Loading... आजः १५ आश्विन २०७७, बिहीबार
संस्मरण

कोरोना संक्रमणमुक्त डा.रोमा भन्छिन्, ‘पहिले सहन गाह्रो, अहिले अवसर र अनुभव’

कोरोना संक्रमणमुक्त डा.रोमा भन्छिन्, ‘पहिले सहन गाह्रो, अहिले अवसर र अनुभव’

म बालरोग विशेषज्ञ डा.रोमा बोरा । नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जमा विगत नौ वर्षदेखि कार्यरत छु । यो विश्वभरि फैलिएको महाब्याधी कोरोनाले विश्वलाई नै आक्रान्त पारेको वेला मलाई पनि अछुतो छोडेन । कोरोनाको भाइरसले विश्व आक्रान्त हुँदा मेरो मनमा पनि पिरलो थपिएको थियो । कहिँ यो रोग लाग्ने त होइन भनेर । यहि श्रावण १५ गतेदेखि मलाई कमजोर महसुस हुने, केहि गर्न पनि तागत नलाग्नेजस्ता शारीरिक अस्वस्थता देखिन थाल्यो । मनमा आफुलाई कोरोना भएकोजस्तो शंका नै थिएन, आफुलाई विशेष ख्याल गर्न थाले, पोषिलो तत्वबाट कमजोरीलाई हटाउन कोशिस गरे ।

तर पनि मलाई ठीक हुनुको सट्टा विस्तारै घाँटीमा खसखस अनि रुघा पनि लाग्न थाल्यो । अब मलाई लाग्न थाल्यो कि मलाई कोरोना भयो कि ? तर परिक्षण गर्ने हिम्मत आएन । नतिजा पोजेटिभ आयो भने कसरी व्यवस्थापन गर्ने ? तर फरि परिक्षण नगरौँ त घर परिवार, छरछिमेक अनि जचाउन आउने बिरामीसँगै काम गर्ने सहकर्मीहरुलाई साथै सम्पूर्ण मेरो सम्पर्कमा आउने स्वास्थ्यकर्मीहरुलाई रोग सारी अन्याय पो हुन्छ कि भन्ने सोचे अनि आफ्नो घाँटीको स्वाब परीक्षण गर्न दिएँ । मलाई आफ्नो परिक्षणको नतिजा कुर्न साह्रै गाह्रो भयो ।

अन्तमा दुई दिनपछि नतिजा आयो जुन पोजेटिभ थियो । जुन कुरा मेरो लागि असहय थियो । जसलाई स्वीकार गर्न मलाई निकै नै गाह्रो भयो । पोजेटिभ रिपोर्ट आएपछि यसलाई सहज बनाउन मैले मेरो परिवारको सहयोग लिए । आफ्नो कुरा पहिला आफ्नो श्रीमानसँग राखे पोजेटिभ रिजल्टको बारेमा अलि मन हल्का भयो । जुन कुरा नहोस् भन्ने लाग्थ्योे त्यही भयो, सुरुमा त सहन निकै गाह्रो भयो । तर सहनैपर्ने अर्को बाध्यता पनि थियो । मेरो पोजेटिभको चिन्ताभन्दा पनि मेरो सानो ६ वर्षको बच्चालाई छोड्नुपर्ने अनि आफ्नो परिवारसँग लामो समय छुुुट्ने चिन्ताले साह्रै नै पिरोल्यो ।

त्यतिबेला मैले मेरा स्वास्थ्यकर्मीहरुलाई सजग गराएकी, टष्ट गराउन र स्वंम् आइसोलेसनमा बस्न । मलाई त्यति वेलासम्म बच्चासँग वुवा हुने भएकोले त्यति साह्रो पिडा थिएन । म सजिलै आफ्नो १४ दिने आइसोलेसन बस्ने सामाग्री प्याकिङ्ग गरि निस्के । जाने अनि बस्ने ठाउँको व्यवस्थापन अपेक्षा गरे जति पाएन । किनकि म पहिलो स्वास्थ्यकर्मी पोजेटिभ थिए । त्यसको भोलिपल्ट मैले प्रशासनसँग अनुमति लिई होटल सिटी प्यालेस सर्ने निर्णय गरे र सरे पनि । त्यसपछिको कन्ट्रयाक ट्रेसिङ्गमा तीन दिन पछाडि मेरो श्रीमानको पनि कोरोना पोजेटिभ आयो । सो समाचारले म पछाडि पहाड टुटेजस्तो लाग्यो तर पनि फेरि मैले हिम्मत जुटाएर आफ्नो श्रीमानलाई आफू बसेको होटेलमा बोलाए । जहाँ हाम्रो बच्चा ल्याउन मिल्ने अवस्था रहने किनकि उ नेगेटिभ थियो ।

