Loading... आजः १२ मंसिर २०७७, शुक्रबार
Trending:
स्वास्थ्य टिप्स

‘अकबरे’ उर्फ ‘ज्यानमारा’ खुर्सानी, स्वास्थ्यका लागि बहुगुणी

‘अकबरे’ उर्फ ‘ज्यानमारा’ खुर्सानी, स्वास्थ्यका लागि बहुगुणी

काठमाडौं । नेपाललाई विश्वमा पहिचान गराउने खाद्यवस्तुमध्ये ‘अकबरे खुर्सानी’लाई पनि प्रमुख मानिन्छ । अकबरे खुर्सानी संसारमा कहीँ पनि नपाइने, कतैकतै पाइए पनि नेपाल जस्तो पिरो र स्वादिलो पाइन्न । अकबरे खुर्सानीलाई डल्ले र ज्यानमारा भनेर पनि चिनिन्छ । आवश्यकताभन्दा ज्यादा खाँदा ज्यान समेत जाने हुनाले पहाडतिर यसलाई ‘ज्यानमारा’ भनेर चिनिएको हो । खुर्सानी साधारणतया पिरो स्वाद दिने फल हो ।

खुर्सानीको पिरो तत्वलाई ‘क्याप्सिसिन’ र त्यो वनस्पतिलाई ‘क्याप्सिकम’ भनिन्छ । यसलाई अकबरे भनेर पनि चिनिन्छ । अरु खुर्सानीको तुलनामा यो अझ पिरो र स्वादिलो हुन्छ । डल्ले खुर्सानीलाई विदेशीले पनि निकै चाख दिएर खान्छन् । यसले खानालाई पिरो मात्र बनाउने होइन, एक किसिमको छुट्टै खालको स्वाद दिने हुँदा खानाको स्वादमा नै भिन्न मिठास ल्याइदिन्छ । यो खुर्सानीले खानालाई स्वादिलो मात्र बनाउने होइन, स्वाथ्य सम्बन्धी पनि फाइदा छ ।

नेपाली समाजमा यो खुर्सानीलाई ग्यास्टिकको दबाइ भनेर नै चिनिन्छ । वैदेशिक रोजगारी र अध्ययनमा विदेशिएका नेपालीले सबैभन्दा ‘मिस’ गर्ने चिज नै यो डल्ले खुर्सानी हो भनिन्छ । त्यसैले त जोकोही आफन्त नेपालबाट जाँदा उनीहरूले यही अकबरे मगाएका हुन्छन् । नेपालका प्रायः सबै भूभागमा अकबरे खुर्सानीको खेती हुने भए पनि अकबरे खुर्सानी नेपालको पहाडी जिल्लामा राम्रो उत्पादन हुन्छ । नेपालको पूर्वी पहाडी जिल्ला इलाम, तेह्रथुम, धनकुटा, संखुवासभा, भोजपुर लगायतका जिल्लामा यसको उत्पादन धेरै हुने गर्छ ।

तेह्रथुमबाट २०७५ सालमा मात्र ६ करोडको डल्ले खुर्सानी निर्यात गरिएको थियो । भारतका विभिन्न स्थानमा निर्यात गरिने डल्ले खुर्सानी बहुप्रायोजनका लागि हुनाले बजार सहज पाइन्छ । प्रतिकिलो ३०० देखि ४५० रुपैयाँसम्ममा बिक्री हुने हुँदा किसानहरू पनि यो नगदे बालीमा आकर्षित भएका छन् । खुर्सानीको वैज्ञानीक नाम ‘क्याप्सिकम फ्रुटेसेन्स’ हो भने यसलाई अंग्रेजीमा रेड सभिना पेपर हवानो पेपर भनेर चिनिन्छ ।

