Loading... आजः १५ आश्विन २०७७, बिहीबार
कोरोना कहर

कोरोना भ्याक्सिन बनाउन बाँदर अभाव, अमेरिकी वैज्ञानिकहरु समस्यामा

महामारीसँग सम्बन्धित घटनाले त्यहाँ रहेका बाँदरहरु पनि संकटमा छन् ।
कोरोना भ्याक्सिन बनाउन बाँदर अभाव, अमेरिकी वैज्ञानिकहरु समस्यामा
खासमा उनीहरु मानिससँग निकै निकट छन् । जस्तो, मानिस र बाँदरको प्रतिरोधी प्रणालीमा यति नजिकको समानता हुन्छ कि भ्याक्सिन अध्ययनले दुुबैमा एन्टीबडिज मापन गर्न एउटै अध्ययन पनि प्रयोग गर्नसक्छ ।

क्यार्लिफोनिया । पछिल्ला ७ महिनामा १०० भन्दा धेरै कोभिड–१९ भ्याक्सिन, विभिन्न थेरोपी र औषधीहरु विकासको चरणमा छन् । यी सबै उपचार मानिसअघि पहिले बाँदरमा प्रयोग हुन्छ । र, अहिले अमेरिकाका वैज्ञानिकहरु समस्यामा छन् किनकि त्यहाँ पर्याप्त बाँदर छैन । ‘राष्ट्रव्यापी रुपमा यहाँ निकै ठूलो संकट छ,’ क्यार्लिफोनिया नेशनल बाँदर अनुसन्धान केन्द्रस्थित संक्रामक रोगबारेका वैज्ञानिक कोइन भान रोम्पेले भने ।

अमेरिकामा बाँदरको अनुसन्धान महंगो छ र कहिलेकाँही अनुसन्धानलाई लिएर विवाद पनि हुन्छ । सामान्य अवस्थामै यो चुनौतीपूर्ण थियो । अहिले महामारीका कारण अनुसन्धानका लागि बाँदर फेला पार्न थप कठिन छ । ‘हामी कुनै पनि बाँदर भेट्टाउन सक्दैनौं । उनीहरु पूर्णरुपमा गायब छन्,’ जनावरमा परीक्षण गर्ने संस्था बायोक्वेलका सिआईको मार्क लेविसले भने । उनका अनुसार विभिन्न संस्थाका वैज्ञानिक र उद्योगहरु सिमित बाँदरमै अध्ययन गर्न बाध्य छन् ।

अभावका कारण यस्ता छन् ।
पहिलो – कोभिड १९ ले बाँदरको माग बढाएको छ ।
दोस्रो – यही समय चीनबाट बाँदर आउन छाडेको छ । जबकि, अमेरिका गत वर्ष ३५ हजार बाँदरमध्ये ६० प्रतिशत चीनबाट आयत गरिएको थियो ।
तेस्रो – महामारीसँग सम्बन्धित घटनाले त्यहाँ रहेका बाँदरहरु पनि संकटमा छन् ।

सन् २०१८ मै नेशनल इन्स्टिच्युट अफ हेल्थ (एनआइएच)ले सार्वजनिक गरेको रिपोर्टमा ‘राष्ट्रिय बाँदर केन्द्रहरुले भविष्यको माग भेट्न सक्ने छैनन्,’ भनेर उल्लेख गरिएको थियो । अनपेक्षित महामारी फैलिएका बेला औषधीको परीक्षणका लागि बाँदर उपलब्ध गराउन ‘रणनीतिक आरक्षण केन्द्र’ आवश्यक रहने रिपोर्टमा उल्लेख छ । अहिले हामीसामु अनपेक्षित महामारी छ, तर रणनीतिक बाँदर आरक्षण क्षेत्र कहिल्यै बनेन ।

त्यस्तै, अमेरिकामा एनिमल बायोसेफ्टी लेभल ३ ल्याब पनि सीमितमात्रै छन्, कोभिड–१९ संक्रमित बाँदरहरुलाई राख्नका लागि यस्ता ल्याब चाहिन्छ । जहाँ, किटाणुको रोकथामका लागि आवश्यक भेन्टिलेसनसहित विशेष डिजाइन गरिएको छ । भान रोम्पेका अनुसार कोभिड–१९ को खोप तथा औषधि परीक्षण गर्न खोज्ने कम्पनीहरुबाट साप्ताहिक रुपमा उनलाई फोन र इमेल आइरहन्छ ।

