Loading... आजः १५ आश्विन २०७७, बिहीबार
अन्तर्वार्ता

‘छ महिनापछि पर्यटक ल्याउन अहिल्यै व्यवसाय खोल्नुपर्छ’

‘छ महिनापछि पर्यटक ल्याउन अहिल्यै व्यवसाय खोल्नुपर्छ’
चोलेन्द्र कार्की, प्रथम उपाध्यक्ष, ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान)

कोरोना महामारीका कारण पुरै ठप्प भएका विभिन्न पेसा व्यवसायमध्ये पर्वतीय पर्यटन क्षेत्र पनि एउटा हो । नेपालमा विदेशी पर्यटक ल्याउने मुख्य क्षेत्र ठप्प हुँदा देशमा विदेशी मुद्रा आर्जनसँग सम्बन्धित व्यवसायी र मजदुर समस्यामा परेका छन् । विदेशी पर्यटक आउँदा सम्बन्धित व्यवसायी, मजदुरसँगै अप्रत्यक्षरुपमा कृषि, हस्तकला लगायतका अरु धेरै क्षेत्रका व्यवसायी समस्यामा परेका छन् ।

यो क्षेत्रको समस्यासँगै संसारमै उत्कृष्ट मानिएको र नेपालमा पर्यटक आउने मुख्य माध्ययम कहिलेसम्म ठप्प राख्ने ? यो व्यवसाय चलायमान बनाउँदै लैजाने कुनै उपाय छ कि ? यसै विषयमा पर्यटन व्यवसायीहरुको संस्था ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान)का प्रथम उपाध्यक्ष चोलेन्द्र कार्कीसँग गरिएको कुराकानीको सम्पादित अँश ।

पर्वतीय पर्यटन व्यवसायको अवस्था कस्तो छ ?

कोरोना महामारीका कारण पर्वतीय पर्यटन व्यवसाय पूर्णरुपमा बन्द छ । लकडाउन तथा त्रासका कारण सबैजस्तो क्षेत्र समस्यामै छ । त्यसमा पनि पर्वतीय पर्यटन व्यवसाय पुरै ठप्प छ । नेपालमा लकडाउन सुरु हुनुभन्दा अगाडि अर्थात माघरफागुनमै चिनियाँ पर्यटक आउने सिजन पनि चीनमा बढेको महामारीका कारण प्रभावित भयो भने अन्तर्राष्ट्रिय उडान बन्द र लकडाउन पछि त यो क्षेत्र ठप्प हुने नै भयो । लकडाउनपछि पर्वतीय क्षेत्रमा पर्यटक घुमाउने कम्पनीका कार्यालयमा ताला झुण्डिएका छन् । मजदुरहरुले रोजिरोटी गुमाएका छन् भने सम्बन्धित होटल, पसल लगायत पनि सुनसान भएका छन् ।

पर्वतीय पर्यटन व्यवसाय ठप्प हुँदा प्रभाावित भएको क्षेत्र कुन–कुन हुन् र कति जतिको क्षति भएको अनुमान गर्न सकिन्छ ?

क्षतिको त अनुमान लगाउन पनि मुश्किल छ । हिमाल आरोहणको एउटा मुख्य सिजन (चैत–जेठ) पुरै ठप्प भयो । आरोहणसँगै पर्यटकहरु धेरै घुम्न आउने (भदौ–कात्तिक) पनि ठप्प हुने पक्का छ । यसबाट पर्यटन व्यवसायी, होटल व्यवसायी, एअरलाइन्स, सडक यातायात व्यवसायी, मजदुरदेखि किसानसम्ममा प्रभाव परेको छ । सिधा हेर्दा विदेशबाट पर्यटक सम्पर्कमा ल्याउने, उनीहरुलाई घुमाउने, खानपान र बासस्थानको व्यवस्था गर्ने मानिसहरु प्रभावित भएको देखिए पनि यसको सम्बन्ध धेरैतिर छ ।

पर्यटकका लागि खुवाउन उत्पादन गर्ने किसानदेखि पर्यटकहरुलाई हस्तकलाका सामग्री बेच्ने मानिस, ट्याक्सीररिक्सा सञ्चालक र बाटोमा पानी बेच्ने मानिसलाईसम्म प्रभाव परेको छ । यसैले यसको क्षति अनुमान गर्नै मुश्किल छ । व्यवासायीसँगै झण्डै आठ लाख मजदुर सिधै समस्यामा छन् । अप्रत्यक्ष रुपमा समस्यामा पर्ने धेरै छन् ।

सन् २०२० मा नेपाल भ्रमण वर्ष घोषणा भएको थियो । कत्तिको उत्साह थियो ?

