Loading... आजः १५ आश्विन २०७७, बिहीबार
जीवन संघर्ष

अँध्यारोमा फुलेको गुलाव, ‘तमन्ना’ अर्थात् ‘चाहना’

अँध्यारोमा फुलेको गुलाव, ‘तमन्ना’ अर्थात् ‘चाहना’

तीन दशकअघिको मुस्लिम समाज महिला प्रति निकै अनुदार थियो । नेपालगन्ज एकलैनीमा एक छोरी जन्मिइन् । बुवा अमानत अली शाह सबैलाई अचम्भित पार्दै उनको नाम राखिदिए ‘तमन्ना’ अर्थात् ‘चाहना’ । यो नाम तत्कालीन समाजलाई चिढ्याउने खालको थियो । किनभने छोरी चाहनाविपरीत जन्मिने सन्तान हो भन्ने मानसिकता मुस्लिम समुदायमा गडेको थियो । ‘तमन्ना’पछि परिवारमा लगातार चार छोरी जन्मिए ।

अमानतको अनुहार भने मलिन हैन झन् चहकिलो हुँदै गयो । उनी तिनै छोरीमापÞर्mत समाजमा उज्यालो छर्न चाहन्थे । अमानत यो धर्तीमा छैनन्, तर उनको चाहनका फूल भने समाजमा सुगन्ध छर्दै फक्रिरहेका छन् । ‘मदरसा सकिने बित्तिकै गाउँका मान्छेले छोरीलाई सरकारी स्कूलमा हालेर किन बिगारर्न लागिस भन्दै केरकार गर्न थाले ।’ ‘तमन्ना’ अर्थात शाहिदा बानो शाह नेपालगन्जस्थित एक अधिकारकर्मी ।

यो स्थानमा आउन उनलाई कम्ती हम्मे भएन । बुवा र परिवारको चाहनामात्र भएर के गर्नु, उनका लागि सबैभन्दा ठुलो तगारो थियो पुरातन समाज । छोरीले पढ्नु हुँदैन भन्ने दवदबा रहेको बेला उनी तीन वर्षको उमेरमै मदरसामा (इस्लामिक विधालय) भर्ना भइन् । त्यसपछि एक कक्षामा रानी तलाउस्थित प्राथमिक स्कूलमा भर्ना भइन । मदरसा सकिनेबित्तिकै गाउँका मान्छेले छोरीलाई सरकारी स्कूलमा हालेर किन बिगार्न लागिस भन्दै केरकार गर्न थाले ।

उनी सम्झिन्छिन् ‘तर बुवाले मात्र हाम्रो भविष्य हेर्नुभयो । अब त यो केटी स्कूल जान थाली कुन दिन भागेर विहे गर्छे भन्दै तनाव दिन्थे भने अर्कोतिर घरमा गएर बुवाआमालाई अर्काको घरमा जाने जातलाई किन पढाएको, धर्म फाल्ली ख्याल गर्नु है ?’ उनी जन्मिनु बुवाको ‘चाहना’ थियो । बुवाको चाहना पूरा गर्नु भने उनको कर्तव्य बनिदियो । त्यही कर्तव्य पूरा गर्ने सिलसिलामा शाहिदाले समाजसँग निकै पोठेजोरी खेल्नुपर्यो ।

हिजो पढाई छोडेर विहे गर्न उक्साउनेहरु अहिले उनकै अगाडी पश्चातापका आँसु झार्छन् ।
नेपालगन्जको मुस्लिम समुदायमा शाहिदा दिदीबहिनी साँच्चिकै अँध्यारोमा फुलेका फूल हुन् ।

समुदायका मान्छे एकातिर उनलाई अब त यो केटी स्कूल जान थाली, कुन दिन भागेर विहे गर्छे भन्दै तनाव दिन्थे भने अर्कोतिर घरमा गएर बुवाआमालाई अर्काको घरमा जाने जातलाई किन पढाएको, धर्म फाल्ली ख्याल गर्नु है भन्दै हतोत्साहित गराउथे । यस्तै तनाव थेग्न नसकेर उनीसँगै सरकारी स्कूलमा भर्ना भएका अन्य पाँच सहपाठी सात आठ कक्षा पढ्दै बिहे गरेर हिँडे । ‘मलाई पनि पढाई छुटाएर बिहे गराउन निकै प्रयास भए,’ २८ वर्षीय शाहिदाले भनिन्, ‘मेरो पढेर केहि गर्ने इच्छाशक्ति र परिवारको आड़भरोसाका कारन कसैको केहि जोड चलेन ।

