Loading... आजः ५ आश्विन २०७७, सोमबार
कोरोना भाइरस र जनस्वास्थ्य

‘नियमित सेवा अवरुद्ध हुँदा पैदा भएका स्वास्थ्य समस्याहरू गम्भीर चुनौती’

‘नियमित सेवा अवरुद्ध हुँदा पैदा भएका स्वास्थ्य समस्याहरू गम्भीर चुनौती’
डा.तुल्सीराम भण्डारी, जनस्वास्थ्यविद् एवं सहप्राध्यापक पोखरा विश्वविद्यालय

कोरोना भाइरसले सिर्जना गरेको कोभिड–१९ महाव्याधिले सिंगो विश्वलाई हायलकायल बनाएको छ । स्वभाविक रुपमा नेपाल पनि त्यसबाट अछुतो छैन । खासगरी, पछिल्ला चरणमा नेपालमा कोरोनाको प्रकोप तीब्र भएर गइरहेको छ । कोरोनाले सिर्जना गरेका चुनौतिविरुद्ध लड्न सिंगो मुलुकको ध्यान केन्द्रित भइरहँदा जनस्वास्थ्यका अन्य मुद्दाहरु चाहिँ ओझेलमा परेका छन् । यसै सन्दर्भमा नेपालमा जनस्वास्थ्यप्रतिको बुझाइ, कोरोना भाइरसले त्यसमा पैदा गरेका अवरोध र सिर्जना गरेका चुनौतीका सवालहरुमा केन्द्रीत रहेर जनस्वास्थ्यविद् डा.तुल्सीराम भण्डारीसँग कुराकानी गरेको छ । हाल पोखरा विश्वविद्यालयअन्तर्गत सहप्राध्यापकको जिम्मेवारीमा कार्यरत रहेका डा.भण्डारीसँग कोरोना भाइरस संक्रमण र जनस्वास्थ्य सम्बन्धमा गरिएको सोही कुराकानी प्रस्तुत छ :

नेपालको सन्दर्भमा ‘जनस्वास्थ्य’ विषयप्रति आम जनताको बुझाइ के छ ?

जनस्वास्थ्यको चर्चा गर्नु पूर्व म स्वास्थ्यको बारेमा छोटो चर्चा गर्न चाहन्छु । आम जनताले स्वास्थ्य भन्नाले रोग तथा चोटपटक लागेर बिरामी नभई सामान्य दैनिक कार्य गर्न सक्षम भएको अवस्था बुझेको पाइन्छ । त्यसैगरी स्वास्थ्य उपचार भन्नाले पनि यी समस्याहरूको उपचार बुझेको पाइन्छ । तर स्वास्थ्य र स्वास्थ्य उपचार यो भन्दा वृहत अर्थ राख्ने शब्द हुन् ।

विश्व स्वास्थ्य संगठनले आजभन्दा धेरै वर्ष अगाडि सन् १९४८ मा दिएको स्वास्थ्यको परिभाषामै स्पष्ट चर्चा गरेको छ, स्वास्थ्य भनेको रोग तथा दुर्वलताबाट मुक्त हुनु मात्र नभई शारीरिक मानसिक र सामाजिक रुपमा स्वस्थ हुनु हो भनेर । त्यसैगरी रोग भनेको स्वास्थ्यको प्रतिकूल अवस्था हो र यसको व्यस्थापनको लागि मानिसको शारीरिक, मानसिक, सामाजिक, संवेगात्मक, व्यावसायिक आदि पक्षहरूको सम्बोधन गर्नुपर्दछ ।

तर हालसम्म पनि हामी अधिकांशको बुझाइ र प्राथमिकता शारीरिक स्वास्थ्य र उपचारात्मक सेवाहरूमा मात्र रहेको छ । जसको परिणाम स्वास्थ्य क्षेत्रमा थुप्रै लगानी गर्दा पनि आम जनताको स्वास्थ्यमा अपेक्षित सुधार आउन सकेको छैन । यही यथार्थतालाई मध्यनजर गरेर विश्वका केही देशहरूले जनताको स्वास्थ्य सुधाराको लागि उपचारात्मक स्वास्थ्य सेवामा दिएको प्रथामिकताबाट माथि उठेर जनस्वास्थ्यलाई अंगिकार गरी जनताको स्वास्थ्यमा सुधार ल्याउनुको साथसाथै देशको समग्र विकास गर्न पनि सफल भए ।

