Loading... आजः ५ आश्विन २०७७, सोमबार
सामाजिक अपराध

कर्णाली र सुदुरपश्चिममा छाउपडी : ‘देउताको डरले छाउगोठमा मर्न तयार समाज’

कर्णाली र सुदुरपश्चिममा छाउपडी : ‘देउताको डरले छाउगोठमा मर्न तयार समाज’
धेरै महिला, किशोरी जलेर मर्ने, बलात्कृत हुने लगायतका घटना घट्न थालेपछि किशोरीहरु संगठित भए । १५/२० जना किशोरीहरु मीलेर छाउप्रथाविरुद्ध जुलुस निकाले, गोठ भत्काए । तर उनीहरुलाई कसैले सुनेनन् । सुनेर पनि वेवास्ता गरिदिए । तर केहि परिवर्तन भएन ।

महिलाहरु रजस्वला हुनु प्राकृतिक नियम हो । रजस्वला हुँदा शारीरिक पीडा एकातिर छ, अर्कोतिर सामाजिक, धार्मिक, सांस्कृतिक र परम्परागत चलनले भोग्नुपर्ने पीडा छ । महिलाहरुले अहिले २१ औं शताब्दीमा आएर पनि भूगोल अनुसार फरक फरक विभेद भोगिरहेका छन् । तर सबै महिलाहरुको पीडा उस्तै उस्तै छ । रजस्वला हुँदा सरसफाईको कमी र समस्या देखिँदा भन्न लाज मान्ने कारणले स्वास्थ्यमा समस्या छ । जस्तोसुकै गम्भीर समस्या भए पनि उपचारका लागि नजाने र यस विषयमा खुलेर बोल्न नमान्ने प्रवृति अझै पनि छ ।

नेपालमा कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशमा छाउपडी प्रथा कायमै छ । सबैभन्दा बढि अछाम जिल्लामा छाउपडी गोठमा दर्जनौंले ज्यान गुमाइसकेका घटना छन् । सरकारी तथा गैरसरकारी संघसंस्थाको पहलमा ती गोठहरु भत्काइए पनि छाउप्रथा हट्न सकेन । महिला तथा किशोरीहरु छाउगोठमा आगोले जलेर, बलात्कृत भएर, सापकिराले टोकेर वर्षेनी ज्यान गुमाइरहेका छन् । यस्तो जर्जर घटना घट्दा पनि परम्पराका छोड्न सकेको देखिदैन । देवीदेउताको श्राप लाग्ला कि भन्ने डर कायमै छ ।

७७ प्रतिशतले छाउपडी बार्छन्

दैलेख जिल्लामा गरिएको एक अध्ययन अनुसार, ७७ प्रतिशत महिलाहरूले छाउपडी अभ्यास गरेका छन् । ३२ प्रतिशत महिलासँग नोवेम्भर महिनामा रजस्वलाका कारण काममा नगएको र २७ प्रतिशत महिलासँग गएको वर्षमा रजस्वलाका कारण विद्यालय नगएको अनुभव छ ।

 

(स्रोतः बाथ विश्वविद्यालय, विविसी, ६ डिसेम्वर २०१९)

अछाममा १० वर्षमा १४ जनाको छाउगोठमा मृत्यु

– २०७६ मंसिर १५ गतेराति अछामको साँफेबगर नगरपालिका–३ सिद्धेश्वरकी २१ वर्षीया पार्वती बुढा रावतको छाउगोठमा धुवाले निसास्सिएर मृत्यु भयो । लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान चलिरहेको बेला रावतको ज्यान गएको थियो । रावतको छाउगोठमा मृत्यु भएको प्रकरणमा प्रहरीले उनका जेठाजु छत्र रावतलाई २०७६ मंसिर १९ गते पक्राउ गरेको थियो ।

