Loading... आजः ८ आश्विन २०७७, बिहीबार

बाढी र पहिरोले ८०० रोपनीमा लगाएको बालीनालीमा क्षति

बाढी र पहिरोले ८०० रोपनीमा लगाएको बालीनालीमा क्षति

सल्यान । भदौ पहिलो साता आएको अविरल वर्षासँगैको बाढी तथा पहिरोले सल्यानमा ८०० रोपनीभन्दा जग्गामा लगाइएको बालीनालीमा क्षति पुगेको पाइएको छ । १ र ३ गते आएको वर्षासँगैको बाढीले खेतीयोग्य जमिन कटान गरेका छ भने पहिरोले जमिन पुरेको छ ।

बाढीपहिरोले सबैभन्दा बढी बागचौर नगरपालिका र छत्रेश्वरी गाउँपालिकामा क्षति पुर्याएको कृषि विकास कार्यालय सल्यानले जनाएको छ । कार्यालयका अनुसार बागचौर नगरपालिकामा ३०० रोपनीमा लगाएको मकै, ५५ रोपनीमा लगाएको आलुमा क्षति गरेको छ ।

यस्तै, बनगाड कुपिण्डे नगरपालिकामा ४५ रोपनीमा लगाएको धानमा क्षति पुगेको कृषि कार्यालयका सूचना अधिकारी रेशमबहादुर बस्नेतले जानकारी दिए । छत्रेश्वरी गाउँपालिकामा सबैभन्दा १०० रोपनीमा लगाएको मकैबालीमा क्षति पुगेको छ ।

त्यस्तै दार्मा गाउँपालिकामा २० रोपनीमा लगाएको मकै, कुमाखमा ६० रोपनीमा लगाएको धान, छत्रेश्वरीमा ९५ रोपनीमा लगाएको धान, १५ रोपनीमा लगाएको सुन्तला र त्रिवेणी गाउँपालिकामा ७० रोपनीमा लगाएको मकै र ४० रोपनीमा लगाएको धानमा पूर्ण र आशिंक क्षति पुगेको छ ।

कृषि कार्यालयका सूचना अधिकारी रेशमबहादुर बस्नेतले क्षतिको पूर्ण विवरण आउन अझै केही समय लाग्ने बताउँदै क्षति भएको ठाउँको स्थलगत अनुगमनपछि मात्र एकिन विवरण आउने जानकारी दिएका छन् ।