जनस्वास्थ्यलाई विज्ञान र कलाको रुपमा लिइन्छ जसले व्यक्तिको आफ्नै प्रयासबाट रोगहरूको रोकथाम, नियन्त्रण गरी उसको स्वस्थ जीबन अवधि वृद्धि गर्ने र समग्र स्वास्थ्यको प्रवर्द्धन गर्दछ । यसले जनताको स्वास्थ्य प्रवर्द्धनका लागि उपचारात्मक सेवामा मात्र जोड नदिई रोगको रोकथाम र नियन्त्रणको साथै स्वास्थ्य सुरक्षात्मक तथा प्रवर्द्धनात्मक सेवामा उत्तिकै जोड दिई जनतालाई यी सेवाको उपयोगको लागि उत्प्रेरित गर्दछ ।

जनस्वास्थ्यका लक्ष्य के–के हुन् ? यस अर्थमा नेपाल र नेपाली जनता त्यो लक्ष्यबाट कति टाढा छन् ?

जनस्वास्थ्य आफैंमा बहुविधा समेटिएको एक विधा हो जसको मुख्य लक्ष्य जनताको स्वास्थ्य प्रवर्द्धन गर्नु नै हो । यसले आफ्नो लक्ष्य पूरा गर्न अवलम्बन गरेका मुख्य पाँचवटा रणनीतिहरू : रोगहरुको रोकथाम गर्नु, उत्पन्न रोगहरुको नियन्त्रण वा उपचार गर्नु, रोग तथा दुर्घटनाहरूबाट बच्न सुरक्षात्मक उपायहरू अपनाउनु, स्वास्थ्य प्रवर्द्धनका उपायहरू अवलम्वन गर्नु, जनतालाई सक्षम बनाई स्वास्थ्य समस्याहरुको पहिचान र समाधान गर्नु, हुन् ।

नेपालमा व्यवस्था गरिएका ऐन, नियम, नीति तथा कार्यक्रमहरूलाई विस्लेषण गर्दा देशको प्राथमिकता समग्र जनस्वास्थ्यमा भन्दा उपचारात्मक सेवामा देखिन्छ । निजी क्षेत्रका सेवा प्रदायकहरुलाई त उपचारात्मक सेवा दुहुनो गाई हुनसक्छ तर यसमा गरिएको लगानीबाट जनताको स्वास्थ्यमा अपेक्षित उपलब्धि हुँदैन । यो बालुवामा गरेको सिंचाई जस्तै हो । अतः विद्यमान नीतिगत व्यवस्था, राज्य र नागरिकको प्राथमिकतालाई विश्लेषण गर्दा नेपाली जनताहरू जनस्वास्थ्यको लक्षबाट धेरै टाढा देखिन्छन् ।

कोरोना संक्रमणको करिब पाँच महिनाको अवधिमा नेपालमा जनस्वास्थ्यका क्षेत्रमा के–कस्ता चुनौती देखिए ?

सर्वप्रथम हामी सबैले बुझ्नु पर्ने विषय कोरोना संक्रमण (कोभिड-१९) भाइरसबाट हुने रोग हो । यो भाइरस नयाँ प्रजातिको कोरोना भाइरस दुई (SARS-COV-2) हो । हालसम्म भाइरसबाट हुने रोगहरुको प्रभावकारी उपचार छैन त्यसैले वैज्ञानिकहरू भाइरसजन्य रोगहरूको उपचारभन्दा पनि रोकथाममा केन्द्रित भएको देखिन्छ । त्यसैगरी कोरोना रोगको रोकथामको प्रभावकारी उपाय यसविरुद्धको खोप (Vaccine) हो । कोरोनाको विश्वव्यापी महामारीसंगै विश्वका वैज्ञानिकहरु पनि यस रोगको औषधी निर्माणमा भन्दा पनि खोपको निर्माणमा केन्द्रित रहेको देखिन्छ ।

