Loading... आजः ५ आश्विन २०७७, सोमबार
कोरोना कहर

बाँकेमा कोरोना भाइरस संक्रमितको संख्या दिनहुँ बढ्दो क्रममा, भिडभाड कायमै

अब साताको दुई दिन जिल्लामा निषेधाज्ञा
बाँकेमा कोरोना भाइरस संक्रमितको संख्या दिनहुँ बढ्दो क्रममा,  भिडभाड कायमै

बाँके । कोरोना भाइरस संक्रमितको संख्या जिल्लामा दिनहुँ बढ्दो क्रममा छ । संक्रमण बढिरहँदा बजारमा सर्वसाधारणको भिडभाड पनि बढिरहेको छ ।

सार्वजनिक स्थल, बैंक तथा वित्तीय संस्था, सरकारी कार्यालयलगायत स्थानमा अत्यधिक भिड बढेको हो । बढ्दो भिडभाडका कारण कोरोना संक्रमण झनै बढ्ने खतराले नेपालगन्जवासी यतिबेला चिन्तित छन् ।

सर्वसाधारणको भिडभाड अस्वाभाविक बढ्न थालेसँगै समुदायस्तरमा कोरोना संक्रमित देखिँदा केही साताअघि स्थानीय प्रशासनले जिल्लामा निषेधाज्ञा जारी गरेको थियो ।

तर, लामो लकडाउन र निषेधाज्ञाका कारण सर्वसाधारणको दैनिक जीवनयापनमा कठिनाइ हुन थालेको भन्दै प्रशासनले आवतजावत खुकुलो पार्दै आएको छ । संक्रमित बढेपछि कोहलपुर नगरपालिका र जानकी गाउँपालिकाले पनि आफ्नो क्षेत्रलाई छुट्टै निषेधित क्षेत्र घोषणा गरेका थिए ।

संक्रमितको बढ्दो संख्यालाई ध्यानमा राख्दै स्थानीय प्रशासनले अब साताको दुई दिन जिल्लामा निषेधाज्ञा जारी गर्ने निर्णय गरिसकेको छ । उक्त निर्णयलाई आगामी शुक्रबारदेखि कार्यान्वयन गरिँदै छ ।

बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुङवाङले अब हरेक हप्ताको शुक्रबार र शनिबार निषेधाज्ञा जारी गरिने बताए । ‘अबदेखि हरेक हप्ताको शुक्रबार र शनिबार निषेधाज्ञा गरिन्छ,’ उनले भने ।

निषेधाज्ञाका क्रममा आवत–जावतसँगै पसल, व्यवसाय सञ्चालनमा पूर्ण रूपले रोक लगाइने प्रजिअ कुरुङवाङको भनाइ छ । अन्य दिनको तुलनामा शुक्रबार र शनिबार बढी मात्रामा सर्वसाधारणको भिडभाड हुने भएकाले निषेधाज्ञा जारी गरिएको स्थानीय प्रशासनले जनाएको छ ।

महामारीबीच पनि विभिन्न स्थानमा सर्वसाधारण उपस्थित हुने क्रम रोकिएको छैन । बैंक तथा वित्तीय संस्था, सरकारी कार्यालयलगायत निकायले सर्वसाधारणलाई भिडभाड गराएर सेवा दिने गरेका छन् ।

यस्तै, सार्वजनिक स्थानमा पनि उत्तिकै भिड लाग्ने गरेको छ । स्थानीय त्रिभुवन चोक क्षेत्रमा सामान्य अवस्था झै अचेल दिनहुँजसो श्रमिकको भिड लाग्ने गरेको आजको नागरिक दैनिकमा खवर छ ।