Loading... आजः २८ असार २०७७, आइतवार

नरैनापुरमा विद्युत परीक्षणपछि स्थानीय खुशी

बाँके । बाँकेको नरैनापर क्षेत्रमा विद्युतीकरण विस्तार सकिएको छ । विस्तारको काम सकिएपछि आइतबारदेखि परिक्षण गरिएको छ । गाउँमा बत्ती बलेपछि नरैनापुर क्षेत्रका नागरिकहरुमा खुसीयाली छाएको छ । एक महिनाअघि शुरु गरिएको विद्युत विस्तारीकरणपछि आइतबारदेखि परीक्षण प्रयोजनका लागि विद्युत प्रवाह गरिएको छ ।

गाउँपालिकामा विद्युत सेवा नहुँदा कोरोना संक्रमितको बसाई, परीक्षण, उपचार लगायतमा समेत समस्या देखिएपछि संवाद समूहको सहजीकरणमा थालिएको विद्युत विस्तार अभियानले पूर्णता पाएको हो । संवाद समूहको सहजीकरणपछि जेठ १२ गतेबाट विद्युतीकरणको प्रक्रिया शुरु भएको थियो । संवाद समूहकै समन्वयपछि निषेधाज्ञाको जोखिमपूर्ण स्थितिबीच त्रिलोक रेणु कन्सट्रक्सनले विद्युतीकरण विस्तार शुरु गरेको हो ।

नरैनापुर–३ लक्ष्मणपुरस्थित प्राथमिक स्वास्थ्य केन्द्रको स्तरोन्तीसहित सेवा प्रवाह र क्वारेन्टिनसम्म विद्युत पुर्याउन ठोस पहल नभइरहेको अवस्थामा समूहका तर्फबाट त्यसक्षेत्रका सांसद, स्थानीय प्रशासन, गाउँपालिका, प्रदेश सरकार लगायत सरोकार पक्षसँग निरन्तर समन्वय र सहजीकरण गरिएको समूहका सहजकर्ता शुक्रऋषि चौलागाईले बताए ।

नेपालगन्ज–फत्तेपुर हुँदै नरैनापुर–५ जमुनाहासम्म विद्युत लाइन पुगे पनि लकडाउनका कारण नरैनापुर, लक्ष्मणपुर, कालाफाँटा र कटकुइँयामा विद्युत पुग्न सकेको थिएन । विद्युत नभएकै कारण अत्यावश्यक स्वास्थ्य सेवा, सञ्चार सुविधा लगायत प्रयोग गर्नसमेत अनेकन समस्या झेल्नु परिरहेको थियो । प्राथमिक स्वास्थ्य केन्द्रलाई लक्षित गरेर विद्युतीकरण विस्तार गरिए पनि अन्ततः नेपाल–भारत सीमा सुईयासम्म विद्युत परिक्षण सफल भएको छ ।

विद्यतुीय तार, पोल, स्टे आदिमा चढ्ने, छुने कार्य नगर्न पनि प्राधिकरणले सबैमा सार्वजनिक अपील गरेको छ । नेपाल विद्युत प्राधिकरण नेपालगन्जका प्रमुख मनिन्द्र ठाकुरले पछिल्लो चरणमा राप्तीसोनारी र नरैनापुर गाउँपालिकामा २५ सय विद्युत पोल गाडेर विद्युतीकरण गरिएको बताए । ठाकुरका अनुसार–हुलाकी सडकमा मात्र हैन, अब नरैनापुरका गाउँगाउँसम्म विद्युत सेवा पुग्दैछ ।

विशेषगरी अस्पताल लगायतका स्वास्थ्य संस्था, क्वारेन्टिन, सुरक्षा यूनिट र बैंक क्षेत्रमा विद्युत सेवा शुरु गरिसकिएको छ । मोतीपुरमा निर्माणाधिन आइसोलेशनका लागिसमेत मटेहीया चोकबाट मोतीपुरसम्म विद्युत विस्तार गरिएको छ । लकडाउनको एक महिने अवधीमा मटेहीया चोकदेखि सुइयासम्म १६ किमिमा ४७० वटा पोल गाडीएको छ । धितालका अनुसार, प्राधिकरणले नरैनापुरमा र कन्सट्रक्शनले मोतीपुर, लक्ष्मणपुर र सुईयामा ५० केभीको ट्रान्सफर्मर जडान गरेको छ ।


सम्बन्धित समाचार