प्रायः भेडेखुर्सानीबाहेक सबै खुर्सानी पिरो नै हुन्छ । कुनै ज्यादा पिरो हुन्छ त कुनै कम पिरो तर लामो खालको माछा खुर्सानी पनि खासै पिरो हुन्न । खुर्सानी खानु पेटका केही बिमारीका लागि बेफाइदा भए पनि यसका फाइदा धेरै छन् । सामान्यतया नेपाली भन्सामा खुर्सानी व्यापक प्रयोग हुन्छ र योभित्र पनि दर्जनौं जात हुन्छन् । यो समय नेपालमा पनि डल्ले खुर्सानीको सिजन भएका कारण जहाँतहीँ यही खुर्सानी देख्न सकिन्छ ।

यो खुर्सानी काँचो (हरियो), पाकेको, सुकेको र अचार हालेको जुन हिसाबले पनि खान सकिन्छ । यो खुर्सानी सलादमा मिसाएर खान सकिन्छ । ‘स्पाइसी ड्रिंक’ भनेर ‘हार्ड ड्रिंक’मा समेत मिसाएर खान थालिएको छ । अन्य खुर्सानीको तुलनामा यो खुर्सानीमा अलि भिन्न स्वाद हुने हुँदा जसरी खादा पनि उत्तम मानिन्छ । जिब्रोलाई पिरो लागे पनि अन्य खुर्सानीले जस्तो यो खुर्सानीले पेटमा कुनै असर गर्दैन ।

नेपालबाट अकबरे खुर्सानीको अचारजन्य परिकार बनाएर अमेरिका तथा युरोपका विभिन्न मुलुक, अस्ट्रेलिया र मलेसिया लगायतका देशमा निर्यात हुँदै आएको छ । साथै यो खुर्सानी ग्यास्ट्रिक तथा चिसो लागेका मानिसको लागि औषधिको रूपमा पनि प्रयोग हुँदै आएको पाइन्छ । अकबरे खुर्सानी नियमित सेवन गर्दा मानव स्वास्थ्यमा हुने स्वास्थ्य सम्बन्धी फाइदाहरू पनि रहेका छन् ।

– खाना पचाउने काममा विशेष सहयोग पुर्याउने काममा अकबरे खुर्सानीले सहायता पुर्याएको हुन्छ ।

– माइग्रेनको समस्या समाधानका लागि पनि यो खुर्सानी अति उत्तम मानिन्छ ।

– नियमित यो खुर्सानी सेवन गर्नाले केही हदसम्म क्यान्सर लाग्नबाट जोगिन सकिन्छ ।

– कोल्ड फ्लुबाट बचाउन पनि धेरै हदसम्म मद्दत पुर्याउँछ ।

– हाडजोर्नीमा हुने दुःखाइ कम गराउन पनि यो खुर्सानी नियमित खान सकिन्छ ।

– कार्डियोभास्कुलर र हार्टको समस्या हुनबाट जोगाउन पनि अकबरे निकै फाइदाजनक साबित छ ।

– डायबिटिज हुनबाट जोगाउन विशेष भूमिका खेलेको हुन्छ ।

– शरीरमा रेड ब्लड सेल बढाउन विशेष मद्दत पुर्याउँछ ।

– रगतमा चिनीको मात्रा घटाउन मद्दत पुर्याउँछ र सुगर रोगबाट बचाउन मद्दत गर्छ ।

– ग्यास्टिक तथा अल्सर रोग निदान हुन मद्दत पुर्याउँछ ।

– पिसाब सम्बन्धी समस्या कम गराउन सहयोग पुर्याउँछ ।

– अकबरे हालेर पकाएको खाना किटाणुरहित हुने हुँदा कुनै पनि तरकारीमा थोरै भए पनि यो खुर्सानी हाल्नु राम्रो मानिन्छ ।

– थकान घटाएर शरीरमा चंगा बनाउन विशेष भूमिका खेलेको हुन्छ । तसर्थ तपाईंलाई अल्छी लागेका बेला अकबरे खुर्सानी र नुन पिनेर कुनै पनि चिजसँग खान सक्नुहुन्छ ।

– यो खुर्सानीमा क्याप्सिसिन पाइन्छ । जसका कारण पेट सम्बन्धी मात्र होइन अन्य रोगी निको पार्न समेत फाइदा पुर्याउँछ ।

– एलर्जी हुनबाट जोगाउन धेरै हदसम्म मद्दत गर्छ ।