Loading... आजः २९ असार २०७७, सोमबार

चार मुक्तक

चिरञ्जीवी ढकाल

१.
अचम्मै राम्री छौं, सँधै हेरिरहुँ लाग्छ,
मनको पानामा चित्र, केरिरहुँ लाग्छ,
ओझेल पर्नै हुन्न, न्यास्रिन थाल्छ मन,
सँधैभरी परेलीले, घेरिरहुँ लाग्छ ।

२.
साह्रै वलवान छ, वैंशालु रुप तिम्रो,
जाल बुन्ने तान छ, वैंशालु रुप तिम्रो,
भोलि कता पोखिन्छ, के हुन्छ थाहा छैन,
तर आज सान छ, वैंशालु रुप तिम्रो ।

३.
ढाल, खुकुरी, सुरक्षाकवच, बोक्नुपर्ने हुनसक्छ,
उठ जवान वैरीलाई अब, रोक्नुपर्ने हुनसक्छ,
मित्रको भेषमा छल गरेर, सीमाभित्र छिर्यो सत्रु,
ढिला नगरी गर्धनमा अब, ठोक्नुपर्ने हुनसक्छ ।

४.
आमाको निम्ति, खतरा मोलिदेऊ अब,
सीमानामा इनक्लाव, बोलिदेऊ अब,
मायाको बदलामा, धोका दिने वैरीलाई,
माया पचेन तात्तातो, गोली देऊ अब ।

 

०३ असार २०७७
नेपालगन्ज–२०, राँझा एयरपोर्ट बाँके


सम्बन्धित समाचार