Loading... आजः ५ कार्तिक २०७७, बुधबार
संघर्षको कथा

मनकुमारीका दुख : ‘श्रीमानले दोश्रो विवाह गरे, चार छोराछोरी र आमालाई एक्लै पाले’

मनकुमारीका दुख : ‘श्रीमानले दोश्रो विवाह गरे, चार छोराछोरी र आमालाई एक्लै पाले’

बाँके । नेपाली समाजमा रहेको एउटा कुरीति बहुविवाहलाई निरुत्साहित गर्ने भन्दै २०७५ भदौदेखि लागु भएको देवानी संहितामा दोस्रो विवाह स्वतः बदर हुने व्यवस्था गरिएको छ । यो कानुन कार्यान्वयनमा आँउदा बहुविवाहजस्तो कुरीतिको अन्त्य गर्ने प्रयासस्वरूप ल्याइएको भन्दै स्वागत भएको थियो ।

पछिल्लो समय बहुविवाहको सङ्ख्या घटेको समाजशास्त्रीहरू बताउँछन् । तर अझै पनि १५ देखि ४९ वर्षका विवाहित महिलामध्ये करिब चार प्रतिशतले आफ्ना श्रीमानकी दोस्री श्रीमती रहेको बताएको स्वास्थ्य तथा जनसाङ्ख्यिक सर्वेक्षणमा उल्लेख छ । बहुविवाह गर्नेमध्ये अधिकांश पुरुष नै रहेको बताइन्छ ।

नयाँ कानुनमा श्रीमती हुँदाहुँदै दोस्रो विवाह गरेमा स्वतः बदर हुने प्रावधान राखिएको छ । यस्तै बहुविवाह गरेको ठहर भएमा एकदेखि तीन वर्षसम्मको जेल सजाय हुन सक्ने उल्लेख गरिएको छ । उक्त कानुनले बहुविवाह गरेको ठहर भएका व्यक्ति सरकारी जागरिका लागि अयोग्य हुने स्पष्ट रूपमा उल्लेख गरेको छ ।

दोस्रो विवाह गरिएको थाहा भएको तीन महिनाभित्र उजुरी गर्नुपर्ने भन्ने पनि स्पष्ट उल्लेख गरिएको छ । तर पहिला महिलाहरुले श्रीमानले दोश्रो विवाह गर्दा कुनै कानुनी कारवाहि भोग्नुपर्थेन । कतै भने सामाजिकरुपमा र आर्थिकरुपमा जरीवाना तिर्ने गरिएको थियो । त्यो समयमा श्रीमानले दोश्रो विवाह गरेको खण्डमा महिलाहरुले शारीरिक, मानसिकसँगै सामाजिक र आर्थिकरुपमा पनि विभिन्न समस्याहरु झेल्ने गरेका थिए ।

उदाहरणका लागि नेपालगन्ज–१ धम्वोझीकी ६२ वर्षिय मनकुमारी गुरुङलाई लिन सकिन्छ । दैलेखमा जन्मिएकी मनकुमारी गुरुङको १५ वर्षको उमेरमा भागी विवाह भयो । विवाहको बारेमा जानकारी नहुँदै सानैमा विवाह भएको सम्झँदै उनले भनिन्, ‘साथीको उस्कावटले विवाह गरे । त्यतिवेलामा बच्चा कसरी जन्मिन्छ भन्ने कुरा पनि थाहा थिएन ।’

उनका श्रीमान दैलेखमै नेपाल प्रहरीमा जागीर गर्थे । श्रीमानको मनकुमारीकी साथीसँग चिनजान थियो । चिनेजानेको भएका कारण सहज हुन्छ भनेर साथिले विवाह गर्नका लागि मनकुमारीलाई फकाईरहेकी थिइन् । अन्ततः विवाह गर्नैपर्छ भनेर मनकुमारीका सबै लुगा झोलामा लिएर साथी हिडिन् । श्रीमान प्रहरीमा भएका कारण भागेको एक हप्ता उनीहरु सुर्खेतमा आएर लुकेर वसे ।