सरकारले भ्रमण वर्ष घोषणा गरेको थियो । सरकारको तयारी केही अपरिपक्व देखिए पनि हामी व्यवसायीहरुले त्यसमा साथ दिएका थियौं । हाम्रो तर्फबाट प्रचारदेखि लगानी थप्ने काम पनि भैरहेको थियो । व्यवसाय नै ठप्प हुँदा त्यो थपिएको लगानी तथा प्रचारप्रसारका लागि गरिएको लगानी समेत डुब्यो । सरकारले गरेको लगानी पनि खेर गएको छ ।

यो वर्ष पर्यटक धेरै आउँछन् भनेर हिमाली क्षेत्रका व्यवसायीहरुले पनि लगानी थप्नुभएको थियो । जस्तो खुम्बुमा पर्यटकका लागि भनेर लगिएको धेरै खानेकुराको उपभोग्य म्याद सकिएर नोक्सान भएको व्यवसायीहरुले गुनासो गरिरहनुभएको छ । यस्तै होटलहरु थपिएका थिए वा सुविधा थपिएका थिए । त्यो सबै लगानी डुबेको छ । हामीले मनाउन लागेको भ्रमण वर्षमै महामारी आउँदा पर्वतीय पर्यटनको क्षेत्र थप जोखिममा पर्यो ।

विश्वव्यापी महामारी बढिरहेकै छ । अब कहिलेसम्म यस्तो अवस्थामा रहने ? विकल्पको बारेमा छलफल सुरु भएको छ कि छैन ?

यो व्यवसाय कहिलेसम्म ठप्प हुने भन्ने अनुमान लगाउनै मुश्किल छ । पर्वतीय पर्यटन भनेको विदेशी पर्यटकमा आधारित हो । केही आन्तरिक पर्यटकहरु पनि घुम्न जानुहुन्छ तर त्यो नगन्य छ । जति पनि लगानी भएको छ त्यो विदेशी पर्यटकलाई नै लक्षित गरिएको छ । अहिले नै विदेशबाट मानिसहरु घुम्न आउँछन् र यो व्यवसाय सञ्चालनमा आउँछ भन्ने आशा गर्ने ठाउँ छैन । यो भदौ–असोजको सिजन अब ठप्प हुने नै भयो । अर्को सिजन फागुन चैतमा सुरु हुने हो । त्यो सिजनमा पर्यटक आउने आशा गर्दा पनि छरसात महिना त पुरै ठप्प हुन्छ ।

अब विकल्पको कुरा गर्दा आजको भोलि विदेशबाट पर्यटक आउँछन् भन्ने छैन । आन्तरिक पर्यटकलाई घुमाउने एउटा विकल्प हुन सक्छ । तर यहाँ पनि लकडाउनका कारण अर्थतन्त्रमा समस्या आएकोले मानिसहरु कतिको घुम्न निस्कन्छन् भन्ने हो । यस्तै कोरोनाबारेमा जुन बुझाइ र नयाँ मानिसप्रति गर्ने व्यवहार छ, त्यसका कारण पनि मानिसहरु तत्कालै घुम्न निस्कने संभावना छैन । महामारीका बीच त्यो उपयुक्त पनि हुन्न । त्यसैले अहिले नै यो व्यवसाय पूर्ण सञ्चालन गर्ने विकल्प देखिएको छैन । अब व्यवसायी तथा यो क्षेत्रका मजदुरहरु व्यवसाय नै छाडेर अरु व्यवसायतर्फ लाग्ने खतरा भने बढ्दै गएको छ ।

तर तपाईँहरुले त सरकारसँग एअरलायन्स लगायत पर्यटन व्यवसाय खुलाउनुपर्छ भनेर सरकारसँग माग गर्नुभएको छ नि ?

