प्रधानमन्त्रीले राजीनामा दिनुपर्छ : कोइराला

बाँके । नेपाली कांग्रेस केन्द्रीय सदस्य शेखर कोइरालाले निवर्तमान सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटा प्रकरणमा सरकारको नेतृत्वकर्ताका हैसियतमा प्रधानमन्त्री केपी शर्मा ओलीले नैतिकताको आधारमा राजीनामा दिनुपर्ने बताएका छन् ।

प्रेस युनियनले शनिबार नेपालगन्जमा गरेको पत्रकार भेटघाटमा कोइरालाले सुशासनका कुरा गरेर नथाक्ने प्रधानमन्त्रीले आफैले बनाएका मन्त्रीको कमिसन बार्गेनिङको अडियो सार्वजनिक भएपछि नैतिकता देखाउनुपर्ने बताए । उनले नियन्त्रित प्रजातन्त्र र नियन्त्रित लोकतन्त्रमा देश अघि बढिरहेको आरोप लगाए ।

सरकारमा सुशासन पटक्कै नभएको र भ्रष्टचारको कुरा गरी साध्य नभएको कोइरालाको भनाइ छ । सरकार राम्रोसँग चलोस भन्ने कामना गर्दा पनि सरकार सर्वसत्तावाद हुँदै अधिनायकवादतिर गइरहेको कोइरालाले आरोप लगाए । ‘अनुसन्धानको नाममा सरकारले हस्तक्षेप गरिरहेको छ,’ उनले भने, ‘हरेक घटनाक्रममा अख्तियार र सरकारको मिलोमतो देखियो । यी दुवै सवाल कांग्रेसलाई मान्य छैन ।’