Loading... आजः ७ आश्विन २०७७, बुधबार

७२ बेडको कोरोना बिशेष अस्पताल सञ्चालनमा

७२ बेडको कोरोना बिशेष अस्पताल सञ्चालनमा

बाँके । नेपालगन्जस्थित भेरी अस्पतालमा कोरोना बिशेष अस्पताल सञ्चालनमा आएको छ । अहिलेलाई ७२ बेडको बनाइए पनि १०० बेडमा रुपान्तरण गर्ने कोभिड–१९ संकट व्यवस्थापन केन्द्रका संयोजक एवं प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङले जानकारी दिए ।

बाँकेको खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा रहेको कोरोना बिशेष अस्पतालमा बेड अभाव तथा दिगो व्यवस्थापनको समस्यापछि भेरी अस्पतालमा कोरोना बिशेष अस्पताल बनाउने तय गरिएको थियो ।

सो निर्णय अनुसार प्रदेश सरकार र यहाँका बिभिन्न कर्मचारी, संघसस्था लगायतको सहयोगमा कोरोना बिशेष अस्पताल सञ्चालनमा ल्याइएको छ । खजुरास्थित अस्पताल, कृषि तालिम केन्द्र, लायन्स डेन्टल अस्पताल, कृृषि बिकास केन्द्र पिपरीलाई आइसोलेसन सेन्टर बनाइएको छ ।

भेरी अस्पतालमा कोरोना बिशेष अस्पताल सञ्चालन गर्नका लागि सबैतिरबाट सहयोगको अपिल गरिएको थियो । सोही अपिलपछि भएको सहयोगबाट ८ बेड आइसियु सुविधासहित ७२ बेडको बिशेष अस्पताल सञ्चालनमा आएको हो ।

कोरोना बिशेष अस्पतालको बिहीबार प्रदेश नं. ५ का सामाजिक विकास मन्त्री सुदर्शन बराल, प्रदेश सभा सांसद आइपी खरेल र विजय यादवको उपस्थितिमा कोरोना बिशेष अस्पतालको उद्घाटन गरिएको छ ।