‘चार भाईकी कान्छी बहिनी थिए । दाजुभाईको धेरै मायाले पुलपुलिएर दुःख नपाएको हुनाले के होलार भनेर साथीसँगै हिडे । विवाहपछि यस्तो होलार भन्ने कहाँ थाहा थियो र ?’ विवाह चाडै हुनुको कारणबारे अझै प्रष्ट पार्दै उनी भन्छिन्, ‘माइतीले खोसेर लैजान्छन् कि भनेर सुर्खेतको हटियाघर नजिकै सात दिन लुकाएर राखियो । खाना खान र शौचालय जान मात्र पाइन्थ्यो । नत्र चुपचाप लुकेर बन्दीजस्तै भएर बस्यौँ ।’

भात खानका लागि दशैँ कुर्नुपर्थ्यो

दैलेख सदरमुकाम बजार नजिकै जन्मिएकी उनले दुःखको अनुभूत गर्न पाइनन् । एक दिदी र ४ दाजुभाइ थिए । दिदीको विवाह भइसकेको थियो । दाइहरुको घरमा एउटा मात्र बहिनी भएकाले उनले खासै काम गर्नुपरेन । तर विवाहपछि श्रीमानको घर धादिङ पुग्दा उनका दुःखका दिन सुरु भए ।

पहिलो पटक दुखलाई अनुभूति गरेको सम्झदै उनि भन्छिन्, ‘कहिलै नखाएको कोदोको ढिडो खानुपर्यो । सुरुमा खाँदा कत्ति मीठो लागेन तर विस्तारै मीठो लाग्दै गयो ।’ धादिङमा धेरै धान नफल्ने भएकाले हरेक दिनको खाना ढिडो भएको उनी सम्झन्छिन् । पहाडमा महिलाहरुले शारीरिकरुपमा अन्य दुख पनि धेरै नै भोग्नुपर्छ । खानासँगै काममा पनि दुख थियो ।

‘दैलेखमा जस्तो दालभात खानका लागि दशैँ कुर्नुपथ्र्यो । धान फल्थ्यो तर आएका पाहुनाहरुलाई खुवाउन ठिक्क हुन्थ्यो,’ उनी अझै अगाडि थप्छिन्, ‘दशैँ आएपछि मात्र माछा, मासुसँगै भात खान पाइन्थ्यो ।’ घरधन्दा र वस्तुभाउका लागी आफूभन्दा ठुला घाँस, दाउरा, स्याउलाको भारी बोक्नुपर्थ्यो । विहानदेखि साँझसम्म खेतवारी र घरको काम गर्नुपथ्र्यो ।

 विवाहपछि कहिल्यै नछुटिएका दम्पती सधैंका लागि छुटिए

अझ सबैभन्दा ठुलो दुःख त श्रीमानले अर्को विवाह गरेपछि भयो । विवाहपछि कहिल्यै नछुटिएका श्रीमान श्रीमति सधैका लागि छुटिए । यसको कारणबारे उनि फेरी भन्छिन् ‘३ छोरा र १ छोरी जन्मिसकेका थिए, उहाँले बन्ध्याकरण गर्नुभएको थियो । तर पनि अर्को विवाह गर्नुभयो ।’

श्रीमानले दोश्रो विवाह गर्नुअघिको समय सम्झदै उनी थप्छिन् ‘धादिङ घरमा हुँदा घरपरीवार, छरछिमेक, सासु नन्द सबै चिनेजानेकाले श्रीमान बाहिर अन्य केटिहरुसंग सम्वन्ध वनाइरहेको सुनाउथे । माइती नजिक थिएन । चिनेजानेका कोहि थिएनन् । त्यसैले अन्याय सहनुसम्म सहेँ । तर सहन नसकेपछि काखको छोरा छोडेर छोरी लिएर माइती आए ।’

उनले यो समयमा मानसिकरुपमा धेरै दुःख झेलेको बताइन् । उनले दैलेखमा रहेको माइती आएको एक महिनापछि मात्रै श्रीमानसँग छोडेको छोरालाई आफूसंग ल्याइन् । यता माइतीमा सुख पाइन्छ कि भन्ने आशामा आएकी उनले धेरै संर्घष गर्नुपर्यो । उनि माइती सधैंका लागि फर्केर आएकी थिइन् । तर उनका चार दाजुभाईको विवाह भएर सबै अलगअलग घर वनाएर बसेका थिए ।