अनुसन्धान र उद्योगका रुपमा काम गर्ने एनआईएचको लगानी रहेका ७ वटा बाँदर केन्द्रमध्ये रोम्पे कार्यरत एक हो । ‘मैले उनीहरुलाई भन्नुपर्छ, म माफी चाहन्छु, हामीलाई तपाईको रिसर्च सुरु गर्ने अनुमति छैन,’ उनी भन्छन् । अमेरिकामा बायोमेडिकल रिसर्चमा प्रयोग हुने जनावरमध्ये बाँदरको हिस्सा शुन्य दशमलव ५ प्रतिशत छ । तर, मानिसमा क्लिनिकल ट्रायल हुनअघि अन्तिम चरणमा प्रयोग गरिने भएकाले यो महत्वपूर्ण छ ।

खासमा उनीहरु मानिससँग निकै निकट छन् । जस्तो, मानिस र बाँदरको प्रतिरोधी प्रणालीमा यति नजिकको समानता हुन्छ कि भ्याक्सिन अध्ययनले दुुबैमा एन्टीबडिज मापन गर्न एउटै अध्ययन पनि प्रयोग गर्नसक्छ । ‘उस्तै परीक्षण हो,’ तुलान राष्ट्रिय बाँदर अनुसन्धान केन्द्रका एशोसियट डाइरेक्टरले स्किप बोमले भने । ‘समानताको अर्थ भ्याक्सिनको प्रभावकारिता प्रवद्र्धनमा सहयोग गर्ने एजेन्टस्को प्रयोगका लागि बाँदरहरु राम्रो मोडल हुन्,’ पिट्सवर्ग विश्वविद्यालयका भ्याक्सिन रिसर्चर जो एन्नी फ्लाइनले भने ।

नसोचेको गतिमा भ्याक्सिन विकास अघि बढिरहेको छ । यद्यपि, केही औषधी निर्माता कम्पनीहरुले बाँदरमा गरिएको अध्ययन ठोस निष्कर्षमा पुुग्नु अगावै मानिसमा परीक्षण थालिसकेका छन् । र, बाँदर भेट्न मुस्किल भइरहेका बेला निश्चित अध्ययनलाई छल्न सकिन्छ भनेर अन्य व्यक्तिहरु सोचिरहेका छन् । बायोटेक कम्पनी क्याप्रिकोर थेरापियुटिक्सकी सिईओ लिन्डा मार्बनका अनुसार उनको कम्पनीले सुरुमा क्यालिर्फोनिया बाँदर केन्द्रमा भ्याक्सिन परीक्षण गर्न खोजेको थियो ।

तर, त्यहाँ परीक्षण गर्न नपाएपछि कसरी सिधैं मानिसमा परीक्षण गर्ने भन्ने खोजीमा उनी छिन् । बाँदरमा काम गरिरहेका केही वैज्ञानिहरु अझै पनि जनावरमा अध्ययन गर्नुका निश्चित केही फाइदा रहेको बताउँछन् । जस्तो कि, जनावरहरुलाई निगरानीमा राखेर फलो गर्न सहज हुन्छ । यद्यपी, केही वैज्ञानिकहरु मानिसमा गरिने परीक्षण नै प्रभावकारी हुने पनि बताउँछन् । डुक विश्वविद्यालयकी वैज्ञानिक सेल्ली पेरमारका अनुसार बाँदरमा हुने अनुसन्धानलाई जोखिम जनसंख्यामा सुरक्षा अध्ययनका लागि पनि प्रयोग गर्न सकिन्छ ।

कोभिड–१९ खोप लगाएपछि बाँदरका बच्चाले कस्तो प्रतिक्रिया देखाउँछन् भनेर अध्ययन गर्ने योजनामा उनी छिन् । बालबालिकाहरु कोभिड १९ बाट विरलै गम्भिर बिरामी हुने गरेका छन्, त्यसैले उनीहरुबाट यसको संक्रमण फैलनसक्छ । त्यसकारण पनि विद्यालय फेरि खोल्नका लागि बालबालिकालाई खोप लगाउनु महत्वपूर्ण छ । जबकि, अहिलेसम्मको भ्याक्सिनको परीक्षण १८ वर्ष वा त्यसभन्दा माथिका स्वस्थ व्यक्तिमा मात्रै सीमित छ ।