– २०७५ जेठ २९ गते तुर्माखाँद गाउँपालिका ४ जया गाउँकी १८ वर्षीया किशोरी पार्वती बुढाको महिनावारी बार्न छाउगोठमा सुतेको अवस्थामा सर्पले डसेर मृत्यु भयो । साथी राधिका बुढासंगै गोठमा सुतिरहेको बेला छाना माथि रहेको सर्प पार्वतीको शरीरमा खसेको र औलामा टोकेको राधिकाले जानकारी दिइन् । परिवारका अन्य सदस्य गाउँको घरमा रहेकोले ढिलो गरी मात्र खबर बाहिर आउँदा उपचारको अभावमा उनको ज्यान गएको थियो ।

– २०७४ जेठमा तुर्माखादकी २२ बर्षिया गौरी बुढाको छाउगोठमा निसासिएर मृत्यु भयो ।

– २०७३ पुष ४ गते गाज्रा–७ की १५ वर्षीया रोशनी तिरुवाको धुँवाले निसास्सीयर मृत्यु भयो । त्यही गोठमा महिनाबारी हुँदा बसेको अवस्थामा रोशनीकी आमासमेत धुवाँले निसास्सिएपछि मध्यरातमा निस्किएकी थिइन् । छाउपडी निवारण परियोजनाअन्तर्गत २०७२ असोज ९ गते गाज्रालाई महिला तथा बालबालिका कार्यालयले सेभ दी चिल्ड्रेनको सहयोगमा छाउपडी गोठमुक्त घोषणा गरिएको थियो ।

– २०७३ मै तिमिल्सेन–७ की डम्बरा उपाध्यायले पनि रोसनीको घटनाको केही साताअघि छाउपडी गोठमै ज्यान गुमाएकी थिइन् ।

– २०६८ मा रिडिकोट–४ की १५ वर्षीय शर्मिला भुलको छाउपडी गोठमै धुवाँले निसास्सिएर ज्यान गएको थियो ।

– २०६८ माघ १९ मा ढकारी–४ की लक्ष्मी बुढाको गोठमै आगोले जलेर ज्यान गएको थियो ।

यी त बाहिर आएका घटना मात्र हुन् । प्रत्यक्ष महिलाहरुले भोग्नुपरेका घटना हुन् । महिलाहरुले अप्रत्यक्ष रुपमा कति घटना भोगेका छन् एकिन छैन । विभिन्न निकायको तथ्यांकअनुसार २०७६ सम्म अछाममा एक दशकको अवधीमा १४ जना महिला तथा किशोरीको छाउगोठमा ज्यान गएको बताइएको छ । मानिस तथा जंगली जनावरको डरले ढोकाबाहेक अन्य कुनै पनि भाग खाली नराखेर बनाइने छाउपडी गोठमा जाडोयाममा आगो बाल्ने र सुत्दा आगो ननिभाएर सुत्नाले अधिकांशको ज्यान निसास्सिएर जाने गरेको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ । अछामको साँफेबगर नगरपालिकाकी उपप्रमुख बिर्मलादेवी बुड्थापाका अनुसार अहिले पनि नगरपालिका क्षेत्रभित्र करीब ४५ प्रतिशत घरपरिवारमा छाउपडी प्रथा कायमै छ ।

आठ हजारभन्दा बढी छाउगोठ भत्काइयो

छाउप्रथाको नाममा कर्णाली तथा सुदूरपश्चिम क्षेत्रका महिलाले कष्टकर जीवन र विभेद भोगेपछि सरकारले पुस ९ गते छाउगोठ भत्काउने निर्णय गरेअनुसार २०७६ फागनु २१ गतेसम्म ८ हजार ६१७ छाउगोठ भत्काएको तत्थ्यांक छ । प्रहरी प्रधान कार्यालयका अनुसार, गत फागुन १५ गतेसम्म सुदूरपश्चिम प्रदेशमा छ हजार ३८२ र कर्णाली प्रदेशमा २ हजार २३५ छाउगोठ भत्काइएको थियो । सबैभन्दा धेरै अछाम जिल्लामा ४ हजार ८९७ र सुर्खेतमा १ हजार ९२४ छाउगोठ भत्काइएको प्रहरी प्रवक्ता शैलेश थापा क्षेत्रीले जानकारी दिए ।