हो हामीले माग गरेका छौं । सुरक्षाका मापदण्ड अपनाएर होटलहरु खोल्न पाउनुपर्छ । आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान नियमित गर्नुपर्छ । आरोहण लगायत हिमाली क्षेत्रमा घुमघाम खुलाउनुपर्छ भन्ने माग हामीले गरेकै हो । तर यसको अर्थ सबै खुलाएर एकाएक विदेशवाट पर्यटक आउँछन् उनीहरुलाई घुमाउन लगिहाल्छौं, हिमाल आरोहणमा पठाइहाल्छौँ भन्ने हाम्रो कुरा हैन । अहिले सुरु भएको सिजन अब खेर गैसकेको छ । छ महिनापछि सुरु हुने सिजनका लागि पनि अहिलेदेखि नै तयारी गर्नुपर्छ ।

अब यहाँ घुम्न पठाउँछौं भन्नासाथ विदेशीहरु आइहाल्दैनन् । उनीहरुले पनि योजना बनाउनुपर्छ । यहाँको व्यवसाय चलायमान भएको थाहा पाउनुपर्छ । यता यात्रा तय गरेर बिदा मिलाउनुपर्छ । केही महिनामा यी प्रक्रिया पूरा गरेर बल्ल पर्यटकहरु नेपाल आउने हुन् । त्यसैले ६ महिनापछि नेपालमा पर्यटक ल्याउनका लागि पनि अन्तर्राष्ट्रिय उडानहरु नियमित बनाउनुपर्छ । होटलहरु खुलाउनुपर्छ । त्यसमा स्वास्थ्यका मापदण्ड पूरा गरेर केही व्यवसाय सुरु होला वा नभए पनि अर्को सिजनका लागि तयारी गर्न पनि यी क्षेत्रहरु खुलाउनुपर्छ भन्ने हाम्रो माग हो ।

तर खुल्ला गरेपछि केही पर्यटक आउलान् पनि । अहिले नै पर्यटक आए भने चाहिँ सुरक्षित यात्राको संभावना कतिको छ ?

अब सधैंभरी कोरोनाको त्रासमा रहेर कहिलेसम्म देशलाई ठप्प बनाउने ? विकल्पहरु खोज्नुपर्छ । कोही विदेशी घुम्न आउँछु भन्छ भने उसको देशबाट आउनुभन्दा केही दिन अघिको पीसीआर रिपोर्ट, यहाँ आएपछि सुरक्षित रुपमा होटलमा लगेर केही दिन क्वरेण्टीन र पुनः पीसीआर परीक्षण गरी उ संक्रमणमुक्त छ भनेपछि सुरक्षित यात्रा गराउँदै पर्वतीय क्षेत्रहरु घुमाउन सकिन्छ ।

यो काम सरकारले तोकेका स्वास्थ्यका मापदण्डहरु पूरा गरेर गर्न हामी व्यवसायीहरु तयार छौं । यो महामारी वर्षौंसम्म जाला के हाम्रो दैनिकी नै ठप्प पारेर बस्ने ? यो हुँदैन सुरक्षित हुँदै हाम्रो दैनिकी चलाउनुपर्छ । सङ्क्रमणको जोखिम कम गर्न सरकारले तोकेका काम गर्न तयार छौं तर सरकारले पनि व्यवसायीहरुका समस्या सुन्नु र समाधान खोज्नुपर्छ ।

अहिलेको समस्याले गर्दा आउँदा दिनमा नेपालमा पर्वतीय पर्यटकहरु घट्ने संभावना चाहिँ कतिको छ ?

विश्वव्यापी समस्या भएकोले कोरोना प्रभाव बिश्वकै पर्यटन व्यवसायमा परेको छ । यो नेपालमा पर्दैन भन्ने हैन । नेपालमा सबै वर्गका पर्यटक आउने भएकोले कोरोना महामारीले अर्थतन्त्रमा पारेको प्रभावका कारण यहाँ आउने पर्यटक पनि घट्न सक्छन् । तर महामारीबाट दैनिकी सामान्य बन्दै गएपछि यस अघि आएको संख्यामा पर्यटक आउने कुरामा त्यत्ति धेरै शंका गर्नु पर्दैन ।

