Loading... आजः १५ आश्विन २०७७, बिहीबार
बेरोजगारीको पीडा

‘रोजगारी नपाएपछि फेरि भारततिरै’

‘रोजगारी नपाएपछि फेरि भारततिरै’

बाँके । भेरीगंगा नगरपालिका–५ सुर्खेतका राजु खत्री करिब १३ वर्षदेखि भारतमा काम गर्दै आएका छन् । महत्वपूर्ण चाडवाड र कामका लागि घर आउजाउ गर्ने खत्री अन्य समयमै भारतको गुजरातमै बस्छन् । नेपालमा रोजगारी नपाउने भएपछि उनी त्यहाँ मजदुरी गरेर नेपालमा रहेका घरपरिवारको खर्च धान्दै आएका छन् । उनी गुजरातस्थित एक होटलमा वेटर इन्चार्जका रुपमा काम गर्दै आएका थिए ।

कोरोनाको कहरले अहिले जेठ अन्तिम साता घर फर्किए । खत्री भन्छन्, ‘नेपालमा केही काम नपाएपछि परिवार धान्न भारत पसेको १३ वर्ष भयो, राम्रै गरी परिवारको खर्च आइरहेको थियो, कोरोनाका कारण भएको काम छाडेर नेपाल फर्किए, यहाँ पनि काम पाइएन । रोगले भन्दा भोकले मरिन्छ कि भन्ने चिन्ता लाग्यो । यहाँ रोजगारी नपाएपछि फेरि भारततिरै फर्किँदैछु ।’

नेपाल फर्किएपछि बेरोजगार हुँदा परिवारको खर्च धान्नै धौ–धौ परेको उनले बताए । ‘यहाँ फर्किएपछि के गर्ने भन्ने चिन्ताले पिरोलिरहेको थियो । नेपालमै बस्नु परेकाले के गर्ने भन्ने अन्यौल भयो । व्यापार व्यवसाय गर्न आर्थिक अभावले सम्भव थिएन । अरु कुनै रोजगारी नपाउँदा फेरि पुरानै काममा जान लागेको हुँ । उहाँ होटल मालिकसँग पनि कुरा भएको छ । त्यही जान्छु ।’

भारतमा कोरोना संक्रमण बढेपछि नेपाल फर्किएका बनगाड कुपिण्डे नगरपालिका–३ का दिपक बिष्ट पनि यहाँ रोजगारी नपाएपछि पुनः भारततिरै फर्किएका छन् । भारत फर्किने क्रममा नेपाल–भारत सीमा नाका जमुनाहामा भटिएका बिष्टले यहाँ रोजगारी नपाएपछि गुजरात जान लागेको बताए । उनी त्यहाँको एक कम्पनीमा सेक्युरिटी गार्डको काम गर्दै आएका थिए ।

कोरोना संक्रमण फैलिएसँगै कम्पनी बन्द भएपछि उनी घर फकिएका थिए । जेठ दोस्रो साता नेपाल फर्किएका उनले यहाँ रोजगारी नपाएपछि घरपरिवार पाल्नकै लागि पुरानै कम्पनीमा फर्किन लागेको बताए । ‘कम्पनी खुलेको छ, मालिकसँग फोनमा कुरा हुँदा काममा बोलाएकाले फेरि जान लागेको हुँ । उता नगए यहाँ रोजगारी पाइँदैन । परिवार कसरी पाल्ने ?,’ बिष्टले भने ।

कम्पनी बन्द भएपछि नेपाल फर्किएका उनी स्वदेशमै रोजगारी पाए भारत जाने पक्षमा थिएनन् । तर, आर्थिक अवस्था कमजोर रहेको र यहाँ कुनै पनि रोजगार नपाएपछि भारततिरै फर्किन बाध्य भएको बिष्टले बताए । ‘नेपालमा ठुला उद्योगधन्दा छैनन्, सरकारले रोजगारी दिँदैन । अनि कसरी पारिवार पाल्नु ? भोकले भर्नुभन्दा बिदेश जानैपर्यो,’ बिष्टले भने ।