बालबालिकामा परीक्षण नगरेसम्म कोभिड–१९ भ्याक्सिन उनीहरुका लागि सुरक्षित र प्रभावकारी छ या छैन भन्ने विषय अस्पष्ट नै रहनेछ । ‘यस्तो परीक्षणको योजना बनाउन कठिन छ र प्राय भ्याक्सिन निर्माता कम्पनीहरु यसमा आकर्षित हुँदैनन्,’ परमेर भन्छिन् । उनका अनुसार बाँदरका बच्चामा भ्याक्सिन सुरक्षित र प्रभावकारी छ भनेर देखिएपछि बल्ल औषधी निर्माता कम्पनीहरु बालबालिकामा परीक्षण गर्न प्रेरित हुनेछन् ।

रोगका हरेक पक्षमा बाँदरहरु सधैं उत्कृष्ट मोडल भने होइनन् । अत्याधिक प्रयोगमा आउने रिसस माकाक्युस र साइनोमोल्ग प्रजातीसहित अधिकांश बाँदरहरु कोभिड १९ बाट केवल हल्का बिरामी मात्रै हुने गर्छन् । जसकारण, गम्भीर रोगबारे अध्ययन गर्ने वैज्ञानिकहरु हाम्सटर्सजस्ता जनवारप्रति आकर्षित हुँदै छन् । कोभिड १९ बाट संक्रमित हाम्सटर्सहरुमा सुस्तता, तीव्र स्वासप्रश्वास र ११ प्रतिशतसम्म तौल घट्ने लक्षण देखिन्छ ।

‘त्यस्तै, हाम्सटर्सहरुको प्रजनन सहज हुन्छ । उनीहरु सानो हुन्छन् र नियन्त्रणमा राख्न सहज हुन्छ,’ टेक्सास विश्वविद्यालय मेडिकल शाखाकी भाइरोलोजिस्ट भिनेट मिनाचेरीले भनिन् । गैर मानव प्रजातिका बाँदर यसको ठिक उल्टो हुुन्छन् । उनीहरुले राम्ररी प्रजनन गर्दैनन्, उनीहरु तुलनात्मक रुपमा ठूला जनावर हुन् र स्याहारका लागि महंगो छन् । त्यसैले मानिसमा खोप परीक्षणुअघि गैरमानव बाँदर प्रजातिमा गरिने अध्ययन अन्तिम हो, पहिलो होइन ।

त्यसैले, बाँदर केन्द्रमा अनुसन्धान गर्न खोज्ने कम्पनीहरुलाई अन्तरिम रुपमा मुसा प्रजातिको डाटा संकलन गर्न भान रोम्पेले सुुझाव दिने गरेका छन् । ‘मुसामा परीक्षण गर्नु निकै सस्तो हुन्छ,’ राम्पेले भने, ‘गैरमानव बाँदरमा परीक्षण गर्नुुभन्दा यो निकै प्रभावकारी हुनसक्छ ।’ अमेरिकामा धेरै बाँदरहरु जन्माउन र हुर्काउन वर्षौको समय र ठूलो लगानी लाग्छ । एनआइएचको लगानीमा बनेका बाँदर केन्द्रसहित यहाँ सीमितमात्रै प्रजनन केन्द्र छन् । प्रजननबाट टाढा राखिएका बाँदरको प्रयोग अनुसन्धानका लागि पनि गर्न सकिँदैन ।

एचआइएचका वैज्ञानिकहरुकोे समूह सरकारी लगानीमा अध्ययनका लागि १९५६ मा सोभियत बाँदर ल्याबको भ्रमणमा गएको थियो । तर, पछिल्ला वर्षहरुमा बाँदर केन्द्रहरुले थप लगानी जुटाउन संघर्ष गर्नुपरेको छ । आर्थिक कारणले नै २०१५ मा हाभार्डसँग आबद्ध एक अनुसन्धान केन्द्र बन्द भयो । धेरै बाँदरहरुको मृत्युपछि यस केन्द्र बन्द भएको विषयमा प्रदर्शन पनि भएको थियो र यसबारे अनुसन्धान पनि भयो ।