अहिले हामीसँग सम्पर्कमा रहेका पर्यटकहरु तिमीहरुको देश कहिले घुम्न पाइएला भनेर सोधिरहन्छन् । कतिपयले त आफ्नो बुकिङ रद्द नगरी अर्को सिजनका लागि सारेका पनि छन् । नेपाल पर्वतीय पर्यटनका लागि विश्वमै उत्कृष्ट र छुट्टै विशेषता भएको क्षेत्र हो । त्यसैले पर्यटक आउनै रोकिन्छ भन्ने छैन । तर छ महिना पनि आउने पर्यटकको तयारीका लागि अहिलेदेखि नै यो क्षेत्र चलायमान बनाउनुपर्छ भन्ने हाम्रो कुरा हो ।

लकडाउनबाट तपाइँहरुको व्यवसायमा परेको प्रभावमा सरकारको साथ कस्तो छ ?

महामारी नियन्त्रण तथा राहातमा आम नागरिकको जस्तो गुनासो छ, हाम्रो पनि त्योभन्दा फरक छैन । महामारी नियन्त्रणमा प्रभावकारी काम भैरहेको छैन भने व्यवसाय जोगाउनेतर्फ पनि काम भएको छैन । बजेट र मौद्रिक नीतिले केही आशा जगाएको भए पनि त्यसको कार्यविधि बनाउने तथा कार्यान्वयनको चरणमा लैजाने काम अझै भएको छैन । त्यसैले सरकारले अहिलेसम्म नीति वा राहातमा कुनै काम गरेको छैन ।

हामीले यो व्यवसाय जोगाउन सरकारसँग सहुलियत व्याजमा ऋण मागेका छौं । छलफलको चरणमा भए पनि त्यो कार्यान्वयनको चरणमा गएको छैन । यो क्षेत्रका मजदुरहरु ज्यादै समस्यामा हुनुहुन्छ, उहाँहरुको रोजीरोटीका लागि पनि सरकारसँग छलफल गरेका छौं, तर सरकारले गम्भीर रुपमा लिएको छैन ।

मजदुरहरुको कुरा गर्दा अघि तपाइँले प्रत्यक्ष अप्रत्यक्ष आठ लाखभन्दा धेरै मजदुर भन्नुभयो । त्यसमा पनि हिमाल आरोहण, हिमाली क्षेत्रको गाइड लगायतका क्षेत्रमा आबद्ध मजदुर विशिष्ट क्षमता र सीप भएका हुनुपर्छ । उनीको अवस्था कस्तो छ ? कतै पेसाबाटै पलायन हुने त हैन ?

एकदमै, यो हाम्रो मुख्य चिन्ता पनि हो । हामी व्यवसायी र मजदुर एकअर्कामा निर्भर छौं । मौसमी काम गर्ने मजदुरहरु एउटा, दुईवटा मौसममा बेरोजगार भैसक्नुभएको छ । यसबाट उहाँहरुको गासबास, सन्तानको शिक्षा धेरैतिर प्रभाव परेको छ । व्यवसाय सुरु भैहालेमा पनि उहाँहरुले आफ्नो जीवनयापनलाई पहिलेको अवस्थामा ल्याउन निकै समय लाग्छ । हिमाली क्षेत्रमा जान सक्ने क्षमता भएका मजदुरहरु पेसाबाट विस्थापित भएमा अहिले पर्वतीय पर्यटनका लागि नेपाल विश्वमा सुरक्षा, रोमाञ्चकता लगायतका हिसाबले जसरी प्रख्यात छ त्यो हुँदैन भने व्यवसाय राम्रोसँग अघि बढाउन पनि सकिंदैन ।

त्यस्ता मजदुरहरुको हितका लागि पर्यटन व्यवसासी तथा व्यवसायीहरुको संथाका तर्फबाट पहल भैरहेको छ । तर व्यवसायी नै व्यवसायबाट विस्थापित हुने खतरा भएकोले हामीले राहात लगायतका काम प्रभावकारी बनाउन सकेका छैनौं । यसका लागि सरकारसँग छलफल त गरेका छौँ, तर सरकारले पनि मजदुरहरुको महत्व नबुझेको हो वा जिम्मेवारी नठानेको हो अहिलेसम्म उनीहरुको पक्षमा काम भएको छैन ।