Loading... आजः १३ कार्तिक २०७७, बिहीबार
कोरोना कहर

अन्तरवार्ता : ‘कोरोना संक्रमणबाट जोगिन जनचेतना अभिवृद्धि नै महत्वपूर्ण’

अन्तरवार्ता : ‘कोरोना संक्रमणबाट जोगिन जनचेतना अभिवृद्धि नै महत्वपूर्ण’

कोरोना भाइरस (कोभिड–१९) ले संसार आक्रान्त छ । संक्रमित हुने देश, संक्रमित हुने र निधन हुनेको संख्या बढिरहेको छ भने उपचारपछि निको भएकाहरुको संख्या पनि बढेको छ । यस भाइरसका विरुद्ध लड्न संसार एकजुट भएको छ । विभिन्न देशले लकडाउन गर्ने तथा अन्य विशेष सावधानी अपनाउँदै आएका छन् । नेपाल पनि चैत ११ गतेदेखि लकडाउन भदौं महिनाको अन्त्यसँगै हटाइएको छ । जनजीवन सामान्य बन्दै गइरहेको छ । तर, कोरोनाको संक्रमण दर भने झनझन् बढिरहेको अवस्थामा छ ।

लकडाउनले जीविकोपार्जनका माध्यम प्रभावित बनेकाले भोकमरी हुन नदिन राहत बितरणमा पनि स्थानीय तहले उत्तीकै जिम्मेवारीपूर्वक कार्य गर्नुपर्नेछ । यसैले स्थानीय तह स्वःस्फूर्त सक्रिय बनेर कोराना भाइरसविरुद्ध उर्जाका साथ लड्नुपर्नेछ । स्थानीय तहले नेपाल सरकारका मापदण्ड र कार्ययोजना अनुसार कार्य गर्दै स्थानीय तहले आफूलाई सक्रिय राख्दै प्रभावकारी कार्य गरिरहेका छन् र अझै गर्नुपर्नेछ । यसै सन्दर्भमा कोरोना भाइरस रोकथाम तथा नियन्त्रणमा स्थानीय सरकारले खेलेको भूमिकाबारे तिला गाउँपालिका जुम्लाका प्रमुख प्रशासकीय अधिकृत नमराज सापकोटासँग पत्रकार विजय रावतले गरेको कुराकानी  :

 

तिला गाउँपालिकामा अहिले कोरोना भाइरस संक्रमणको अवस्था कस्तो छ ?

  • प्रश्नको लागि धन्यवाद, यस तिला गाउँपालिकामा कोरोनाको संक्रमण करिव नियन्त्रणमा रहेको अवस्था छ । पछिल्लो अवस्थामा कालिकोट जिल्लाको नाग्मा, रतडा र जुम्लाकै हिमा नजिक रहेको वडा नं १ र ७ का केवल ३ जना आइसोलेसनमा हुनुहुन्छ । हामीले सुरुदेखि अपनाएको नीतिगत व्यवस्था र कामबाट कोरोना भाइरस समुदायमा फैलिएको छैन ।

कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका के कस्ता चुनौति रहेका छन् ?

  • प्रमुख चुनौती भनेको कोरोना भाइरसको खतराप्रति जनताको चेतनास्तर आवश्यक मात्रामा विकास हुन नसक्नु सामाजिक दुरी, मास्कको प्रयोग र साबुन सेनिटाइजरको प्रयोग गरी सुरक्षित रहने बानीको प्रयाप्त विकास हुन नसक्नु साथै निकट भविश्यमा नेपालीहरुको घर आगनमा आइरहेको चाडवाडमा हुने भिडभाडबाट आउन सक्ने खतरा आदी रोकथाम र नियन्त्रणका चुनौतीहरु हुन् ।

कोरोना भाइरसको नियन्त्रणका लागि के–के गर्नुभएको छ ?

  • नियन्त्रणका लागि गाउँपालिकाले आफ्नै लगानीमा ५२ बेड क्षमताको आइसोलेसन केन्द्र निर्माण गरेको छ । पोजिटिभ देखिएका नागरिकलाई केन्द्रमा राखी उपचार गरी नेगेटिभ देखिएपछि घरमा पठाउने र एक हप्ता होम आइसोलेसनमा राखी उपचार गर्ने, पोजिटिभ देखिएका नागरिकसँग सम्पर्कमा रहेका नागरिकहरुलाई ट्रेसिङ्ग गरी पीसीआर चेक गरी उपचारको व्यवस्था मिलाउने कार्य गरी आएका छौं । निकट भविश्यमा नेपाल सरकारको नीति अनुसार पाँच वेडको कोरोना अस्थायी अस्पतालको समेत निर्माण गर्दैछौं ।

अहिले विदेश तथा भारतबाट आएका व्यक्तिलाई क्वारेन्टाइनमा राख्ने गरिएको छ कि घर ?