नेपालमा यस रोगको रोकथाम र नियन्त्रणमा अपनाइएका प्रमुख उपायहरु खासै प्रभावकारी हुन सकेनन् किनकि हालसम्म पनि यो रोगको संक्रमण तीव्ररुपमा फैलिरहेको छ भने अर्कोतर्फ यस रोगको रोकथाम तथा नियन्त्रणको लागि अपनाइएका उपायहरू ः बन्दाबन्दी, निषेधाज्ञा, कर्फ्यु जस्ता तरिकाहरूले देशको आर्थिक विकास ऋणात्मक हुँदै गइरहेको छ, शिक्षा, पर्यटन, उद्घोग, यातायात लगायतका अधिकांश क्षेत्रहरू प्राय निष्क्रिय छन् । नियमित सञ्चालन हुनुपर्ने स्वास्थ्य सेवाहरू समेत अवरुद्ध भइरहेका छन् । जसको कारण अन्य स्वास्थ्य समस्याहरूबाट मातृ तथा शिशु मृत्युदर, कोरा मृत्युदर तथा रोगहरूको रुग्णतादर, मानसिक स्वास्थ्य समस्याहरू, हिंसा, आत्महत्या तथा अन्य अपराधका घटनाहरू बढ्ने हुन्छ, जुन जनस्वास्थ्यको लागि गम्भीर चुनौतीहरू हुन् ।

कोरोना संक्रमणकै कारण केही महिना नेपालमा बालबालिकाका लागि नियमित खोपसेवा प्रभावित बन्यो, यसले दीर्घकालीन रुपमा कुनै समस्या त निम्त्याउँदैन ?

कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणको लागि देशभर गरिएको बन्दाबन्दीको कारणले करिब तीन महिना नेपालमा नियमित संचालन हुने बालवालिका, गर्भवती महिलाहरू र अन्य व्यक्तिहरूलाई दिइने खोप कार्यक्रम पूर्ण प्रभावित हुन पुग्यो जसबाट खोपको प्रभावकारितामा कमी त अवश्य आउँछ । यसरी बीचमा स्थगित गरेर नियमित गरिएको खोपको प्रभावकारिता थप अनुसन्धानको विषय भएको छ । नेपालले यो उमेर समूह (ऋयजयचत)का बालबालिकाहरूमा सम्बन्धित रोग प्रतिरोधात्मक क्षमता पहिचानको लागि थप अनुसन्धान गर्नु अत्यावश्यक देखिन्छ ।

कोरोनाकै कहर बीच कयौँले नियमित स्वास्थ्य सेवा पाउन नसकेको, नियमित स्वास्थ्य परीक्षण गराउनुपर्ने र सोहीअनुसार औषधि सेवन गर्नुपर्ने कतिपय बिरामीले त्यो सुविधा पाउन नसकेको जस्ता समस्या पनि देखियो, यस्ता समस्या आउन नदिन सकिँदैनथ्यो ?

अति सान्दर्भिक प्रश्न, तपाइले उठाएका सवालहरूमा सरकारको स्पष्ट धारणा देखिएन । सरकारले कोरोनाको महामारीसंगै एक्कासी देशमा बन्दाबन्दी घोषणा गर्यो जसको परिणाम स्वरूप अत्यावश्यक र नियमित संचालन गर्नु पर्ने स्वास्थ्य सेवाहरू अवरुद्ध हुन पुगे । बालबालिका, गर्भवती र अन्य नियमित खोप लिनुपर्ने व्यक्तिहरू खोप सेवाबाट बन्चित भए । त्यसैगरी अत्यावश्यक सेवाहरू सञ्चालनमा पनि स्वास्थ्य संस्थाहरुमा अन्योलता देखियो । अधिकांश निजी क्षेत्रका स्वास्थ्य संस्थाहरु बन्द हुन पुगे भने सीमित सरकारी संस्थाहरुमा पनि बन्दाबन्दी, निषेधाज्ञा, यातायातको समस्या आदि कारणहरूले जनताको पहुँच घट्यो ।

आकस्मिक स्वास्थ्य समस्या भएका मानिसहरू, नियमित सेवा आवश्यक पर्ने दीर्घ रोगीहरू तथा गर्भवती महिलाहरु बन्दाबन्दीबाट प्रत्यक्ष प्रभावित हुन पुगे । समाजमा मानसिक समस्या, हत्या, हिंसा, अपराध, आत्महत्या जस्ता समस्याहरू दिन प्रतिदिन बढ्दै गइरहेका छन् । त्यसैले यस्ता समस्याहरूको समाधानको लागि सरकारले प्राथमिकताका आधारमा स्वास्थ्य सेवा प्रदान गर्ने व्यस्था मिलाउनु पर्छ । सरकारी र निजी क्षेत्र दुवैलाई उत्तिकै जिम्मेवार बनाई अत्यावश्यक स्वास्थ्य सेवाहरूलाई नियमित गराउनुपर्दछ ।

कोरोना महामारीका कारण भाइरल ज्वरो, मौसमी रुघाखोकी लगायतका बिमारीहरु ओझेलमा परेकोजस्तो देखियो, विगतका वर्षहरुलाई नै हेर्ने हो भने वर्षाको समयमा दैनिक सयौंको संख्यामा यस्ता बिरामीहरु अस्पताल जाने गर्दथे । तुलनात्मक रुपमा यो वर्ष त्यस्ता बिरामी नभएकै हुन् या मानिसहरु रोग पचाएर बस्न विवश भए ?

