Loading... आजः ५ आश्विन २०७७, सोमबार

आखिर कस्तो छ लिम्पियाधुरा ?

आखिर कस्तो छ लिम्पियाधुरा ?

काठमाडौं । लिम्पियाधुरा नटेकेपनि यो नाम धेरैका निम्ति परिचित छ । भारत–नेपालको सीमानाबारे जबजब चर्चा चल्छ, लिम्पियाधुराको प्रसंग आइहाल्छ । यो नाम सुनिरहँदा कतिपयलाई लाग्नसक्छ, आखिर कस्तो होला लिम्पियाधुरा ? पूर्वको कञ्चनजंगादेखि सुदूरपश्चिमलाई समेटेर साहसिक पदयात्राको रेखांकन गरिएको छ, जसको नाम हो, द ग्रेट हिमालयन टेल ।

यही टेलको अन्तिम विन्दु हो लिम्पियाधुरा । कर्णाली प्रदेशको हुम्लामा जन्मेका कारण सीमानाका विषयमा चासो थियो मलाई । त्यही चासोले डोर्होयाउँदै लिम्पियाधुरासम्म पुर्यायो । त्यसो त म आफै पर्यटन क्षेत्रम सम्बद्ध व्यक्ति । दुई दशकदेखि पर्यटन क्षेत्रमै क्रियाशील छु । आफ्नो पेशा व्यवसायसँग मिल्दो भएकाले पनि यात्रा गर्नु सहज र आनन्द लाग्छ मलाई । यात्रा कसरी गर्ने भन्ने कुराको आधारभूत ज्ञान भएकाले मलाई घर छाडेर यात्रामा निस्कन खास गाह्रो भएन ।

कर्णाली क्षेत्रबाट पहिलो पटक सगरमाथा आरोहण गरेको अनुभव छ र विश्वकै सबैभन्दा साहसिक पदमार्गको रुपमा रहेको ग्रेट हिमालयन टेल अर्थात पूर्वको कञ्चनजंगादेखि पश्चिमको दार्चुलासम्म पदयात्रापनि गरिसकेको अनुभव छ । त्यही अनुभवको कारण यसपाली लिम्पियाधुरासम्म यात्रा गर्ने जोश चल्यो । यात्रामा एक जना विदेशी पर्यटक साथी, एक जना सहयोगी र म लिम्पीयाधुरातर्फ लाग्यौं । हाम्रो यात्रा सुरुवात काठमाडौंदेखि सुरु भयो ।

पहिलो दिन काठमाडौंदेखि धनगढी । दोस्रो दिन धनगढीदेखि दार्चुला । तेस्रो दिन दार्चुलासम्म सवारी साधनमा यात्रा गरियो । दार्चुलाबाट भने पैदल हिँड्नुपर्ने । पैदल यात्राका पहिलो दिन हामी पाँच घण्टाको यात्रा पश्चात हुटी भन्ने स्थान पुग्यौं । दोस्रो दिन हुटीदेखि माल भन्ने स्थानमा पुग्न ६ घण्टा लाग्यो । तेस्रो दिन मालदेखि घाटीबगर । चौथो दिन दोपोके, पाँचौ दिन थाग्रो, छैठौ दिन तिनकार र सातौं दिन चौध घण्टा लगाएर लिम्पियाधुरा पुगियो ।

तर लिम्पियाधुराबाट फर्केर पुनः तिनकार आएर बास बस्यौ । अन्यत्र बास बस्ने स्थान नभएकाले हामी तिनकार आउनुपरेको हो । लिम्पियाधुरा पुग्दासम्म मनमा निकै कुरा खेल्यो । ठाउँ त काइदाको छ, रहरलाग्दो पनि छ । तर खानपान र बसोबासको समस्या छ । भारततर्फ सुविधा सम्पन्न रहेको छ तर हाम्रो नेपालतर्फ भने बत्ति र अन्य आधारभूत आवश्यक्ता समेत छैन । अझ भन्नुपर्दा वर्षका ५ महिना लगभग बस्ती नै खाली हुने गर्छ ।

यात्रा कष्टकर भएपनि नेपाली सीमानाको क्षेत्र पुग्दा लाग्यो, सगरमाथाको उचाईमा पुगौं । आफूलाई निकै गौरवको अनुभूति भयो । देशभर सिमानका मुद्धा चर्किएको कारण होला अन्य समय भन्दा विभिन्न स्थानमा सुरक्षा जाँच कडा गरिएको रहेछ । भारततर्फ भने विभिन्न स्थानमा सुरक्षा पोष्ट रहेछ भने नेपालतर्फ सुरक्षा पोष्ट भने लगभग शुन्यजस्तै भन्दा पनि फरक पर्दैन । प्रहरी चौकी छैनभन्दा पनि फरक छैन । लिम्पियाधुरा यात्राको आकर्षण भनेको अपीनाप्पा हिमाल, तिनकार हिमाल र ५ हजार २ सय मिटर उचाई रहेको लिपुलेक पास हो ।

 

#अनलाइनखबर