आमा कान्छो दाईसँगै बसेकी थिइन् । मनकुमारी दैलेखमा आएपछि उनकी आमाले छोराहरुसँग भन्दा पनि उनीसँगै बस्ने निधो गरिन् । ‘आमाले यहाँ वस्न सक्तिन, तँ संगै वस्छु भनेपछि ४ छोराछोरी र आमालाई पनि मैले नै पाल्नुपर्यो । आमा मेरै काखमा वित्नुभयो ।’ मनकुमारी आमाको लागी गरेको संर्घष सम्झन्छिन् ।

गाउँलेहरु मर्द हो भन्थे

आमा बसेको घर सानो र चुहिने थियो । आमाको लागी भएपनि त्यो घर राम्रो र व्यवस्थीत बनाउनुपर्छ भन्ने उनलाई लागेको थियो । तर कसरी बनाउने ? कहाँबाट पैशा ल्याउने भन्ने उनलाई थाहा थिएन । तर उनलाई यो काम गर्न सक्छु भन्ने आँट थियो । आफ्नो आँट र मेहनतले यो सपना पनि साकार भएको बताउँदै उनी भन्छिन्, ‘आमाको लागि भए पनि २ तले टिन लगाएको घर बनाउन धेरै मेहनत काम गर्नुपर्यो ।’

अझै अगाडि थप्छिन्, ‘मध्यरातमा ३ वजे उठेर घरधन्दा गर्थे, बाख्रा, कुखुरा सबै पालेको थिए, मैले काम गरेको देखेर गाँउलेहरु सबैले यो त आइमाई होइन मर्द हो भन्थे ।’ मनकुमारी वजार जाँदा पनि उनले पालेका कुखुराहरु उनको पछि लागेर आउथे । यो दिन सम्झदँै हाँस्दै उनि भन्छिन्, ‘गाँउलेहरु तिमीसंगै तिम्रा छोराछोरीहरु पनि आए है भन्थे, पछाडि फर्केर हेर्दा कुखुराहरु लाइन लागेर आइरहेका हुन्थे ।’

यसरी एक्लैले धेरै दुख र संर्घष गरेरै उनले छोराछोरी पढाइन् । कान्छो छोराले स्नातक पुरा गरेका छन् । छोरी पनि १२ कक्षा पास भइसकिन् । २ छोराले धेरै पढ्नन् । तर सबैले अहिले आफ्नै घरधन्दा गरेर वसेका छन् । जीवनमा धेरै दुःख पाएकी उनी अहिले खुसी छिन् । जीवनमा सधैं खुशी हुदैन रहेछ र दुख पनि हुँदैन रहेछ भन्ने महसुस गरेको बताउँछिन् । उनका श्रीमान अर्की श्रीमतिसँगै छन् ।

श्रीमानसँग छुट्टिएर एक्लै वस्न थालेको पनि २० वर्ष भयो । ‘कहिलेकाहिँ आजभोली श्रीमानले फोन गरेर अब आनन्दले खाँउ भन्छन्, खाने उमेरमा खान पाइएन । अहिले खाएको कुरा पच्दैन यस्तो समयमा के खाँउ ?’ उनले भनिन् । अहिले उमेरका कारणले जस्तोसुकै खाना खाँदा पनि नपच्ने उनी बताउँछिन् । उमेर अनुसार खाना खानुपर्ने कुराको उनलाई ख्याल भइसकेको छ । तर पहिलेको जस्तो खानाका लागी उनलाई दुख छैन ।

अहिले उनको दैलेखमा पनि घर छ र नेपालगन्जको धम्वोझीमा पनि घर छ । उनका छोराछोरीले उनको स्वास्थ्यको पनि ख्याल राख्छन् । ‘कसैको साथ नपाए पनि आँट र मेहनत गर्ने मान्छेलाई भगवानले सधै साथ दिने रहेछन्,’ उनले भनिन् ‘मैले बाख्रा पाल्दा पनि एउटा बाख्राले सधैं दुई वटा पाठापाठी दिन्थ्यो । मेरो मेहनत देखेर भगवानले पनि साथ दिनुभयो । आज म खुशी छु ।’