भान रोम्पेका अनुसार वर्षाैअघि क्यालिफोर्निया केन्द्रले अनुसन्धानको माग पूरा गर्नका लागि धेरै बाँदरहरुको उत्पादन थालेको थियो, तर लगानीको अभाव हुँदा बाँदरहरुको व्यवस्थित बासस्थान निर्माण हुन सकेन । अनि, परियोजना सोचेजसरी अघि बढेन । त्यसैले अहिले बासस्थान र बाँदर संख्या घटाइएको छ । अर्थात्, अनुसन्धानकर्ताहरुले महामारीका लागि रणनीतिक बाँदर संरक्षण केन्द्रबारे चर्चा गरेपनि यसमा कहिल्यै लगानी भएन ।

‘यहाँ साँच्चै पूर्वाधार निर्माणका लागि लगानीको खाँचो छ, केवल यो महामारीका लागि मात्रै होइन, भविष्यका महामारीहरुका लागि पनि,’ तुलाने राष्ट्रिय बाँदर केन्द्रका निर्देशक जय राप्पापोर्टले भने । यता, चीनले बाँदरको प्रजननका लागि संरचना निर्माणमा ठूलो लगानी गरेको छ र बाँकी विश्वका लागि ऊ प्रमुख निर्यातकर्ता हो । चीनमा बाँदरको प्रजनन सस्तो छ र यहाँ जनावरको अधिकारबारे अभियान पनि कमै चल्छ ।

अमेरिकाको बायोफर्माक्युटिकल उद्योग विशेषगरी चिनियाँ बाँदरमै निर्भर छ । अमेरिका र चीनबीचको व्यापार युद्धले पहिल्यै बाँदरको आयातलाई महंगो बनाइसकेको थियो । त्यसपछि जब यस वर्षको सुरुमा महामारी आयो, तब चीनले बाँदरको निर्यात पूर्णत बन्द गर्यो । ‘मैले कुनै गैर मानव प्रजातिको बाँदर चीनबाट बाहिरिने देखिरहेको छैन,’ नेशनल एशोसियनसन फर बायोमेडिकल रिसर्चका अध्यक्ष माथियुआर बेइलीले भने ।

चीनका वैज्ञानिकहरु आफैं कोभिड १९ को उपचार पत्ता लगाउने औषधीको दौडमा छन्, यस्तोमा उनीहरुले ती जनावरलाई आफ्नै अध्ययनका लागि राख्न चाहेको विज्ञहरुको अनुमान छ । बेइलीका अनुसार बाँदरका लागि चीनसँग निर्भर रहनु रणनीतिक समस्या हो । बाँदरमा गरिने अध्ययन अमेरिकामा गर्न गाह्रो हुन्छ भने यस कामलाई विदेशमा पनि गर्न सकिन्छ । ‘तर, के यसका लागि अमेरिकी जनता सहमत छन् ? हामी उपचार र औषधीको विकास यहाँ गर्न चाहन्छौं वा त्यसको विकास अन्य देशमा हुँदा पनि सन्तुुष्ट छौं,’ बेइलीको प्रश्न छ ।

एकातर्फ धेरैले कोभिड १९ विरुद्धको युद्धका लागि अन्तर्राष्टिय सहकार्यको माग गरेका छन्, अर्कोतर्फ यति नै बेला भ्याक्सिन राष्ट्रवाद जागेको छ । जुन देशले पहिले भ्याक्सिन विकास गर्छ, उनले आफ्नै नागरिकका लागि यसलाई सञ्चय गरेर राख्ने त्रास पनि छ । अहिलेको बाँदर संकटले वैज्ञानिकहरुलाई अनुसन्धानमा प्रयोग हुने जनवारको संख्या कसरी कम गर्न सकिन्छ भनेर सिजर्नात्मक रुपमा सोच्न बाध्य पनि गराएको छ ।

नेपालीमा अनुवादित द एटलान्टिकमा प्रकाशित सारा झाङको रिपोर्ट