तस्वीर : विमल चन्दको फेसबुकबाट ।

गुभाकोट नगरपालिका–१ सुर्खेतका दिलबहादुर पुन जेठमा भारतको नयाँ दिल्लीबाट घर फर्के । नेपालगन्जको जमुनाहा नाकाबाट सयौंको भीड छिचोल्दै आएका उनी १४ दिनको क्वारेन्टाइनको बसाईपछि घर पुगे । ‘भारतकै नोकरीले घर धानिएको थियो, खाना बस्न तिरेर घर पठाउन पनि रकम बाँच्थ्यो, यहाँ फर्किएपछि परिवारको खर्च धान्नै गाह्रो भयो,’ उनले भने ।

उनले नेपालमा रोजगारी नपाएर फेरि भारत जानुपरेको बताए । ‘अब झन लाखौ मानिसहरु फर्केका छन्, के काम पाउला ?’ पुनले भने, ‘कोरोनाको चिन्ताभन्दा अबका दिनमा घर कसरी धान्ने ? काम के गर्ने ? भन्ने चिन्ताले सतायो । यहाँ रोजगारी पाइने सम्भावना नदेखेपछि उतै फर्किन्छु । यहाँ बेरोजगार हुनुभन्दा भारतमा पुगेपछि सानोतिनो केही न केही काम त पाइन्छ ।’

भारतबाट फर्केका अधिकांस युवाहरुले चाहना स्वदेशमै सीप अनुसारको काम गर्ने थियो । तर उनीहरुले यहाँ कहिँकतै रोजगारी पाउन सकेनन् । अनि पुरानै नियति व्यहोर्दै भारततिरै फर्किनुको विकल्पमात्रै उनीहरुले भेटे । भारत लगायत तेस्रो मुलुकबाट फर्किएका लाखौं मानिसहरुलाई स्थानीय तहहरु मार्फत संघीय सरकारले उनीहरुको सीपको पहिचान गरेर स्वरोजगारमुलक काममा लगाई हाल्नुपर्दथ्यो ।

तर, यहाँ उद्योगधन्दा र कलकारखाना नभएकाले जागिर नपाइने भएकाले यहाँ रोजगारी नपाउँदा विदेशिनुपर्ने बाध्यता छ । सम्भावना कृषिमै हो, भारतबाट बढी आयात हुने कृषि उपजको तथ्यांकका आधारमा, आयात प्रतिस्थापन हुने गरी कृषि उत्पादनमा लगाउनुपर्छ । सरकारले, विदेशबाट हुने आयातको मुल्य भन्दा नेपाली उत्पादन सस्तो कसरी हुन्छ भन्ने योजना ल्याउनुपर्छ ।

देशमा रोजगारीका अवसर नभएकै बेला कोरोनाका कारण वैदेशिक रोजगारीमा रहेका युवाहरु स्वदेश फर्किएपछि झन बेरोजगारी बढ्यो । त्यसका लागि संघ प्रदेश र स्थानीय सरकारले कृषि उत्पादन र ब्यवसायमा लाग्नका लागि हौसला दिने कार्यक्रमहरु ल्याउन सकेनन् । स्वदेशमै केही गर्नुपर्छ भनेर ब्यवसायमा लगानी गरेका, कृषि कर्म गरेका युवाहरु पनि निरास नै बने ।

कृषि उपजको बजार छैन, बजारमा भारतीय उपज प्रतिस्पर्धामा छ । नेपाली उत्पादनले बजार नपाएपछि उनीहरु निरास हुने गरेका छन् । अझ कर्णाली प्रदेशका पहाडी जिल्लामा कृषि उत्पादन कम हुने भएकाले बर्षमा ६ महिना पनि खर्च धान्न धौ–धौ हुने भएपछि युवाहरु बिदेश पलायन हुँदै आएका छन् । पहाडी तथा हिमाली क्षेत्रका नागरिकहरुलाई परिवारको खर्च धान्नकै लागि बिदेशिनुपर्ने बाध्यता छ ।