कविता : ‘लाग्यो नि आमा डर’

चिरञ्जीवी ढकाल
चिरञ्जीवी ढकाल

बल्थ्यो सन्ध्या सँगसँगै दियो, हुन्थ्यो उज्यालो घर !
निष्पट्ट देख्छु आज घर यो, देख्दिन सानो चर !!
बोल्दैनन् ढिकी, जाँतो र ठेको, छैन कसैको भर !
के हेरी बुझाउँ म मन यो, लाग्यो नि आमा डर !!

निन्द्रामै पुगेँछु मझेरीमा, भेटेछु धुरी खामा !
खुसी भै चिच्याउन पुगेछु, भन्दै ए ! मेरी आमा !!
बुझाउन खोज्दछन् मन यो, आई छिमेकी तर !
तिमीले झैँ मेरो मन बुझ्ने, को नै विवेकी छ र ?

कठिन भो ए आमा रोए रै, थाक्यो यो बाला मन !
फर्केर ए ! बाबु भन्दै, आउँछ्यौ आउँदिनौ भन ?
निन्द्रामै भए नि आई ए ! बाबु भनी पुकारी दिनु !
आई हररात सपनीमा, न्यानो काखमा लिनु !!

बल्थ्यो सन्ध्या सगँसँगै दियो, हुन्थ्यो उज्यालो घर !
निष्पट्टै देख्छु आज घर यो, देख्दिन सानो चर !!
बोल्दैनन् ढिकी, जाँता र ठेको, छैन कसैको भर !
के हेरी बुझाउँ म मन यो ?, लाग्यो नि आमा डर !!

 

२७ जेठ २०७७
नेपालगन्ज–२०, राँझा एयरपोर्ट, बाँके