Loading... आजः ३ आश्विन २०७७, शनिबार

पश्चिमका थारु बस्तीमा माघीको रौनक, रमाइलोसँगै खुशीयाली बाँडिदै

पश्चिमका थारु बस्तीमा माघीको रौनक, रमाइलोसँगै खुशीयाली बाँडिदै

धनगढी । कैलाली, कञ्चनपुर, बाँके र बर्दियाका थारु बस्तीमा अहिले माघीको रौनक बढेको छ । गाउँ बस्ती आसपास नदीहरुमा सरसफाई गर्न युवाहरु परिचालित भइसकेका छन् । थारु समुदायले थारु संवत २६४२ को भव्य विदाई गर्ने र २६४३ को स्वागतका लागि गाउँटोललाई सजाएका छन् । मघौटा, धमार झुम्रा नाचमा रमाउन थारु समुदाय आतुर छन् ।

काम विशेषले बाहिर रहेका थारु समुदायका मानिस जन्मथलो पुग्न थालेका छन् । ‘जीता’ (बंगुर)को उचित व्यवस्था घरघरमा भइसकेको छ । बुबा आमाको मायाको प्रतिक निश्राउको मायाले विवाहीत चेली माइतीघर पुगिसकेका छन् । अन्य सुमुदायले माघीका रुपमा मनाउने माघे संक्रान्तिलाई थारु समुदायले नयाँ बर्षका रुपमा पनि मनाउने गर्दछन् ।

समुदायको मौलिक संस्कृति र भेषभुषको आफ्नै विशेषता छ । जसमा उनीहरु भरपुर आनन्द लिने गर्दछन् । पर्वको तयारीका लागि खाद्यान्नहरुको जोहो गर्ने, दुना टपरी गाँस्ने, जङ्गल गई दाउरा सङ्कलन गर्ने, तोरीको खाने तेल पेल्ने, घर लितपोत तथा आँगन सरसफाइ लगायतका कामहरु सकिएका छन् ।

‘अब त रमाइलो मात्रै हो,’ धनगढी उप–महानगरपालिका–१६ भादाका वडाध्यक्ष लक्ष्मी चौधरीले भने, ‘तयारी सवै सकिएको छ, नयाँ बर्ष र माघीमा रमाइलो गर्दै खुशीयाली बाँड्न शुरु भइसकेको छ ।’ माघीमा विशेष गरी बङ्गुरको मासु, माछा, घोंगी, गङ्गेटा लगायत खानाका परिकारहरु खाने चलन रहि आएको छ ।’

यो पर्वमा नयाँ वर्ष शुभारम्भ हुने भएकाले आफ्ना परिवारका लागि नयाँ–नयाँ लत्ताकपडाको पनि उचित जोहो हुने गरेको उनले बताए । माघीमा पाहुना धेरै जम्मा हुने भएकाले जाँड, रक्सी, ढिक्री, रोटी लगायत खानाका परिकार तयार गर्नमा समुदायकी युवती व्यवस्त हुने गर्दछन् । थारू समुदायको मुख्य पर्व भएकाले तामझामका साथ मनाउने तयारी भइरहेको कैलारी गाउँपालिका वडा नं. ५ का रमेश चौधरीले बताए ।

पुसको अन्तिम दिन अर्थात आजलाई थारु समुदायले पुरानो बर्षको अन्तिम दिनका रुपमा मनाउने गर्दछन् । पुरानो वर्षको विदाई स्वरुप पुषको अन्तिम दिन (जीता) बंगुर मार्ने प्रचलन रहेको थारु अगुवा माधब चौधरीले बताए । ‘जीता’ को प्रसादसँगै रातभर जाग्रम बस्दै मघौटा नाच प्रदर्शनी गरिन्छ । यो नाच दाङबाट कैलाली बसाई सरेका समुदायले नाच्ने गरेको उनले बताए ।