  • हामी जिल्ला प्रकोप व्यवस्थापन समितिको निर्णय एवं निर्देशन र पालिकाको स्थानियस्तर प्रकोप व्यवस्थापन समितिको निर्णय अनुसार कोरोना सम्बन्धी कार्य गरिआएका छौं । पछिल्लो समय सार्वजनिक सवारी साधन नचलेको र रिजर्भ गरी जिल्लाभित्र भित्रिने नागरिकको मात्रा नगन्य हुँदा हामीले बाहीरबाट आउने नागरिकलाई घरमा दुरी कायम गरी निश्चित समयसम्म बस्न सक्ने गरी व्यवस्था मिलाएका छौं ।

संघ सरकार तथा प्रदेश सरकारको सहयोग कस्तो पाइरहनुभएको छ ?

  • हामी स्थानीयस्तरका सरकारका लागि प्रदेश तथा संघ सरकारबाट सबै भन्दा ठुलो अपेक्षा नीतिगत स्पष्टता र आर्थिक सहयोग हो । यस पूर्व संघ सरकारबाट गत चैत्रमा कुनै पनि शीर्षकबाट रकमान्तर गरी कोष खडा गर्न सक्ने व्यवस्था र प्रदेश तथा संघ सरकारबाट आर्थिक सहयोगसमेत प्राप्त भएको छ । यद्यपी यो पर्याप्त भने छैन । हामीसँग भएको सिमित श्रोत साधनको प्रयोग गरी कोरोना भाइरसविरुद्धमा उभिएका छौं । हामी हाम्रो क्षमता र सामथ्र्यले भ्याएसम्म कोरोना भाइरसविरुद्धमा लड्नेछौं । हाम्रो आग्रहलाई मानिदिनोस् सबै घरमै बस्नुहोस् । समाजसँग दुरी कम गर्नुहोस् । हामी त्यसै त शिक्षा, स्वास्थ्यले पछि छौ, अझ त्यसमा पनि यो कोरोना भाइरसको संक्रमण हाम्रोमा भेटियो भने त्यसले हामीलाई उठ्न दिँदैन । त्यसैले आजको आवश्यकता भनेको हामी सबै मिलेर कोरोना भाइरसविरुद्ध सामना गर्नु हो ।

गाउँपालिकाबासीको साथ सहयोग कस्तो छ ?

  • गरीबी र बेरोजगारीबाट पीडित यस तिलाबासीको आर्थिक अवस्था तुलनात्मक रुपमा कमजोर रहेको छ । जसबाट मास्क, स्यानिटाइजर, साबुनजस्ता सामाग्रीको प्रयोगमा कठिनाई छ । साथै उपरोक्त बस्तुहरुको सुपथ मुल्यमा उपलब्धतासमेत छैन । समाजिक दुरी लगायतका बिषयमा भने चेतनास्तर बढ्दै गइरहेको छ ।

अगामी दिनमा स्थानीय तहमा संक्रमण फैलन नदिने योजना के छ ?

  • कोरोना संक्रमणबाट जोगिन जनचेतना अभिवृद्धि नै महत्वपूर्ण कुरा हो । विगतदेखि नै हामीले जनचेतना अभिवृद्धिलाई जोड दिएका छौं । कन्ट्रयाक्ट ट्रेसिङ्ग, आइसोलेसन केन्द्र व्यवस्थापन, कोरोना अस्पताल निर्माण, पोजेटिभ देखिएका बिरामीहरुको उपचार लगायतका काम गरी संक्रमण नियन्त्रणमा संलग्न रहने योजना रहेको छ । साथै आवश्यक औषधि, मास्क, स्यानिटाइजर, पिपिई सेट लगायतका सामानहरुको समयमा आपूर्ति सुनिश्चित गर्न समयमा खरिद प्रक्रिया अगाडि बढाउने योजनासमेत तय भएको छ । उपलब्ध स्रोत र साधनलाई व्यवस्थित गर्दै सोही अनुसार योजना बनाएर अघि बढिरहेका छौं ।