यस्तै बाजुरामा ५१०, डोटीमा ३४२, कैलालीमा २७३, दैलेखमा २५९, कञ्चनपुरमा १९७, बझाङमा १४०, जाजरकोटमा ३०, कालिकोटमा २०, डडेल्धुरामा २३ र सल्यानमा दुई छाउगोठ भत्काइयो । यसैगरी रु एक करोड विनियोजन गरी सरकारले कर्णाली प्रदेशमा ४९९ र सुदूरपश्चिम प्रदेशमा ४६६ घरपरिवारलाई छाउपडी सम्बन्धी सचेतनामूलक जानकारी दिएको थियो । छाउगोठ राख्ने व्यक्तिलाई सरकारले दिने सेवासुविधामा समेत रोक लगाउने निर्णय पनि गरेको थियो ।

कानुनी व्यवस्था

मुलुकी अपराध (संहिता) ऐन २०७४ को दफा १६८ मा ‘अपमानजन वा अमानवीय व्यवहार गर्न नहुने’ व्यवस्था गरिएको छ । ऐनले ‘कसैले कसैलाई अपमानजनक वा अमानवीय व्यवहार गर्न वा गराउन हुँदैन’ भन्ने स्पष्ट पारेको छ । कस्ता कामलाई ‘अपमानजनक वा अमानवीय’ व्यवहार भनिन्छ भन्नेबारे पनि ऐनमा व्याख्या गरिएको छ । ऐनमा ‘बोक्साबोक्सीको आरोप लगाउने, बोक्साबोक्सीको आरोप लगाई बसोवास गरेको ठाउँबाट निकाला गर्ने, सामाजिक बहिष्कार गर्ने वा अन्य जुनसुकै काम गरी क्रुर, अमानवीय वा अपमानजन्य व्यवहार गर्ने’ कार्यलाई यस्तो व्यवहारको श्रेणीमा राखिएको छ । यस्ताखाले ‘अपमानजनक वा अमानवीय’ व्यवहार गर्नेलाई पाँच वर्षसम्म कैद र पचास हजार रुपैयाँसम्म जरिवाना हुन सक्छ ।

ऐनको सोही दफा अन्तर्गतको उपदफा (३)मा ‘महिलाको रजस्वला वा सुत्केरी अवस्थामा छाउपडीमा राख्न वा त्यस्तै अन्य कुनै किसिमको भेदभाव, छुवाछूत वा अमानवीय व्यवहार गर्नु वा गराउनु हुँदैन’ भन्ने व्यवस्था रहेको छ । त्यस्तो कसुर गर्ने व्यक्तिलाई तीन महिनासम्म कैद वा तीन हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने कानुनी व्यवस्था रहेको छ । तर राष्ट्रसेवकको हकमा भने यस्तो कसुरमा थप तीन महिनासम्म कैद हुने व्यवस्था रहेको छ । यस्तो कसुरमा छ महिनासम्मको हदम्याद तोकिएको अधिकारिहरूले जानकारी दिए । उनीहरूका अनुसार यस्ता कसुरमा पीडितले जाहेरी नदिएको अवस्थामा प्रहरीले नै अन्य फौजदारी कसुरमा जस्तै आफैँ प्रतिवेदन तयार पारेर मुद्दा अघि बढाउन सक्छ ।

(महिलाहरुलाई लक्षित गरेर सञ्चालन गरिएको ग्रीप वल्ड (GRYP World) युट्युव च्यानलले पहिलो सामाग्रीका रुपमा संवेदनशील विषय भएको ठहर गर्दै यसै विषयमा ‘रजस्वला कथा श्रृंखला’ सन्चालन गरीरहेको छ । महिलाहरुको अनुभव, भोगाई, चलन, समस्या र प्रजनन स्वास्थ्यसंग जोडिएर सम्वन्धीतको अनुमतिमा सामाग्रीहरु उत्पादन गरिरहेको छ । ग्रीप वल्ड युट्युव च्यानलको सहकार्यमा ती सामाग्रीहरु अब यहाँ पढ्न र हेर्न पनि सक्नुहुनेछ । पहिलो श्रृंखलामा प्रशारित अछामकी एक किशोरीको कथा ।)

