जानकारी नभएकाले अरु मौरीसँगै राखेर पाल्दै आएको छु,’ उनले केही समय पहिला एक भारतीय मौरी पालक किसान आफूकहाँ आउँदा पुतको मौरी देखेर भनेको कुरा सुनाउँदै भने, ‘तिमीहरु भएको सुन फालेर नुन बटुल्छौं । यो मौरी सुनभन्दा पनि महंगो र अमूल्य छ । यसको संरक्षण गर ।’

लामो समय नेपाली सेनामा जागिरे जीवन विताएका बस्नेतले अवकासपछिका पाँच वर्ष अफगानिस्तानमा बिताए । मासिक १ हजार ५०० अमेरिकी डलर तलव पाउने जागिर छाडेर उनी नेपाल फर्किएर व्यावसायिक मौरीपालनमा लागेका छन् । यसैक्रममा उनले पुतको जातको मौरी पाल्न र संरक्षण गर्न सुरु गरे ।

प्रकृतिको संरक्षण, खासगरी बाघको संरक्षणमा पुतको मौरीले ठूलो भूमिका खेल्ने मानिन्छ । यो मौरी पाइने ठाउँमा बाघ र सर्पको समेत बास हुने बस्नेतले बताए । उनले भने, ‘बाँके र बर्दिया राष्ट्रिय निकुञ्ज बाघको संरक्षणको लागि अत्यन्त उपयुक्त छ र यो ठाउँको करिब १ हजार फिटसम्म उचाइमा पुतको मौरी रहने गरेको मैले पाएको छु ।’

सामुदायिक वनले टोड्का भएका रुख काटेर निकाल्ने तथा निकुञ्जमा लाग्ने डढेलोका कारण यो मौरीको बासस्थान जोखिममा रहेको बस्नेतले चिन्ता व्यक्त गरे । उनले दक्षिण भारतको केरला तथा पश्चिम बंगाल लगायतको क्षेत्रमा यस्तो मौरीको संरक्षण र व्यावसायिक पालन सुरु भएको भए पनि नेपालमा भने कसैलाई जानकारी नभएको गुनासो गरे ।

उनले भने, ‘राज्यले नै संरक्षण गर्नुपर्ने ठाउँमा मैले आफ्नै खर्चमा अध्ययन र अनुसन्धान गर्छु भनेर कृषि मन्त्रालयमा विभिन्न ठाउँको सिफारिस संकलन गरेर पठाएँ तर अर्थ मन्त्रालयले पैसा छैन भनेर फाइल फिर्ता पठाइदियो ।’ बाघ संरक्षणको लागि निकुञ्जमात्रै खोलेर नहुने भन्दै उनले बाघलाई बस्ने वातावरणसमेत बनाउनुपर्नेमा जोड दिए ।

भारतका केही प्रान्तहरुमा बाघको संरक्षणको लागि पुतको मौरीको समेत संरक्षण र अध्ययन हुने गरेको आफूलाई जानकारी भएको बताए । उनले भने, ‘मैले व्यक्तिगत तवरले यसको बारेमा जान्न खोज्दा उनीहरु मलाई कुनै पनि जानकारी दिन मान्दैनन् तर, राज्यको तर्फबाट पहल भए यसको अध्ययन र अनुसन्धानमा सहयोग गर्न सकिने आश्वासन पाएको छु ।’

उनले अध्ययन र अनुसन्धानका लागि राज्यले उचित वातावरण बनाइदिन कन्जुस्याइ गरेको बताए । उनले बाँकेको कचनापुरका एक युवक पुतको मौरीको महको प्रयोगका कारण आँखा देख्नसक्ने भएको दावीसमेत गरे । बस्नेतले भने, ‘यो मौरीको मह अत्यन्तै उपयोगी रहेको स्थानीय रैथाने थारु समुदायले भन्ने गरेका छन् ।’