Loading... आजः शनिबार, असार २७, २०७७/ Saturday 11th July 2020 9:54 am
आज असार १५ : दही च्युरा खाने पर्व

धान दिवस अगावै बाँके र बर्दियाका अधिकांश क्षेत्रमा रोपाइँ

बाँके । आज राष्ट्रिय धान दिवस । बाँकेसहित देशभर विविध कार्यक्रम गरि मनाइँदैछ । किसानका लागि विशेष दिनका रुपमा लिइएको असार १५ मानो रोपी मुरी फलाउनेको संज्ञा दिइन्छ । कोरोना महामारीबीच सामाजिक दूरी कायम गर्दै धान दिवस मनाइँदैछ । त्यसो त जिल्लाका केही स्थानमा असार १५ अगावै कतिपयको रोपाई सकिसकेको छ ।

यद्यपी अधिकांशले भने आजबाट नै रोपाई हुने गर्दछ । आकाशे पानीको भरमा खेती किसानी गर्ने किसानका लागि भने सिचाइँको व्यवस्था भएकाले समयमै रोपाई सकाएका छन् । बाँकेमा राष्ट्रिय गौरवको आयोजना सिक्टा सिँचाईका कारण आम किसानले वषौंदेखि सास्ती भोग्दै आएका छन् । आयोजनाले समयमै पूर्णता नपाउँदा किसानले दुःख पाएका हुन् ।

सिचाईको अभावमा हरेक वर्ष वर्षायाममा यहाँका किसानहरु आकाशे पानी हेर्न बाध्य छन् । सिक्टाले २०७३ र गत वर्ष असारमा पानी छोड्ने प्रयास गरेपनि अहिलेसम्म बाँके बर्दियामा पानी छोड्न सकेको छैन् । यसले सबैभन्दा बढी किसानहरु मर्कामा परेका छन् । सिक्टा सिँचाईले पूर्णता पाएमा बाँकेको खेतीपातीको रुपरेखा नै बदलिनेमा दुईमत छैन । बाँकेको ४३ हजार हेक्टरमा यसले सिँचाई सुविधा पुर्याउने देखिन्छ ।

तर, कहिले योजना पुरा नहुँदा किसानले सास्ती पाउनुको विकल्प छैन । समयमा रोपाँई नहुँदा बर्सेनी यहाँको उत्पादन घट्दै गएको छ । बाँकेका किसानले यसबर्ष असार महिना लागेसँगै रोपाई गर्न शुरु गरेका छन् । असार १४ धान दिवसको अघिल्लो दिन साँझसम्म बाँकेमा ३५ प्रतिशत क्षेत्रमा रोपाई भएको कृषि ज्ञान केन्द्रका प्रमुख सागर ढकाल बताउँछन् । उनकाअनुसार बर्दियामा ५५ प्रतिशत धान रोपाई भएको छ ।

बाँकेमा ३६ हजार ५०० हेक्टरमा धान रोपाँई हुने गरेको छ । आकाशे पानीको भरमा रहने किसानले पानी नपर्दा रोप्न पाएका छैनन् । पानीको अभावले ६५ प्रतिशत खेतीयोग्य जमिनमा अझै रोपाई हुन सकेको छैन । फत्तेपुर, बिनौना, महादेबपुरी, गंगापुर, राधापुर, चिसापानी, नौवस्तामा सिँचाई सुविधा भएका कारण धान रोपाइँ सकिएको छ । सिँचाई सुविधाको अभावमा बाँकेका किसानहरुले आकाशे बर्षाको भरमा खेती गर्दै आएका छन् ।

आज दही च्युरा खाने पर्व

नेपालमा प्रत्येक वर्ष असार १५ गते दही च्युरा खाने गरिन्छ । यसैदिन वि.सं २०६१ मंसिर २९ गते मन्त्रीस्तरीय निर्णय गरी २०६२ असार १५ गतेदेखि राष्ट्रिय धान दिवस मनाउन थालिएको हो । कोरोना भाइरस महामारीका बाबजुद पनि आज बाँकेसहित देशभर धान दिवस मनाइँदैछ । अनि आजकै दिन सबैले दही च्युरा खाने गर्छन् । असार १५ लाई नेपाली समाजमा दही च्युरा खाने पर्वका रुपमा पनि लिइन्छ ।

खेतीपातीबाहेक अन्य पेशा र व्यवसायमा लागेका नेपालीले पनि आज दही च्यूरा खाई असार १५ मनाउँछन् । मध्य गर्मीको यो समयमा युवा लाठे र युवती रोपाहारले खेतका गराको हिलो छ्यापाछ्याप गरेर मनोरञ्जन गर्छन् । कामको चटारोले थकित भएका किसान शक्तिप्राप्तिका लागि दही च्युरा खान्छन् । दही च्युराले शरीरमा शीतलता भई शक्ति सञ्चय हुने विश्वास गरिन्छ । स्वास्थ्यका दृष्टिकोणले पनि दही च्युरा स्वास्थ्यलाई फाइदाजनक रहन्छ ।

खेतमा धान रोपाई गर्ने त्यसपछि दही च्युरा खाएर हिलो छ्याप्दै मनोरञ्जन गर्ने यो नेपाली खाटी परम्परा हो । न तराई न पहाड सबैतिर असार १५ को रमझमले छोएकोछ । कोरोना महामारीले लामो समयसम्म बन्दाबन्दी भएको देशमा असार १५ ले छुट्टै राहत दिएको छ । अझ किसान जो खेतीपातीमा आत्मनिर्भरछन्, जिविको पार्जन गर्छन् उनका लागि आजको दिन महत्वपूर्ण दिन हो । मानो रोपी मुरी फलाउने दिनका रुपमा प्रचलित आज देशभरका किसानले आफ्ना खेतमा धान रोप्ने गर्छन् ।

पछिल्लो समय शहर बजारमा पनि असार १५ को छुट्टै उत्साह देखिन गरेको छ । शहर बजारका होटल, रेष्टूँरामा असार १५ आउनु एक हप्ता अघिदेखि विभिन्न संघसस्था तथा निकायले दही च्युरा खुवाउने र रमाइलो गर्ने गरेका छन् । तर, यस वर्षको कोरोना भाइरसका कारण सहरबजारका यसअघि भरीभराउ हुने होटल रेष्टूँरा बन्द छन् । देशमा यसवर्ष प्रिमनसुन सिजनदेखि नै पर्याप्त पानी परिरहेकाले मध्ये असारसम्म आइपुग्दा देशभर २५ प्रतिशत रोपाइँ सकिइसकेको कृषि विभागले जनाएको छ ।