रजस्वला ढिलो हुँदा हुँदैन कि भन्ने आशंका

सामान्यतया अधिकांश किशोरीहरु १० वर्षदेखी १४ वर्षको उमेरमा पहिलो रजस्वला भइसक्छन् । अछामकि यी किशोरी (नाम गोप्य राखिएको छ) ढिलो रजस्वला भइन्, १७ वर्षको उमेरमा । १७ वर्षअघिसम्म रजस्वाला नहुँदा अब हुदैन कि भनेर धेरैले आशंका गरेका थिए । तर उनिलाई हुन्छु भन्नेमा पुर्ण आशा थियो । किनकि उनकि आमा पनि पहिलो रजस्वला १७ वर्षको उमेरमा भएकि थिइन् । वंशाणुगत गुणले यस्तो भएको होला भन्ने उनलाई लागेको थियो । उक्त विश्वासका कारण १७ वर्षको उमेरमा नै पहिलो रजस्वाला भइन् । पहिलो महिनावारी भएको मिति सम्झदै उनि भन्छिन्, ‘चैत्र २० गते पहिलो पटक रजस्वला भएकि थिए, चलनअनुसार ९ दिन बार्नुपर्यो ।’

पहिलो रजस्वला अनुभव

पहिलो रजस्वला हुँदा उनलाई हो कि होइन भन्नेमा द्धविदा भयो । ‘व्लड कम भएको थियो, त्यसैले कन्फ्युज भए’ उनले भनिन् । रजस्वला भएको कुरा सबैभन्दा पहिले बहिनीलाई भनिन् । आफू चाहि लाजले ज्यारीमको वुटामूनी लुकिन् । बहिनीले आमालाई भनिन् । आमा भेट्न आएपछि उनलाई लाग्यो, ‘मम्मीको मुख हेरेर कतै गल्ती त गरेन ?’ यस्तो नलाग्नु पनि कसरी । यहाँको चलन नै यस्तै थियो, वुवाको भाईको अनुहार देख्न पनि नहुने । केहि समयपछि वुवा पनि भेट्न आउदा उनलाई खुशी लाग्यो ।

वुवा शिक्षक भएका कारण अरुले जस्तो धेरै समस्या भोग्नु नपरेको उनी बताउँछिन् । रजस्वला हुँदा नारे (छाउगोठ)मा बस्नुपर्यो । वहिनी उनको साथमा बसीन् । पहिलो पटक नारेमा बस्दा उनलाई अनुुकुल लागेन । कहाँ घरको वातावरण, कहाँ गोठको । उनी वसेको ठाँउ दाउरा राखीएको गोठ थियो । त्यहि भुईमा ९ दिनसम्म गुन्द्रि विच्छ्याएर सुत्नुपर्यो । पहिलो महिनावारीको समयमा गर्नुपर्ने कठिन कामको बारेमा सुनाउँदै उनी भन्छिन् ‘विहान चाडै उठ्नुपथ्र्यो ।

वुवाआमाले खाना ल्याएर छाउगोठ बाहिर राख्दिनुहुन्थ्यो । त्यो चिसो भइसकेको खाना कसैको अनुहार नदेखाएरै खाना खानुपथ्र्यो । धारा छुन नपाइने भएकाले घरबाट टाढा खोलामा नुहाउन जानुपथ्र्यो ।’ परिवारको सहयोग भएको जानकारी दिदै उनी अगाडि थप्छिन् ‘वुवाले नुहाउनका लागी घरबाट टाढा खोलामा नजाउ, घरमै पाइप लगाइदिन्छु भन्नुहुन्थ्यो । तर आँगनमा केराको बोट थियो । बोट सुक्यो भने परम्परागत मान्यता राखेका वुढा वाजेवज्यैले केहि भन्नुहोला कि भनेर वुवाको कुरा मानेन ।’ रजस्वला हुँदा कसरी साडिको कपडा च्यातेर वनाइएको टाला प्रयोग गर्ने भन्नेबारे अन्टीले सिकाउनुभएको थियो ।