तर अन्यत्रबाट आएका थारु समुदायले भने धमार, झुमा नाच पनि नाच्ने गर्दछन् । ‘माघे सक्रान्तिका दिन विशेष गरी थारू समुदायमा बिहानै उठेर नजीकैको नदी, तलाउमा गई नुहाइ आफू भन्दा ठूलाबाट आशीर्वाद लिने चलन छ । चौधरीका अनुसार विशेष स्नान पछि विवाहीत छोरी चेलीलाई (निश्राउ) चामल, नून, तेल, बेसार लगायतका खाद्यान्नबाट तयार पारिएको परिकार दिने परम्परा छ । जसलाई थारु भाषामा ‘उपहार’ भनिन्छ ।

थारू समुदायमा यो पर्वमा विषेश गरी अण्डी चामलको भातरोटी, ढिक्री, बरिया, घोंगी, सुँगुरको मासु, माछा, गङ्गोटा लगायतका स्थानीय खानाका परिकारलाई महत्व दिने गर्दछन् । थारू समुदायका विभिन्न लोक संस्कृति झल्किने एकल तथा सामूहिक नाचगान गरी रमाइलो गर्ने गरिन्छ । यो प्रक्रिया माघ महिना भर चल्ने भए पनि पछिल्लो समय भने एक/दुई दिनमा सीमित हुन थालेको छ ।

कामको शिलशिलामा युवाहरुले गाउँ छोड्नु पर्ने बाध्यताका कारण यो पर्व दुईचार दिनमै सीमित हुने गरेको कैलारी गाउँपालिका–५ का चन्द्र बहादुर चौधरीले बताए । थारु समुदायमा माघी पर्व र नयाँ बर्षलाई मनाउने शैली फेरिन थालेको छ । माघी सुरु भएदेखि १०/१५ दिनसम्म घरघरमा गएर मघौटा, धमार, झुमा नाच प्रदशीनी गर्ने परम्परा भन्दा अहिले रमाइलो मेलाका माध्यमबाट स्टेज कार्यक्रम युवाको प्राथमिकतामा पर्ने गरेको छ ।

मघौटा, धमार, झुमा नाचलाई घरघरमा गएर प्रदर्शन गर्ने परम्परा भने बुढापाकामा मात्रै सीमित हुन थालेको छ । यस बर्ष पनि कैलालीका विभिन्न स्थानमा माघीलाई लक्षित गरी महोत्सव रमाइलो मेला आयोजना गरिएका छन् । जसमा युवाको आकर्षण समेत राम्रो देखिन्छ । नयाँ वर्ष र माघी पर्वलाई विशेष रुपमा मनाएको दोश्रो दिन अर्थात माघ २ गते गाउँगाउँमा माघी दिवानी (विशेष छलफल) गरिन्छ । त्यसदिन छलफलका माध्यमबाट थारु समुदायमा नयाँ नेतृत्व चयन गर्ने परम्परा छ ।

जसलाई भलमन्सा र गुरुवा भनिन्छ । उनीहरुले गाउँको रक्षा गर्ने, अपठ्याारो परिस्थितीमा उचित निर्णय दिने, न्याय दिने लगायतका कामहरु गर्दछन् । भल्मन्सालाई नेतृत्वका रुमा लिइन्छ भने गुरुवालाई पूजारीका रुपमा लिइन्छ । यती मात्र हैन, राजनीतिमा पनि उनीहरुको महत्वपूर्ण भूमीका हुन्छ । निर्वाचनका क्रममा थारु समुदायका भल्मन्सा र गुरुवाहरुले दिने निर्णय नै आधिकारिक हुने भएका कारण सवै दलले गुरुवा र भल्मन्सालाई विशेष रुपमा हेर्ने गरेका हुन्छन् ।

थारु कल्याणकारिणी सभा कैलालीका अध्यक्ष माधब चौधरीले युवाहरु व्यस्त हुँदा घरघरमा गएर नाचिने नाच ओझेलमा परेको बताए । ‘पहिले धेरै मानिस कृषिमा निर्भर हुने भएका कारण लामो समय सम्म घरघरमा गएर रमाइलो गर्न सम्भव थियो’ उनले भने, ‘तर अहिले त्यो सम्भव छैन, धेरै युवाहरु एकरदुई दिनका लागि मात्रै गाउँ फर्कने गर्दछन्, उनीहरुका लागि स्टेज नै रमाइलो गर्ने माध्यम बन्दछ ।’