Loading... आजः शनिबार, असार २७, २०७७/ Saturday 11th July 2020 9:18 am

आज खण्डग्रास सूर्यग्रहण, नाङ्गो आँखाले नहेर्न वैज्ञानिकहरुको सुझाव

बाँके । आज खण्डग्रास सूर्यग्रहण देखिँदैछ । यो ग्रहण वास्तवमा वलय (सूर्य केवल बालाको आकारमा मात्रै देखिने) सूर्यग्रहण भए पनि नेपालबाट खण्डग्रास सूर्यग्रहण मात्र देख्न सकिने वाल्मीकि क्याम्पस ज्योतिष विभागका सहप्राध्यापक जयन्त आचार्यले बताएका छन् ।

उनका अनुसार अबको करिब ४४ वर्षपछि मात्रै नेपालबाट वलय सूर्यग्रहण देखिनेछ । कंगो, इथियोपिया, दक्षिणी सुडान, मस्कट, यमन, ओमान, पाकिस्तानको दक्षिणी भाग, भारतको देहरादुन, कुरुक्षेत्र, चीनको तिब्बत, आदि ठाउँबाट यो वलय सूर्यग्रहण देख्न सकिन्छ भने नेपालबाट खण्डग्रास सूर्यग्रहण मात्रै देखिनेछ । सूर्यग्रहण खग्रास, खण्डग्रास वा वलयाकारको हुनसक्छ ।

नेपालकै भूभाग लिम्पियाधुरा, लिपुलेक तथा कालापानी क्षेत्रबाट भने सबैभन्दा धेरै ९८ प्रतिशतसम्म सूर्य ढाकिएको देखिनेछ । काठमाडौंबाट ८८ प्रतिशतसम्म सूर्य ढाकिएको देखिने आचार्यको भनाइ छ । पोखराबाट ८८ प्रतिशत, भद्रपुर झापाबाट ८१ प्रतिशत र महेन्द्रनगर, कञ्चनपुरबाट ९३ प्रतिशत सूर्यलाई ग्रहणले ढाकेको देख्न सकिन्छ । सूर्यग्रहण नाङ्गो आँखाले हेर्न नहुने चिकित्सकहरुको भनाइ छ ।

सूर्यग्रहण हेर्दा अत्यन्तै सावधानी अपनाउनुपर्ने हुन्छ । पृथ्वीको एक स्थानमा खग्रास सूर्यग्रहण लागेपछि साधारणतया उक्त स्थानमा पुनः ३७५ वर्षपछि मात्र लाग्छ । चन्द्रमाको त्रिज्या पृथ्वीभन्दा धेरै सानो भएकाले चन्द्र र सूर्य गोलामा बाहिर स्पर्श रेखाद्वारा निर्मित शङ्कु छायाँ (कोन सेडो)भित्र पृथ्वी पूर्णरूपले नपर्ने हुँदा पृथ्वीका केही निश्चित भागबाट मात्र सूर्यग्रहण अवलोकन गर्न सकिन्छ ।

मानिसको आँखाभित्रको रेटिनामा सूर्यबाट आएको प्रकाश परेमा रेटिनाको एउटा भाग स्थायीरुपमा नै नष्ट हुन गई मानिस सदाका लागि आँखा देख्न नसक्नेसमेत हुन सक्छ । त्यसैले सूर्यग्रहणका बेलामा नांगो आँखाले कदापि नहेर्न वैज्ञानिकहरुले सुझाब दिएका छन् । हिमाल आरोहणमा प्रयोग गरिने विशेष प्रकारको गाढा रङको धातु लेपन भएको चस्माबाट मात्र अवलोकन गर्न सकिन्छ ।