उनी सरसफाईको विषयमा भन्छिन्, ‘धुन घिन लाग्ने भएका कारण प्रयोग गर्दै टाला फालिदिन्थे । अन्टीसँग फेरी कपडा माग्थे । त्यसैलाई धोएर प्रयोग गर्न अन्टीले सुझाएपछि यतिधेरै लुगा भएर पनि दिनुहुन्न भन्थे ।’ उनको गाँउमा रजस्वला हुदाँ घरबाट अलग्गै वसेर खाना खानुपर्ने चलन छ । यसरी खाना खादै गरेको समयमा कोहि चिनेजानेका भेटिन्थे । उनिहरुको लाजका कारण कहिलेकाहि खाना नखाने गरेको उनले बताइन् । त्यो खेर गएको खाना पाप लाग्ने डरले गाईवस्तुलाई दिन पनि मनाहि छ । त्यसलाई खाल्डो खनेर पुर्नुपर्ने उनले बताइन् ।

छाउगोठमा जलेर मृत्यु

उनको एकजना अन्टीको आगोमा जलेर मृत्यु भयो । पुस माघको जाडोमा न्यानोका लागि बालेको आगोमा परेर उनको मृत्यु भयो । मुस्किलले पस्न सकिने साँघुरो छाउगोठमा सुतेकी उनी आगोले पोल्दा बाहिर निस्कन सकिनन् । त्यस्तै, सोहि गाँउकी अर्की महिलाको धुवाले निसास्सीयर मृत्यु भयो । उनकै आँखा अगाडि अर्को घटना पनि छ । एकजना महिला विवाहपछि पहिलो रजस्वला भइन् । उनलाई छाउगोठमा सुताइयो । तर बलात्कृत भएर मृत्यु भएको अवस्थामा उनको लास भेटियो ।

यो घटना नजीकबाट नियालीरहेकी उनको जीवनमा पनि एउटा घटना घट्यो । राति सुतेको समयमा लगाएको सुरुवाल जलिरहेको थाहा पाएपछि उनले निभाइन् । त्यसपछि त्यो घटना आमालाई सुनाएर त्यहाँ नवस्ने निधो गरिन् । परिवारको सोच शिक्षित भएका कारण टिनको कोठा बनाएर अहिले पनि उनी त्यसैमा बस्छिन् । परम्परागत मान्यतालाई एक्कासी छोड्न त सकिदैन तर त्यसलाई व्यवस्थित बनाउन सकिन्छ भन्ने उदारहण यो घटनाले देखाउँछ ।

पहिलो रजस्वाला भएकी किशोरीले भिरबाट हाम फालिन्

हामी चेतनाको कुरा गछौँ, शिक्षाका कुरा गर्छौँ । तर मनोविज्ञान वुझ्न सक्ने सामथ्र्य राख्दैनौँ । यो घटना यसैमा आधारीत छ । यी किशोरीको गाँउमा एकजना किशोरी पहिलो पटक रजस्वला भइन् । पहिलो पटक रजस्वला हुनुको शाररीक पिडा एकातिर, डर, त्रास, एकातिर अर्कोतिर समाजका अनेका नीतिनियम वार्नुपर्ने । त्यसमाथि रजस्वला हुँदा बस्न अर्कैको छाउगोठ जानुपर्ने भयो । ती छिमेकीसँग परीवारको विवाद भएको थियो । त्यो विवादका कारण ती छिमेकीले उनलाई आफ्नो छाउगोठमा वस्न नदिने अडान राखे । यो पनि एउटा कारण वन्यो होला । या अरु पनि नदेखएिका केहि कारण थिए होला । उनले भिरबाट हाम फालेर आत्महत्या गरीन् ।