यस वर्ष मौसमी स्वास्थ्य समस्याहरुमा कमी आएको भन्ने वैज्ञानिक आधार त म केही पनि देख्दिनँ । मेरो विचारमा एकातर्फ कोरोना संक्रमणको रोकथाम तथा नियन्त्रणमा अवलम्बन गरिएका बन्दाबन्दी, निषेधाज्ञा, यायातात बन्द आदि कारणले सजिलै स्वास्थ्य सेवाको पहुँच छैन भने अर्कोतर्फ मौसमी रुघाखोकीको लक्षणहरू कोरोना रोगका लक्षणहरुसंग मिल्दोज्ल्दो हुने हुनाले पनि मानिसहरु आफ्नो समस्या बाहिर अभिव्यक्त नगरी घरमै सहेर बसेका पनि हुन सक्छन् ।

कोरोना संक्रमणका सन्दर्भमा जनस्वास्थ्यका दृष्टिले हरेक घर–परिवारले जान्नै पर्ने र ध्यानदिनु पर्ने मुख्य कुरा के–के हुन् ?

कोरोना रोगको रोकथाम र नियन्त्रणको लागि प्रत्येक घरपरिवारले तोकिएका जनस्वास्थ्यका मापदण्डहरू अनिवार्य रुपमा पालना गर्नुपर्छ । ती मापदण्डहरुमा मूलतः पालना गर्नैपर्ने कुराहरु निम्नानुसार पर्दछन् :

  • सकभर घर बाहिर ननिस्कने, घर बाहिर वा भिडभाडमा जाँदा अनिवार्य मास्क, चश्मा लगायतका सुरक्षा सामग्री प्रयोग गर्ने,
  • नियमित साबुन पानीले हात धुने वा सेनिटाइजरको प्रयोग गर्ने,
  • इन्टरनेट वा मोवाइल बैंकिंग आदिको प्रयोग गरी नगद कारोवार र एटिएमको प्रयोग नगर्ने,
  • घरमै तयार गरेको ताजा, तातो र झोलिलो खानेकुराहरू खाने,
  • सकभर सार्वजनिक सवारी साधन प्रयोग नगर्ने र गर्नु पर्ने बाध्यता भएमा जनस्वास्थ्यका न्युनतम मापदण्ड अपनाएर मात्र गर्ने,
  • घर वा टोलछिमेकमा संक्रमित क्षेत्रबाट कोही व्यक्ति आएमा १५ दिन अनिवार्य क्वारेन्टिनमा बस्न लगाउने,
  • घर वा टोल छिमेकमा कसैलाई कोरोना संक्रमणसंग मिल्दो लक्षणहरू देखिएमा तुरुन्तै स्वास्थ्य परीक्षणको लागि सल्लाह दिने
  • रोग पहिचान भएमा आइसोलेसन केन्द्रमा पठाउने र कन्ट्याक्ट ट्रेसिंग संचालन गरी सम्वन्धित् सबैको PCR अनिवार्य परीक्षण गर्ने ।

जनस्वास्थ्यका सवालमा जनताप्रति राज्यले निर्वाह गर्नुपर्ने भूमिका र दायित्व नेपालको सन्दर्भमा सही छ ? या कतै राज्य चुकेको छ ?

कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणमा राज्य प्रयासरत छ यसमा त कुनै शंका भएन तर पनि यसले अपेक्षित सफलता पाउन सकेको छैन । रोगको संक्रमण र यसबाट हुने मृत्युदर दिन प्रतिदिन तीव्ररुपले बढिरहेको छ । आजसम्म आइपुग्दा २९६४५ मानिसहरु संक्रमित भएका छन भने १२६ जनाको मृत्यु भैसकेको छ । अझै ११७६८ जना क्वारेन्टिन र ११५५५ जना आइसोलेसनमा रहेका छन् । विगत आठ महिनामा संक्रमण नियन्त्रणको लागि गरिएका प्रयासहरू र संक्रमणको हालको स्थितिलाई तुलना गर्ने हो भने राज्य कोरोना भाइरस संक्रमण नियन्त्रणमा चुकेको देखिन्छ ।

