Loading... आजः १३ आश्विन २०७७, मंगलवार
सडकमै छताछुल्ल सरकारी बेतिथि

विकासमा जनप्रतिनिधिकै उदासिनता, ‘सडकको बीचमा बिजुलीको पोल’

विकासमा जनप्रतिनिधिकै उदासिनता, ‘सडकको बीचमा बिजुलीको पोल’
नेपालगन्ज–२० मा भित्री टोलमा बनाइएका पक्की सडक । तस्वीर : सामाजिक सञ्जाल
नेपालगन्ज–२० मा बनेका नयाँ सडक र पूर्वाधार विकासका काममा जनप्रतिनिधिको चरम लाहपरवाही देखिएको स्थानीयहरुको आरोप छ । ‘मापदण्ड नपुगेका संरचना जनप्रतिनिधिबाटै मापदण्ड पुगेको बनाइन्छ,’ नाम नभन्ने शर्तमा एक स्थानीयले भने ।

बाँके । ‘कही नभएको जात्रा हाँडी गाउँमा’ भनेझैं विकास निर्माणका कार्यमा कतिसम्म सरकारी उदासिनता हावी हुन्छ भन्ने कुरा नेपालगन्जमा उदांगिएको छ । नेपालगन्ज उपमहानगरपालिका–२० प्रेमनगर टोलमा बनेको भित्री सडकले विकासमा हुने सरकारी उदासिनतालाई प्रष्ट्याएको छ ।

पक्की (पिसिसी) गरिएको सडकको बीच भागमा विद्युतका पोलहरु ठडिएका छन् । यसले सरकारी कार्यालयबीच विकास निर्माणका काममा कत्तिको समन्वय हुँदोरहेछ भन्ने कुरा छर्लङ्ग भएको छ । त्यसो त नेपालगन्ज–२० बनेका अधिकांक सडकहरु मापदण्ड अनुसार नबनेको स्थानीयहरु बताउँछन् ।

नेपालगन्ज वडा नं. २० मा बनेका सडकहरुको अवस्था हेर्नुभयो भने बिजोग देखिन्छ । सडकका बीच भागमा विद्यतका पोल ठडिएका छन् । पोलमा सवारी साधन ठोकिएर दुर्घटनाको जोखिम होला भन्ने प्रश्नमा ‘त्यो मेन रोड होइन, भित्री रोडमा सवारी चाप हुँदैन’ भन्ने उत्तर जनप्रतिनिधिबाटै आउँछ ।

प्रेमनगरका तेजकुमार थापाले नयाँ बनेको सडकका बीचमा छाडिएका विद्युत पोलले दुर्घटना निम्त्याइरहेको बताए । ‘घर अगाडी सडक पक्की त बन्यो, सडकमा पोलहरु अझै ठडिएका छन्,’ थापाले भने ‘कुनै दिन यि पोलले सडक दुर्घटना गराउने बेर छैन ।’

उनको टोलमा गत आर्थिक वर्ष तीन मिटर चौडाइमा रहेका दुई वटा सडकमा पिसिसी गरिएको थियो । दुबै सडकको बीचमा विद्युतका पोल परे पनि अहिलेसम्म हटाउन कसैले चासो नदिएको थापाले बताए । उनले भने, ‘सडक बनाउँदा पोल किन हटाएनन्, अब कहिलेसम्म हटाउँछन्, यसबारे हामीलाई कुनै जानकारी छैन ।’

विद्युतको पोल बीच बाटोमा परेका कारण आवतजावतमै समस्या भएको उनले बताए । सोही वडाको पानी ट्यांकी टोलमा पनि गत आर्थिक वर्षमै पिसिसी निर्माण गरियो । कुल लागत खर्च मध्ये स्थानीयले २० प्रतिशत योगदानमा पिसिसी सडक तयार गरे । तर, दुई वटा विद्युत पोललाई सडकको बीचमै छाडियो ।

अहिले पनि विद्युतका पोल सडकमै ठडिएका छन् । उक्त सडक निर्माणको नेतृत्व गरेका स्थानीय उपभोक्ता समितिका अध्यक्ष नारायणप्रकाश मल्ल भन्छन्, ‘सडक सधै हिलाम्य हुन्थ्यो, धेरै ठाउँमा पहल गरेर सडक पिसिसी गरियो, तर बत्तीको पोल हटाउन नसकेनौं, सबै कुरा वडा कार्यालयलाई थाहा छ ।’