चलन परीवर्तन हुदै

ज्यान लिने गरी घटना घट्दा पनि समाजलाई देवीदेउताकै डर लाग्छ । यहि कारणले जुन किसीमले चलन परीवर्तन हुनुपर्ने हो, त्यो किसीमले भएनन् । तर मन्द गतिमा भएपनि मनस्थीतिमा परीवर्तन आउन थालेको छ । आमाको अवस्थाको भोगाइ सुनाउदै उनी भन्छिन् –‘अहिले पनि मन्दिर जान मील्दैन, गाईगोरु छुनुहुँदैन, दुध दहि खान मिल्दैन, भैसीलाई घाँस काट्न नी मिल्दैन । आमाको पालामा पाल हालेर वस्नुपथ्र्यो रे । छुइ हुन्छ भनेर भात खान दिइन्थेन । रोटीमात्रै खान पाइन्थ्यो रे । हामीले त भात खान पाएका छौं नी ।’

रजस्वला अघिको सोचाई

१४ वर्षको उमेरसम्म आइपुग्दा उनलाई लागेको थियो, विवाह भएका महिलाहरु मात्रै रजस्वला हुन्छन् होला । तर उनकि अविवाहित फूपु रजस्वला भएपछि उनको मनमा जिज्ञासा जाग्यो । उनको नजीकको कुरा साट्ने अन्टिलाई उनले यो जीज्ञासा राखिन् ।

– अन्टी, विवाहपछि मात्रै रजस्वला हुन्छ  ?
– होइन, १२/१३ वर्षमै हुन्छ ।
– किन र कसरी हुन्छन ? पीडा हुँदैन  ?
– पीडा हुन्छ । थकाई लाग्छ, शरीर दुख्छ, पेट दुख्छ …।
– रजस्वला हुँदा किन वाहिर छाउगोठ बस्नुपर्छ  ?
– रजस्वला हुदा अरुलाई छुदा देउता लाग्छ । पाप लाग्छ । केटाकेटीलाई छोयो भने उनीहरु सुक्छन् ।
– तपाईले केटाकेटीलाई छुनुहुन्छ त ?
– भर्खरकी किशोरी र विवाहित सन्तान जन्माएकी महिलामा फरक छ । उनीहरुको रजस्वला एउटै हुदैन  ……।
– अहिलेसम्म कसैलाई देउता लागेको छ र  ?
– लाग्छ त ।
– तराईका मान्छेहरु त बारेको सुनिदैन नी  ?
– उनीहरु पनि बार्छन् ।

मौन क्रान्ति सुरु

आफै रजस्वला भएपछि उनले वुझिसकेकी थिइन् कि यो प्राकृतिक कुरा हो । यसले देवीदेउता लाग्दैन । त्यसैले उनले मौनरुपमा यसविरुद्ध आवाज उठाउन थालिन् । एकपटक सुर्खेत वसेकि अन्टीको कोठामा उनी बसेकी थिइन् । सोहि समयमा उनी रजस्वला भइन् । रजस्वला भएपछि अन्टीले उनलाई अरुको कोठामा बसाल्नु भयो । अरुको कोठामा वस्दा उनलाई सहज लागेन । रजस्वला भएको समयमा उनले भाइलाई छोएर हेरिन् । कसैलाई केहि भएन । यो कुरा अन्टीलाई सुनाइन् । अन्टीले रिसाउनुभयो । तर उहाँ आफु महिनावारी हुँदा खानासमेत आफै पकाउनुहुन्थ्यो ।

किशोरीहरु छाउप्रथाविरुद्ध एक भए

धेरै महिला, किशोरी जलेर मर्ने, बलात्कृत हुने लगायतका घटना घट्न थालेपछि किशोरीहरु संगठित भए । १५/२० जना किशोरीहरु मीलेर छाउप्रथाविरुद्ध जुलुस निकाले, गोठ भत्काए । तर उनीहरुलाई कसैले सुनेनन् । सुनेर पनि वेवास्ता गरिदिए । तर केहि परिवर्तन भएन ।

ज्ञान थियो तर व्यवहारिक भएन

स्कुलमा स्वास्थ्य विषय शिक्षकले पढाउनुहुन्थ्यो । रजस्वला हुदाँ दुधदही खानुपर्छ भनेर पढाउनुहुन्थ्यो । तर आफ्नो घरमा त्यो कुरा व्यवहारमा लागु गर्नुभएन ।