Loading... आजः शनिबार, असार २७, २०७७/ Saturday 11th July 2020 10:16 am
थाहा आन्दोलनका अभियन्ता रुपचन्द्र विष्टको २२ औं स्मृति दिवस

पर्चा बेचेर चुनाव जित्ने विश्वकै पहिलो नेता

थाहा अर्थात् मान्छेमा चेतना जनाउने अभियान । हो, यही अभियानका संस्थापक अभियन्ता हुन् रुदाने अर्थात रुपचन्द्र दामन नेपाल । उनको खास नाम रुपचन्द्र विष्ट भए पनि उनी आफूलाई रुदाने भनेर चिनाउँथे । उनै रुदानेले थालेका हुन् निष्पक्ष सक्रियताको अभ्यास थाहा आन्दोलन । उनको जन्म वि.स. १९९० पौष २६ गते बाबु पदमबहादुर विष्ट र आमा चित्रकुमारीको कोखबाट मकवानपुरको दामनमा भएको हो ।

रुपचन्द्र विष्ट सानैदेखि विद्रोही स्वभावका थिए । बुबाको आँखाको तारो नै बनेका रुदाने भने आमाको आँखाको नानी झैं प्रिय थिए । बुबा छोराको स्वभाव, विचार र व्यवहार पनि नमिल्दा दश वर्षको कलिलो उमेरमै आलिशान घर, कुलीन जीवनशैली र बुबाले दिएको ‘केदार’ नाम समेत त्यागेर आफ्नो न्वारन आफै गरी ‘रुपचन्द्र विष्ट’ बनेर घरबाट निक्ले । अत्यन्तै उर्जाशील प्रगतिशील व्यक्तित्वका धनी रुदानेको जीवनमा कयौं आरोह–अबरोहहरु आए । तर उनी समाज परिवर्तनका लागि लड्न कहिल्यै थाकेनन् ।

सम्भ्रान्त परिवारमा जन्मेका उनी दार्शनिक नेता थिए । राष्ट्रिय पञ्चायतका सदस्यसमेत बनेका उनी किसान र मजदुरको पक्षमा राजनीति गर्दथे । जनमुखी राजनीति गरेर पटक पटक जेल जीवन बिताएका रुदानेले अहिलेका प्रधानमन्त्री केपी शर्मा ओलीसँग समेत जेल जीवन बिताएका थिए । उनी भन्ने गर्दथे, ‘केटाकेटी बिग्रे बाबुआमा दोषी, जनता बिग्रे सरकार दोषी, सरकार बिग्रे व्यवस्था दोषी, व्यवस्था बिग्रे अगुवा दोषी ।’ यी र यस्ता थुप्रै वाणीहरु छन् । उनका वाणीहरु जसले अचेलको राजनीति र नयाँ पुस्तालाई सोचमग्न बनाएको छ ।

उनको बिचार जनवादी भएकाले राष्ट्रिय पञ्चायत सदस्य रहँदा समेत उनलाई गिरफ्तार गरियो । पटक–पटक गिरफ्तार भए पनि जनमुखी राजनीतिमा पूर्ण प्रतिवद्ध रहे । साधारण जीवन रुचाउने उनले बिबाह गर्दासमेत पाहुनालाई चिया मात्र खुवाए । दुई सन्तान भएका उनको पछि सम्बन्धबिच्छेद भयो । धेरैपटक राजद्रोह लगायत अन्य आरोपमा पक्राउ परेका बिष्टलाई तत्कालिन पञ्चायती सरकारले धेरै पटक जेल हालेको थियो । नेपालमा भने उनी बेपत्ता भएको समय उनी मारिएको शंकासमेत गरिएको थियो । फर्केपछि मकवानपुरको दामनमा प्राकृतिक बिज्ञानको ८ वर्ष स्वअध्ययन गरे ।

उनी स्थानीय बिद्यालयमा प्रधानाध्यापक भए । बिहान बेलुका प्रौढ शिक्षा समेत चलाए । ०३८ र ०४३ सालमा मकवानपुरबाट तत्कालीन राष्ट्रिय पञ्चायतमा प्रतिनिधित्व गरेका विष्ट फोटो होइन, विचार राखेर निर्वाचन लड्थे । विष्ट मुलुकमा रहेको मण्डलेतन्त्रको मात्र होइन, घर, टोल, गाउँ र दलभित्र रहेको मण्डलेतन्त्रको पनि प्रखर विरोधी थिए । वि.सं. ०२९ र ३० सालतिर रूपचन्द्र विष्टले थाहा आन्दोलन सुरू गरे । रूपचन्द्र र उनका सहकर्मीका हातबाट चट्टान, भित्ता, पर्खाल, रूखदेखि खाली कागज र चुरोटको बट्टासम्ममा ‘थाहा’ लेखिए ।