करिव डेढ वर्षअघि राँझा ब्यारेक छेउमै रहेको आनन्द टोलमा निर्माण गरिएको ११० मिटर लामो पिसिसी सडकको अवस्था पनि उस्तै छ । तीन मिटर चौडाइँ रहेको साँघुरो सडक, त्यसमा पनि सडक क्षेत्रमै विद्युतको पोल हुँदा अहिलेसम्म यो सडकमा मोटरसाइकल बाहेक अन्य सवारी साधन चल्न सकेका छैनन् ।

टोलका स्थानीय एवम् सडक निर्माण उपभोक्ता समितिका कोषाध्यक्ष राजेन्द्र शाही विद्युत पोल भएका कारण सडकमा ठूला सवारी साधन गुड्न नसकेको बताउँछन् । ‘सडक निर्माणका लागि उपभोक्ता समिति बन्यो, वडाले दिएको पाँच लाख बाहेक प्रत्येक घरधुरीले ९ हजार रुपैयाँको दरले संकलन गरेका थियौं,’ उनले भने ।

‘साँघुरो सडकमा बत्तीको पोल भएपछि झन् समस्या भयो ।’ नेपालगन्ज–२० मा बनेका नयाँ सडक र पूर्वाधार विकासका काममा जनप्रतिनिधिको चरम लाहपरवाही देखिएको स्थानीयहरुको आरोप छ । ‘मापदण्ड नपुगेका संरचना जनप्रतिनिधिबाटै मापदण्ड पुगेको बनाइन्छ,’ नाम नभन्ने शर्तमा एक स्थानीयले भने ।

नेपालगन्ज उपमहानगरपालिका–२० का वडाध्यक्ष कृष्ण कार्कीले सडक निर्माण गर्ने क्रममै पोल सार्नका लागि प्राधिकरणलाई पटक–पटक पत्राचार र मौखिक अनुरोध गर्दापनि चासो नदिएको दावी गरे । ‘विद्युतले वास्ता नगरेपछि विकास निर्माणलाई अवरोध गर्नुभन्दा बाटोमै पोलसहित पिसिसी र ग्राभेल गरेका हौं ।’ उनले भने ।

आयोजनाको ८० प्रतिशत र २० प्रतिशत उपभोक्ताको लागतमा वडामा पिसिसी निर्माण गरेको वडाध्यक्ष कार्कीले स्मरण गराए । हामीले विकास निर्माणलाई ठप्प पार्न सकेनौं, त्यो बजेटलाई फ्रिज हुन पनि दिएनौं ।’ उक्त वडामा एक दर्जन भन्दा बढी सडकमा विद्युत पोल हटाउनुपर्ने देखिएको उनले बताए ।

विद्युत पोल नहटाउँदा रातको समयमा चल्ने सवारी साधन पोलमा ठोक्किने खतरा उत्तिकै छ । वडाध्यक्ष कार्कीले भने, ‘हामीले पोल उखेलेर साइडमा राख्न पनि सक्दैनौं, तार छुने हामीलाई अधिकार पनि छैन ।’ आफूहरुले अनुगमन गर्ने भए पनि वजेट फ्रिज हुन नदिन निर्माण गरेको वडाध्यक्ष कार्कीले बताए ।

नेपाल विद्युत प्राधिकरण नेपालगन्ज वितरण केन्द्रका प्रमुख लखनलला मल्लिकले उपमहानगरपालिकाले जथाभावी तरिकाले सडक बनाउँदा पोल बीचमा परेको दावी गरे । उनले भने, ‘हामी सडकको बीचमा पोल गाड्दैनौं, सडक छेउमै पोल गाडिन्छ, उपमहानगरले जथाभावी सडक बनाउँदा पोल बीचमा परेको हो ।’

सडक निर्माण गर्दा उपमहानगरपालिकाले प्राधिकरणसँग समन्वय नगरेको दावी गर्दै प्रमूख मल्लिकले भने, ‘पिसिसी गर्दा विद्युत प्राधिकरणसँग समन्वय गर्नुपथ्र्यो, तर उहाँहरुले आफ्नै तरिकाले काम गर्नुभयो ।’ उपमहानगरपालिकाले आफ्नो मनोमानीले काम गर्दा यस्तो समस्या आएको मल्लिक बताउँँछन् ।