मेरो सानो परिवार अनि त्यसमा पनि हामी दुवैको कोरोना पोजेटिभ त्यो बच्चालाई कसले हेर्ने समस्या त्यहाँ निर आयो, म आफै बच्चाको डाक्टर भएको कारण मैले बच्चाको धेरै पक्षबाट विश्लेषण गरे । १४ दिनसम्म एउटा सानो बच्चा बाबाआमा बिना बस्दा उसको शारीरिक मानसिक स्वास्थ्य कस्तो रहने भन्ने कुराले मलाई अझै चिन्तित बनायो । म यो कोरोना कहरको दह्रो जन्जिरले बाँधिएकी थिए, यसका निती नियमले बच्चाको बारेमा बोलेको थिएन सायद त्यो नीति बनाउने मान्छेहरुको बच्चा थिएन या उनीहरुको कमजोर गृहकार्यबाटै निती बनेको थियो । म अलिकति पनि भाग्यमानी यो सम्झिन्छु, अनि मेरो रुममा बच्चालाई स्याहार गर्ने बहिनीको कोरोना रिपोर्ट नेगेटिभ आयो । जसले गर्दा एउटा सानो आशाको दियो बल्यो ।

त्यो मेरो दुःखको घडीमा एउटा कोरोना पोजेटिभ आमा वुवाको बच्चा हेर्न तयार भएकी एकल महिलाप्रति ममा धेरै कृतज्ञता पलायो र मैले उसलाई कोरोना जितेर फर्केपछि तिम्रो र तिम्रो बच्चा दुवैको सम्पूर्ण जिम्मेवारी लिने वचनवद्धता जनाए । जसले दुुःखको बेला सौहादर्ता देखाउँछ र उनीहरु आफ्ना हुन् भन्ने लाग्यो चाहे घरकै परिवार नभएर अरु किन नहोस् । त्यो १४ दिनको जेलको सजाय भन्दा पनि कडा जस्तो लाग्ने समय हामीलाई बिताउनु नै थियो तसर्थ यसलाई सकरात्मक दृष्टिले नहेर्दा सम्भव थिएन । हामीसँग एउटा सानो बच्चाको दुरीको दर्द त थियो नै । तैपनि एक दिन ठीक भएर भेट्ने आशाको दियो मनमा जलाएर मनोवल बढाउँदै दिनहरु बित्न थाले ।

हामी दुई जना थियौं, त्यसैले पनि एक अर्कालाई साहास प्रदान गर्यौँ । फेरि यो संक्रमणलाई अवसरको रुपमा पनि लियौँ, एउटा नयाँ अनुभव, भोलि यसलाई जितेर जान पाउँदाको अरुलाई दिने सन्देशका कुराहरु त आखिर भोगाइले नै सिकाउने कुरा थिए । हामीले आफ्नो दिनचर्या बनायौँ, सकरात्मक सोँचको विकास मनमा जगायौँ, व्यायाम गर्यौँ, योगा अनि टाइम टाइममा पौष्टिक आहारको भोजन गर्यौँ । एक अर्कामा रमाइला कुराहरु पलसँगै साटासाट गर्यौँ । हामीलाई यस्तो लाग्थ्यो कि कहिलेकाँही त हाम्रो स्टाटस नजै हराएको , जात पनि घटेको जस्तो समाजले गरेको व्यवहारलाई पनि सकरात्मक तरिकाले उनीलाई पनि कोरोना हुन सक्छ नजिक नआएकै राम्रो भनेर लियौँ ।

अन्तमासबै नेपाली दाजुभाई दिदीबहिनीहरु अहिले घरभित्रै बसिरहनुभएको छ । कोरोनाबाट सुरक्षित रहनका लागि सबैजना घरमै रहनुहोला । तपाईहरु साधारण बिरामी भएमा नआत्तिनुहोला । अहिले कोरोना संक्रमितहरुको संख्या बढिरहेकाले अस्पताल ओभरफ्लो हुनसक्छन् । त्यसैले अहिले साधारण अवस्थामा घरबाहिर ननिस्किनुहोला । यदी तपाईहरुलाई श्वासप्रश्वासमा समस्या आएमा कोरोनाको आशंका हुनसक्छ । यदी त्यस्तो अवस्था आएमा तत्कालै जतिसक्दो छिटो अस्पताल जानुहोला । हाम्रो भोगाइबाट सिकेका केही कुराहरु कोरोना रिपोर्ट पोजेटिभ हुँदैमा डराइहाल्नुपर्दैन, यसलाई उच्च मनोबल र हिम्मतले जित्न सकिन्छ, त्यो सबैकुरा आफन्तहरु, साथीभाइहरु अनि आत्मियहरुबाट पाउने राम्रो व्यवहार र आपसी सहयोगबाट नै प्राप्त हुन्छ । त्यसैले नआतिऔं, नअत्याऔं । कोरोनाका कारण बिरामी हुनुभएका सम्पूर्णमा सीघ्र स्वास्थ्य लाभको कामना ।

(लेखक नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जमा कार्यरत बालरोग विशेषज्ञ हुन् ।)