‘थाहा’ नेपाली छाप्राहरूमा पुगेको पहिलो दार्शनिक आन्दोलन थियो । यस आन्दोलनको सबभन्दा महत्वपूर्ण विशेषता के थियो भने यसमा कुनै पनि प्रकारको सैद्धान्तिक क्लिष्टता या अस्पष्टता थिएन । यस आन्दोलनको सार नै यसका प्रवर्तकको रुखो बोली र ठाडो आग्रह थियो । उनी भन्थे, ‘थाहा पा भाते ! जान् भाते ! बुझ् भाते !’ थाहा आन्दोलनको मूल लक्ष्य भनेको चेतनाहीन जनतालाई चेतना सम्पन्न नागरिकमा रूपान्तण गरी राजनीतिक र सामाजिक जागरण गर्नु थियो । रूपचन्द्र विष्ट त्यस्ता नेपाली थिए, जो राजनीति गरेर राजनीतिज्ञ कहलिएनन् । श्रम गरेर पनि श्रमिक भनिएनन्, साहित्य लेखेर साहित्यकारमा दरिएनन् । मौलिक दर्शन स्थापित गरेर पनि दार्शनिक भनिएनन् ।

उनलाई एक सनकी मान्छेका रुपमा तत्कालिन शासकले उनलाई चित्रण गर्यो । थाहा अभियान नेपाली माटोमा जन्मिएको दर्शन पनि हो । आफ्नै र जनताको जनश्रमदानद्वारा पालुङको जनकल्याण मावि बनाए । उनले बोल्ने यस्ता थिए, ‘केटाकेटी बिग्रे बाबुआमा दोषी, जनता बिग्रे सरकार दोषी, सरकार बिग्रे व्यवस्था दोषी, व्यवस्था बिग्रे अगुवा दोषी, अतियथार्थमुखी, कर्तव्यमुखीवाहेक, पछुवा, भगुवा सारा दोषी, जात ठूलो कि जनता रु नाता ठूलो कि न्याय ‘स्वार्थ ठूलो कि निस्वार्थ’ उनको यो भनाई ०३९ सालको स्थानीय चुनावको पर्चामा समेत लेखिएको थियो । उनी भन्ने गर्थे ‘पैसाबाट सत्यता, पदबाट इन्साफ, शोषकबाट विकास, विदेशीबाट राष्ट्रियता, रन्डीबाट इमान, गुण्डाबाट राजनीति, शासकबाट प्रजातन्त्र, पाइन्छ भन्नेले लगाउँछन् चितुवालाई बाख्राको गोठालो ।’

उनले पञ्चायती व्यवस्थालाई त्यहीबेला चितुवाको संज्ञा दिन्थे । उनले खराव मन भएकाहरूबाट असल काम होला भनी सोच्नु दिवास्वप्ना भएको कुरा उल्लेख गरेका छन् । रुदानेले ०३८ र ०४३ सालमा मकवानपुर जिल्लाबाट राष्ट्रिय पञ्चायतमा प्रतिनिधित्व गरेका थिए । उनी पर्चापम्पेलेटहरूमा तस्विर हैन विचार लेख्थे । तिनै पर्चाहरू बेचेर चुनाव खर्च जुटाउँथे । उनले कहिल्यै पनि रूपचन्द्र विष्ट हेरेर भोट देऊ भनेनन् । मात्र विचार बाँडे । उनका विचारसँग सहमत हुनसक्नेलाई पनि स्वविवेकले चल्न भन्थे । तर सबैले सबैका विचार, भावना, सिद्धान्त र क्रियाकलापहरूको साक्षी हुन सक्नुपर्छ भन्ने उनको भनाइ थियो ।

राष्ट्रिय पञ्चायतको सदस्य भएर पनि पञ्चायतकै विरोधमा विचार व्यक्त गरेर आफ्नो बौद्धिक बर्चस्व राख्न सक्ने महान् योद्धा थिए । उनले पञ्चायत कालमै संविधानसभाको आवश्यकता देखेर जोडदार आवाज उठाएका थिए । उनले जीवनको उत्तराद्र्धकालसम्म पनि अभियानलाई निरन्तरता दिइरहे । आफू झुप्रेझाम्रे भएकोले सोही बमोजिमको सामान्य ठाउँमा उपचार गर्न र मरेपछि विल्कुलै सामान्य वर्गकोझैँ अन्तेष्टी गर्न अह्राएका थिए । सहयोगीलाई आफ्नो मृत लासमा अविर, माला नलगाउन, काजक्रिया नगर्न र लासको राजनीति नगर्नसमेत भनेका थिए । नेपाली माटोले चिन्न नसकेको तीनै महान व्यक्तिको मृत्यु २०५६ साल असार ७ गते ६६ वर्षको उमेरमा भएको थियो ।