Loading... आजः मंगलवार, फागुन १३, २०७६/ Tuesday 25th February 2020 5:06 am

सभामुखमा अग्नीको उम्मेदवारी दर्ता, काँग्रेसले नदिने

काठमाडौं । प्रतिनिधिसभाको सभामुख पदमा नेकपा नेता अग्नि सापकोटाले उम्मेदवारी दर्ता गराएका छन् । नेकपाले सभामुखमा स्थायी समिति सदस्य अग्निप्रसाद सापकोटालाई उम्मेद्वार बनाउने निर्णय गरेसँगै आज उम्मेद्वारी दर्ता गरिएको हो ।

प्रतिनिधिसभाका जेष्ठ सदस्य महन्थ ठाकुरले सोमबार बैठकको अध्यक्षता गर्दै सभामुखको चुनाव १२ गते गर्ने गरी निर्वाचन कार्यतालिका सार्वजनिक गर्न निर्देशन दिएका थिए । सोही अनुसार संसद सचिवालयले सार्वजनिक गरेको निर्वाचन कार्यतालिका अनुसार आज बिहान ११ देखि दिउँसो २ बजेसम्म मनोनयन दर्ताको समय तोकिएको छ ।

संसद सचिवालयका महासचिव मनोहरप्रसाद भट्टराईका अनुसार सभामुखका लागि परेका उम्मेद्वारीको सूची आजै दिउँसो साढे दुई बजे सार्वजनिक गरिनेछ । यता प्रतिपक्षी नेपाली काँग्रेसले सभामुखमा उम्मेदवारी नदिने भएको छ । काँग्रेस संसदीय दलको आज बिहान बसेको संसदीय दलको बैठकले सभामुखमा उम्मेदवारी नदिने निर्णय गरेको प्रमुख सचेतक बालकृष्ण खाँडले जानकारी दिए ।

बैठकपछि जारी गरिएको विज्ञप्तिमा भनिएको छ, ‘सभामुख निर्वाचित गर्न यथेष्ठ मत रहेको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीले प्रतिनिधि सभाको सभामुख पदको आसन्न निर्वाचनमा आफ्नो उम्मेद्वार प्रस्तुत गरिसकेको तथा सभामुख पद आफैमा तटस्थ रहनुपर्ने पद भएको कुरालाई ध्यानमा राख्दै नेपाली कांग्रेस संसदीय दल आफ्नो तर्फबाट प्रतिनिधि सभाको सभामुख पदमा उम्मेदवारी नदिने निर्णय गर्दछ ।’

यस्तै उपभामुख पद भने आफूले पाउनुपर्ने माग राखेको छ । यद्यपि अहिले उपसभामुखको निर्वाचन कार्यतालिका सार्वजनिक नभएकाले काँग्रेसले यसबारे कुनै निर्णय भने गरिसकेको छैन । संघीय संसद सचिवालयले प्रतिनिधिसभा सभामुख पदको निर्वाचनका लागि निर्वाचन कार्यक्रम सार्वजनिक गरिसकेको छ । जसअनुसार सभामुख पदको निर्वाचन आगामी माघ १२ गते ३ बजेलाई निर्धारण गरिएको छ ।

तत्कालीन सभामुख कृष्णबहादुर महरामाथि जबरजस्ती करणी प्रयासको आरोप लागेपछि गएको असोज १४ गते पदबाट राजीनामा दिएका थिए । उनको राजीनामा पछि सभामुख पद रिक्त रहँदै आएको थियो । सोमबार उपसभामु शिवमाया तुम्बाहाम्फेले समेत पदबाट राजीनामा दिएपछि सभामुख चयनको प्रक्रिया सुरु भएको हो । सभामुखपछि उपसभामुख चयनको प्रक्रिया सुरु हुने जनाइएको छ ।