शाहिदाले समाजका बन्धन तोड्दै २०५९ सालमा नेपालगन्जस्थित महेन्द्र नमूना उच्च माविबाट एसएलसी गरिन् । त्यसको तीन वर्षमै महेन्द्र बहुमुखी क्याम्पसबाट आइए पढिन् । त्यसपछि भारतको फैजरावाद विश्वविद्यालयबाट समाज शास्त्रमा स्नातक स्नातकोत्तर गरिन् । मुस्लिम महिला तथा बालबालिकाको क्षेत्रमा कार्यरत नेपालगन्जस्थित फातिमा फाउण्डेसनमा कार्यरत शाहिदाको जीवनमा अहिले दैनिकजसो तिनै घटनाले घोचिरहन्छन् । जबकि हिजो हतोत्साहित गर्नेहरु सहयोगका लागि गुहार्न घरमै पुग्छन् ।

यस्ता पात्रहरु उनीसँग नियमितजसो आइरहन्छन् । हिजो पढाई छोडेर विहे गर्न उक्साउनेहरु अहिले उनकै अगाडी पश्चातापका आँसु झार्छन् । उनी व्यक्तिगतरुपमा आफु कार्यरत संस्थाका तर्फबाट सक्दो सहयोग गर्छिन् । शाहीदाले फाउण्डेसनमा काम गर्दासमेत समुदायबाट सहयोग पाइनन् । सुरुसुरुमा कार्यालय जाँदासमेत समाजले चियोचर्चो गर्दथ्यो । उनले भनिन्, ‘कार्यक्रमको सिलसिलामा जिल्ला बाहिर गएर घर फर्किदा त घरमा रुवावासी नै चल्थ्यो । बुवा आमाले विश्वास गरेर बाहिर पठाए पनि समाजले नकारात्मक कुरा लगाउँदा उहाँहरुलाइ थेग्ने गाह्रो हुदोरहेछ, फर्किदा त घरमा रुवावासी हुने ।’

नेपालगन्जको मुस्लिम समुदायमा शाहिदा दिदीबहिनी साँच्चिकै अँध्यारोमा फुलेका फूल हून । दिदीकै प्रेरणाले माइली होस्ना, साइली हसीना, काइली मुमताज र कान्छी खालिदाले फक्रिने मौका पाए । हुस्ना र हसीनाले स्नातक सकेका छन्, हुस्नाबाहेक सबै दिदीबहिनी अविवाहित छन् । ‘पढ़ाई त पूरा होस् अनि त्यसपछि अरु कुरा सोचौला,’ समुदायकै एक विद्यालयमा अध्यापनरत हसिनाले भनिन्, ‘हामी आफ्नो समुदायका लागि केहि योगदान गर्नुपर्छ भन्ने मान्यता राख्छौं ।’ समाजसँग शाहिदाले जति संघर्ष गर्नुपर्यो बहिनीहरुलाइ तुलनात्मकरुपमा निकै सहज भयो ।

‘सायद दिदीले त्यति संघर्ष नगरेकी भए हामी पनि समुदायका अरु दिदीबहिनीहरुजस्तै बिहेबारी गरेर कतै हराइसकेका हुन्थ्यो,’ हसीनाले भनिन् । हसीनाले पनि आठ वर्ष फातिमा फाउन्डेसनमा गरिन् । एकवर्ष राष्ट्रिय मानवअधिकार आयोगमा इन्टरसिप गरिन् । यसले उनको आत्मबल निकै बढाएको छ । किशोरी अवस्थामा नै विहेवारी हुने मुस्लिम समुदायमा शाहिदा (तमन्ना) दिदीबहिनी अपवाद् हुन् । घरमा बिहेको लागि दवाब दिन आउनेको कमी छैन । तर पढ़ाई पूरा गरेर आत्मनिर्भर भएपछिमात्र बिहे गर्ने उनीहरुको अडान सामु मुस्लिम समाज चकित छ ।

माहिली हुस्नाको बिहे भने हजुरआमाको चाहना पूरा गर्नका लागि भयो । सानो छँदा झ्याप्प बत्ती गएर अँध्यारो भयो वा अँध्यारो बाहिर कतै निस्किनुपर्यो भने शाहीदालाई निकै डर लाग्थ्यो । जब उनले यो डर बुवालाइ सुनाउथिन् । उनी भन्थे, ‘यस्तो जाबो अँध्यारोसँग किन डराउछौं छोरी ? तिमी त भोली समुदायको अँध्यारो हटाउने मान्छे पो त ।’ बुवाको डाइलग शाहिदाको कनमा अहिले पनि गुञ्जिरहन्छ । त्यसैले त उनी प्रण गर्छिन्, ‘हामी पाँच दीदीबहिनी समुदायको यही अँध्यारो चिरेर गुलाबझैं फक्रिरहन चाहन्छौं ।’