यो रोग रोकथाम र नियन्त्रणको लागि गर्नु पर्ने मुख्य कार्यहरू : संक्रमणको संका लागेका व्यक्तिहरूलाई क्वारेन्टिनमा राख्ने, जतिसक्दो छिटो परीक्षण गर्ने, रोग पहिचान भएका व्यक्तिहरुलाई आइसोलेसनमा राखी उपचार गर्ने र कन्ट्याक्ट ट्रेसिंग संचालन गरी रोगीको सम्पर्कमा आएका अन्य व्यक्तिहरूको पहिचान गर्नु यी आधारभूत कार्यहरू हुन् । सरकार यी आधारभूत कार्यहरूको कार्यान्वयनमा चुकेको देखिन्छ जसको परिणाम हाल रोगको संक्रमण समुदायस्तर सम्म फैलिसकेको छ ।

कोरोना भाइरसको विश्वव्यापि महाव्याधिले जनस्वास्थ्यका स्थापित मान्यताहरुलाई ध्वस्त पारिदिएको पाइएको छ । स्वास्थ्य विपतका प्रतिरोधमा मानव जातिको सोच, तयारीमै पुनर्विचार गर्नुपर्ने र नयाँ ढंगले अघि बढ्नुपर्ने तर्क विश्वव्यापीरुपमा उठ्न थालेका छन् । यस पृष्ठभूमिमा विशेषतः हरेक शताब्दीमा ठूला ठूला महाव्याधिहरुले मानव जातिलाई आक्रान्त पार्दै आएको विगतलाई दृष्टिगोचर गर्दा अब विश्वले अपनाउनुपर्ने जनस्वास्थ्यका रणनीतिहरु के कस्तो हुनुपर्छ ?

कोरोना भाइरसको विश्वव्यापि महामारीले जनस्वास्थ्यका स्थापित मान्यताहरुलाई ध्वस्त पारेको नभई विश्वका अधिकांश देशहरूले जनस्वास्थ्यको क्षेत्रमा अझै थप कार्य गर्न बाँकी रहेको तथ्यलाई प्रतिबिम्बित गरेको छ । जुन देशले संक्रमण रोकथाम तथा नियन्त्रणमा जनस्वास्थ्य विज्ञानले स्थापित गरेका मान्यताहरूमा टेकेर अघि बढे उनीहरू धेरै हदसम्म सफल भएको देखिन्छ जस्तै( चीन, दक्षिण कोरिया, फिनल्याण्ड, जर्मनी, न्युजिल्यान्ड, भुटान, भियतनाम, श्रीलंका, भारतको केरला प्रदेश आदि तर जुन देशहरूले बिभिन्न बहानामा जनस्वास्थ्यका आधारभूत मान्यताहरुको उल्लङ्घन गर्दै गए त्यहाँ रोगको महामारी पनि नियन्त्रण बाहिर गयो ।

जसको ज्वलन्त उदाहरण अमेरिका, इटाली, ब्राजिल, भारत, कोलम्विया, चिली, मेक्सिको, फ्रान्स, स्विडेन, बेलायत लगायतका अधिकांस देशहरुमा संक्रमण नियन्त्रण चुनौतीको रुपमा देखियो ।विश्वका सबै देशहरूले विगत र हाल भई रहेका महामारीबाट पाठ सिकेर भविष्यको लागि तयारी गर्नु पर्ने देखिन्छ । हरेक देशले आआफ्नो स्वास्थ्य प्रणालीलाई सवलीकरण गरी उपचारात्मक सेवामा मात्र केन्द्रित नभई रोगहरूको रोकथाम, नियन्त्रण, सुरक्षात्मक उपायहरूको अनुसरण, स्वास्थ्य प्रवर्द्धनका उपायहरूको अवलम्वन जस्ता कार्यहरूमा प्रत्येक नागरिकलाई सक्षम गराउनु पर्दछ तव मात्र जनताहरू स्वास्थ्य समस्याहरुको रोकथाम, पहिचान र नियन्त्रण गर्न प्रयासरत रहन्छन् । गतिशील समाजमा समय समयमा नयाँ नयाँ स्वास्थ्य समस्याहरू आउन सक्छन् तर यसको समाधानको लागि इमान्दारिताका साथ जनस्वास्थ्यका स्थापित मान्यताहरूको अनुशरण गर्नु नै उपयुक्त विकल्प हो ।

 

#रातोपाटी