बीपी कोइराला मेमोरियल प्लानेटोरियम तथा अब्जरभेटरी विज्ञान सङ्ग्रहालय विकास समितिका निमित्त कार्यकारी निर्देशक डा.सनतकुमार शर्माका अनुसार सूर्यग्रहण खाली आँखा, बाइनाकुलर वा टेलिस्कोपको प्रयोग गरेर कदापि पनि अवलोकन गर्नुहुँदैन । सूर्यग्रहणको समयमा मानवमा पर्ने प्रभावका सम्बन्धमा हालसम्म कुनै पनि वैज्ञानिक आधार प्राप्त हुन नसकेको निमित्त कार्यकारी निर्देशक शर्माको तर्क छ ।

खगोलीय मान्यता अनुसार सूर्य र पृथ्वीको बीचमा चन्द्रमा आएर पृथ्वीमा पर्ने सूर्यको प्रकाशलाई पूर्ण वा आंशिकरूपमा छेकेर चन्द्रमाको छायाँ पृथ्वीमा पर्न गएमा छायाँ परेको स्थानमा सूर्यग्रहण लाग्छ । ग्रहण हेर्नलाई बनाइएको विशेष चस्माको प्रयोग गरी ग्रहण हेरेमा कुनै नोक्सानी हुँदैन भने सूर्यग्रहण हेर्ने अत्यन्त सुरक्षित तरिका सूर्यबिम्बको प्रतिबिम्ब बनाई छायाँ हेर्नु नै हो ।

धार्मिक समुदायका मानिस ग्रहणका बेला दान दक्षिणा गर्दा विशेष फल मिल्ने विश्वास गरी नदी तट वा गंगामा गई ग्रहणको स्नान गरी शुद्ध हुने र दान दिने गर्छन् । तान्त्रिकहरु ग्रहण लागेका बेला मन्त्र सिद्ध हुने विश्वासका साथ साधना गर्छन् । ग्रहणसम्बन्धी अन्धविश्वास संसारभरि नै रहेको पाउन सकिन्छ । रोमनहरु ग्रहणका बेला चिच्याउने गर्छन् भने चीनमा ग्रहण र ड्रयागनसँगको सम्बन्धमा विश्वास गर्ने गर्दछन् ।

प्राचीन मिश्रका राजा आफैँ सूर्यवंशी थिए । उनी सूर्यग्रहणका बेलामा आफ्नै सहरको मुख्य मन्दिरमा गएर मन्दिरको परिक्रमा गरिरहन्थे भन्ने कुराको इतिहास भेट्न सकिन्छ । पञ्चाङ्ग निर्णायक समितका अध्यक्ष प्रा.डा.रामचन्द्र गौतमका अनुसार आज लाग्ने सूर्यग्रहण नेपालबाट बिहान १०ः५० बाट सुरु भई अपरान्ह २ः२३ मा समाप्त हुँदैछ ।

बिहानको १२ः३८ मा सूर्यलाई हामीहरुले करिब ८८ प्रतिशत ढाकेको देख्छौँ भने उक्त समयमा वातावरणीय तापक्रम घटेर चिसो अनुभव सबैले महसुस गर्नेछन् । आज दुईपटक बिहान भएको पो हो कि भन्ने अनुभव सबैले गर्नेछन् । धार्मिक मान्यताअनुसार यो सूर्यग्रहण मेष राशि, सिंह राशि, कन्या राशि तथा मकर राशि भएका मानिसले मात्र हेर्न हुन्छ । तथापि वैज्ञानिकहरु भने सूर्यग्रहण जो–कोहीले सुरक्षित तरिका अपनाएर हेर्न हुने मान्छन् ।

काठमाडौँमा बिहान १० बजेर ५४ मिनेट, पोखरामा बिहान १० बजेर ५२ मिनेट, महेन्द्रनगर कञ्चनपुरमा बिहान १० बजेर ५४ मिनेट, जनकपुरमा बिहान १० बजेर ५६ मिनेट र भद्रपुर झापामा बिहान ११ बजेर ५२ मिनेटबाट सूर्यग्रहण प्रारम्भ (स्पर्श) हुने बीपी कोइराला मेमोरियल प्लानेटोरियम तथा अब्जरभेटरी विज्ञान सङ्ग्रहालय विकास समितिले जनाएको छ ।