Loading... आजः २२ श्रावण २०७७, बिहीबार
Trending:

बझाङ अस्पतालमा २४ सैं घण्टा विजुली

बझाङ । दैनिक लोडसेडिङ्गको मार खेप्दै आइरहेको जिल्ला अस्पताल बझाङमा अब २४ सैं घण्टा विद्युत सेवा आपूर्ति हुने भएको छ । बझाङमा राष्ट्रिय प्रसारणको लाइन विस्तार भए पनि सहज आपुर्ति नहुँदा समस्या थियो । सुदूरपश्चिम प्रदेश सरकारको आर्थिक सहयोगमा १०० केभिएको जेनेरेटर अस्पतालमा जडान गरेपछि अस्पतालमा विजुलीको अभाव नहुने भएको छ ।

विद्युत सेवा प्रभावकारी नहुँदा जटिल प्रकारका अप्रेशन, भिडियो एक्सरे, प्रयोगशाला लगायतका प्रशासनिक काममा समेत असर पर्दै आइरहेको थियो । नियमितरुपमा बिजुली बलेपछि अस्पतालका सवै सेवा नियमित गर्नको लागि ठुलो राहत भएको र अस्पतालका सेवाहरु छिटो प्रवाह गर्न सकिने जिल्ला अस्पताल बझाङका सूचना अधिकारी गंगाप्रसाद जोशीले बताए ।

उनले भने, ‘यहाँ नियमित विद्युत नहुँदा विरामीहरु मर्कामा परेका थिए । अब जस्तोसुकै प्रकारका जटिल अप्रेशनका लागि पनि समस्या हुँदैन ।’ विद्युत आपूर्ति हुने भएपछि चिकित्सक, विरामी, कर्मचारी र कुरुवा सबै उत्साहित भएको जोशीको भनाई छ । विद्युत आपूर्ति नभई सेवा प्रवाह गर्न नसकेपछि विरामीहरुहरु निजी क्लिनिकहरुबाट भिडियो एक्सरे लगायतका सेवाहरु लिँदै आएका थिए ।

सहजरुपमा विद्युत सेवा नहुँदा अस्पतालमा विरामीहरु घण्टौंसम्म लाइनमा बस्नुपर्ने बाध्यता थियो । वेडमा भर्ना भएका कतिपय विरामीहरुलाई अक्सिजन आवश्यक पर्छ । जसका लागि नियमित विद्युत प्रवाह हुनु जरुरी हुन्छ । विद्युत सेवा नियमित नहुँदा समस्या हुने गरेको थियो । विद्युतको सहज आपुर्तिका लागि जेनेरेटर जडान गरेपछि अब अस्पतालको सेवा प्रवाहमा ढिलाई नहुने अस्पताल विकास समितिका अध्यक्ष लालबहादुर खडकाले बताए ।


सम्बन्धित समाचार